Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्लाष्टिक: एक खतरनाक बोन्ड

0 313

दिपेस मूर्ति पन्त
०९ जेठ, काठमाडौं । प्लाष्टिक! अहिले विश्वस्तरमा हामीले सामना गरिरहेको सबै भन्दा घातक प्रदूषण यही हो त्यसमा कुनै अतिशयोक्ति रहेन। हाम्रो अभिन्न अङ्ग बनेर बसेको जो बिना हाम्रो काम नै नचल्ने गरी आवश्यक भनेको वस्तु बनिसकेको चिज हो प्लाष्टिक।

सगरमाथाको उचाइ देखि मरियाना ट्रेन्चको गहिराइमा पुगेको यो प्लाष्टिक अब प्राणीहरूको कोषमा समेत प्रवेश गरिसकेको छ। हामीले खाने वनस्पति, प्राणीहरू र पिउने पानीमा नदेखिने गरी मिसिएको यो प्लाष्टिक शायद हाम्रो कोषमा समेत प्रवेश गरेको हुनुपर्छ जसरी अन्य प्राणी र वनस्पतिको कोषमा छिर्यो।


गत १९५० सम्म २.३ मिलियन टन प्लाष्टिक को उत्पादन गरेका हामी २०१९ मा आइपुग्दा ३६८ मिलियन टन उत्पादन गर्ने भयौँ भने २०५० सम्म त हामी यसको दुई गुणा पुर्याउने प्रक्षेपण गरिएको छ। प्रत्येक वर्ष समुद्रमा मात्र ८ मिलियन टन प्लाष्टिक जान्छ भने प्लाष्टिकका बोन्ड टुक्रिन औषतमा ४०० वर्ष लाग्छ।

मानिसहरूले प्रत्येक वर्ष टन का टन पुनः प्रयोग हुन नसक्ने प्लाष्टिक फाल्छन्। हुन त मानिसले जति प्लाष्टिक प्रयोगमा ल्याउछ त्यसको ९१ प्रतिशत प्लाष्टिक पुनः प्रयोग गर्न मिल्दैन र मिल्ने पनि पुन: प्रयोगमा ल्याउने खर्च भन्दा सस्तो र सहज पर्ने नयाँ उत्पादनलाई प्राथमिकता दिइन्छ। कोकाकोला (Coca-Cola) नेश्ले (Nastle) जस्ता कम्पनीहरु यस विषयमा आलोचित छन्। उनीहरूले विज्ञापनमा Recycled Plastics को बारेमा उल्लेख गर्छन् तर व्यवहारमा लागू गर्दैनन।

२०१९ मा गरिएको सफाई अभियानको एक प्रतिवेदन हेर्ने हो भने कोकाकोला विश्व नम्बर एक प्लाष्टिक प्रदुषक भएको थियो। छ बटै महादेशका ५१ वटा देशहरूको समुन्द्री किनारमा गरिएको ८४८ वटा सफाई अभियानमा ७२५४१ जना स्वयंसेवकहरु खटिएका थिए। जसमा Coca-Cola सङ्ग समन्धित प्लाष्टिक फोहोर सबै भन्दा बढी थियो। त्यसपछि Nestle, PepsiCo लगायत छन्।

हाम्रो देशकै अवस्था हेर्ने हो भने पनि यही तस्वीर हामीले देख्न सक्छौँ। हाम्रा डम्पिङ साइटहरुमा तयारी वस्तुहरूलाई प्याकेजिङ्ग गरिएका प्लाष्टिक कै मात्रा अत्यधिक छ। यसमा पनि उद्योगीहरुको जवाफ Coca-Cola कै जस्तो हुन्छ। यही प्रश्नको जवाफ दिँदै कोकाकोला ले भनेको थियो, “समुन्द्र अथवा कुनै पनि ठाउँमा हामी सङ्ग समन्धित प्लाष्टिक भेटिन्छ भनेपनि हामी यसको जिम्मेवार त कसरी हुन सक्छौँ र? जबकि यो लापरवाहीको जिम्मेवार त अर्को पक्ष होइन र? बरु हामीले यो गम्भीर समस्यालाई पहिचान गरेर सफाई अभियान देखि यी वस्तु हरु समुन्द्र अथवा कुनै पनि स्थानमा नपुगोस् भनेर अनेकौँ उपायहरू अपनाएका छौँ।”

हुन त उद्योगको यो प्रतिरक्षा पनि नाजायज नै हो भन्न त सकिन्न।प्लास्टिकका फोहोरहरुको व्यवस्थापनको जिम्मेवार त अरु पक्ष पनि त छन्। प्लाष्टिक बाहेक अरूले प्याकेजिङ्ग गर्दा बढ्न जाने लागत खर्चले बजार मूल्यलाई पनि त असर त गर्छ नै। जिम्मेबारी एकले अर्कोको काँधमा थोपरेर चोखिन खोजे पनि प्लाष्टिक प्रदूषणको समस्या र यसको गम्भीर परिणाम त सबैले भोग्नु त पर्छ। दोष एक अर्कोलाई पन्छाएर यो विश्वव्यापी गम्भीर खतराबाट जोगिने त कोई पनि होइन।


खोला नाला पाखा पोखरी सडक खेत खलियान हिमाल पहाड आँगन कोठा चोटा कहाँ छैन प्लाष्टिक। संसार प्लाष्टिकमय छ। हामीले २०१९ मा आइपुग्दा ३६८ मिलियन टन प्लाष्टिक उत्पादन गरेछौँ। युरोप एक्लैले ५७.९ मिलियन टन प्लाष्टिक उत्पादन गर्यो भने चीनले एक्लैले विश्वको ३१ प्रतिशत प्लाष्टिक र प्लास्टिकजन्य पदार्थको उत्पादन गर्छ। प्लाष्टिकजन्य पदार्थको ९१ प्रतिशत पुन: प्रयोग अर्थात् रिसाइकल गरिँदैन भने पछि यी कहाँ जान्छन् त? यहीँ जमीन पानी हावामा ती प्लाष्टिक विभिन्न स्वरूप र आकारमा थुप्रीदै जान्छन्।

प्लाष्टिक प्रदूषणको कारण समुन्द्री देखि स्थल प्राणीहरूको मृत्यु प्लाष्टिकका फोहोरमा अल्झिएर, खान नपाएर, प्लाष्टिक खाँदा पचाउन नसकेर विषाक्तताको कारणले धेरै भएको छ भने अहिले विभिन्न अध्ययनहरूले प्लाष्टिक टुक्रिएर बनेका सुक्ष्म कणहरू झनै घातक हुने देखाउँछन्।

प्लाष्टिक जब १ इन्चको पाँचौं भागमा टुक्रिन्छ त्यसलाई microplastics (सुक्ष्म कण प्लाष्टिक) अझ त्यो भन्दा पनि सुक्ष्म कणमा प्लाष्टिक टुक्रिन्छ तिनीहरूलाई nanopalstics (अति सुक्ष्म कण) भनिन्छ। यसरी अति सुक्ष्म कणमा प्लाष्टिक टुक्रने कारण जैविक अजैविक दुवै हुनसक्छन्। ठूला आकारका प्लाष्टिक भन्दा यस्ता सुक्ष्म कणहरू झन् घातक हुन्छन्। यी टुक्रिएर नदेखिने हुनुको साथै एक ठाउँबाट अर्को ठाउँमा सहज तरिकाले पुग्छन् र विभिन्न सुक्ष्म स्तरमा अन्तरकृया गर्न सक्षम हुन्छन्।

वैज्ञानिकहरूले प्लाष्टिकका सुक्ष्म कणहरु साना साना crustaceans (Crabs, Lobsters, Shrimp, Crayfish, Prawns इत्यादि) देखि ठूला ठूला व्हेल माछाहरूका मांशपेशीमा फेला पारेका छन्। साना जिवमा थोरै भेटिएला तर ठूला जीवले साना जीवलाई उपभोग गर्दा ठूलै मात्रामा प्लाष्टिक पनि उपभोग गर्छन्।

जर्मनीको University of Bayreuth का अनुसन्धानकर्ताहरुको एक रिपोर्ट अनुसार प्लाष्टिकका अति सुक्ष्म कणहरू जीवित प्राणीहरूद्वारा उत्सर्जित कोषिय कणहरू (Biomolecules) को आवरणमा भेटिएका छन्। Science Advance नामक जर्नलमा प्रकाशित सो अध्ययनका अनुसार प्लाष्टिकका सुक्ष्म कणहरू २ देखि ४ हप्ता समुन्द्रको पानी या अन्य ताजा पानीमा रहे पछि प्राणीको कोषमा प्रवेश गर्नको लागि तयार हुन्छन्। त्यसैले जति लामो समयसम्म ती पानीमा रहन्छन् त्यति नै जैविक कोषमा प्रवेशकोलागी यिनीहरू उपयुक्त हुँदै जान्छन्।

यसको लागि अध्ययनकर्ता वैज्ञानिकहरूले दुवै खाले पानी ताजा र समुन्द्रको नुनिलो पानीका कृतिम पोखरी बनाएर परीक्षण गरेका थिए। उनीहरूले ३ माइक्रो मिटरका प्लाष्टिकका सुक्ष्म कणहरूलाइ केही घण्टा देखि ४ हप्ता सम्म ती पानीका पोखरीमा राखेका थिए। २ हप्तामा नै दुवै खाले पानीमा यसको प्रभाव देखिएको थियो। ताजा पानीको सतहको रङ्गनै परिवर्तित थियो भने नुनिलो पानीमा नुनहरु सतहमा जम्मा भएका थिए।

यसको अर्थ के हो भने ती प्लाष्टिकका सुक्ष्म कणहरू जैविक कणहरुको आवरणमा लुक्छन्। जब प्लाष्टिकका सुक्ष्म कणहरुले जैविक कणहरुलाइ अवशोषित गर्छन् उनीहरू जीवित कोषहरूमा प्रवेशको लागि उत्प्रेरकको कार्य गर्छन्। जति धेरै समय ती पानीमा रहन्छन् त्यति नै जैविक कणहरू अवशोषित हुन्छ त्यतिनै ती प्लाष्टिक सुक्ष्म कणहरू जीवित वस्तुको कोषमा प्रवेशको लागि योग्य हुँदै जान्छन्।

त्यसैले करोडौँ टन वर्षेनी हामीले खोला नाला देखि समुद्र प्लाष्टिकले भरेका छौँ। ती टुक्रिएर सुक्ष्म कणहरूको रुपमा पानीमा मिसिएर बसेका छन्। तिनले जलचरका शरीरका कोषहरूमा प्रवेश गर्ने त सामान्य नै भइहाल्यो। हामीले पानी र ती जलचरहरुको उपभोगको क्रममा हाम्रो शरीरका कोषले पनि प्लाष्टिक कणहरू लिएका छन्। त्यसको प्रभाव हामीले सोचे भन्दा धेरै गम्भीर छ।

इङ्गल्याण्डको University of Plymouth को अर्को अध्ययनले के देखाएको छ भने प्लाष्टिकका सुक्ष्म कणहरू जब समुन्द्री जीवको कोषमा प्रवेश गरे त्यसले तिनीहरूको DNA 🧬 को क्रमलाई तोडिदिएको छ। यसको फलस्वरूप ती प्राणीहरूको Gills, पाचन नलीहरू (Digestive tubes) हरु विकृत (Deformity) भएको अनुमान गरिएको छ। समुन्द्री सुक्ष्म जीवहरूको अवशोषण गरेको प्लाष्टिकका सुक्ष्म कणहरू खाद्य श्रृङ्खलाको तहमा रहेका सबै प्राणीहरू सम्म पुग्छन्। यसरी ती प्लाष्टिकका कणहरू हामी भित्र पिउने पानी देखि खाने खानाको स्वरूपमा सहज नै प्रवेश गर्ने भइहाले।

प्लास्टिकबाट समुन्द्र मात्र होइन हाम्रा नदी नाला पनि उत्तिकै प्रदूषित छन् भने हाम्रो जमीनमा पनि उत्तिकै थुप्रिएका छन्। अब प्लाष्टिकका सुक्ष्म कणहरूले जमीनमा भएका सुक्ष्म जीवहरू पनि बच्ने कुरा नरहने भयो। यी कणहरू ती जमीनी सुक्ष्म जीवको कोषमा पनि प्रवेश गर्ने भइहाले। चीनको Chongqing University का र फ्रान्सको National Research Institute for Agriculture, Food and Environment, INRAE का २ अनुसन्धानकर्ताहरुले २०२० मा एक अध्ययन गरेका थिए। जसमा उनीहरूले मानवबस्तीबाट टाढाको माटोमा एउटामा प्लाष्टिकका सुक्ष्म कणहरू मिसाइयो भने अर्कोमा यत्तिकै राखियो। पछि दुवै माटोमा रहेका सुक्ष्म जीवाणु देखि केही ठूला जीवहरूको तुलनात्मक अध्ययन गर्दा प्लाष्टिक मिसाइएको माटोमा रहेका केही जिवाणुहरुको इन्जाइम उत्पादन क्षमता उल्लेख्य मात्रामा वृद्धि भएको पाइयो।

यसको मतलब के हुन्छ भने माटोमा प्लाष्टिक कणहरुको उपस्थितिले पोषण प्रदान गर्ने क्षमता अर्थात् माटोको रासायनिक पदार्थहरुमा उल्लेख्य परिवर्तन भएको हुनु पर्छ। यसको असर अलि ठूला जीवहरू जस्तै धमिरा, कमिलाहरुलाई परेको हुनुपर्छ विशेषगरी ती जिवाणुहरु जसले जैविक पदार्थ कुहाउने कार्य गर्दछन्। किनकि त्यस्ता जीवहरूको जनसङ्ख्या उल्लेख्य रुपमा घटेको पाइएको छ। यसले माटोको उर्वराशक्ति मा झनै गम्भीर असर गर्छ। किनकि माटोको उर्वराशक्ति यस्तै सुक्ष्म जिवाणुहरुको क्रियाकलापमा भर पर्छ। यसले कृषि क्षेत्रको उत्पादकत्व र जैविक विविधतामा घातक असर पर्छ।

प्लाष्टिक को समस्या अब धेरै सुक्ष्म स्तरमा पुगिसकेको छ। यसबाट ठूला जीव देखि सुक्ष्म जीबहरुसम्म यसको विषाक्तता फैलिसकेको छ। प्लाष्टिक उत्पादन गर्दा निस्कने प्रदूषणको हिसाब किताब त अझै अर्कै छ। अमेरिकी सर्वेक्षण अनुसार १ केजी प्लाष्टिक उत्पादन गर्न झण्डै ६२ देखि १०८ mega joules शक्ति खर्च हुन्छ। एकातर्फ आवश्यक शक्ति उत्पादन र खर्च हुँदाको प्रदूषणको हिसाब त अर्को छ।

कार्बन अणुहरुको शक्तिशाली बोन्ड यो प्लाष्टिकको मनुष्य सङ्गको बोन्ड पनि त्यस्तै बलियो नै छ। हामीले प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न सक्छौँ तर कमाउने लालच र सहजताको लोभले हामीले गर्न सक्ने पनि गरिरहेका छैनौँ। जसको लागि अहिलेका मानिसले कमाए भोलि यो प्लाष्टिकले ध्वस्त पारेको वातावरणमा कसरी बच्लान? के उनीहरूले हामीलाई सम्झेर गर्व गर्लान् त? प्रश्न अनुत्तरित नै छ। हामीले यी प्रश्न सङ्ग मुख लुकाएर बस्दैमा समस्या समाधान हुने त पक्कै छैन।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.