मसानमा उभिएको नरपिशाच
दिपेस मूर्ती पन्त
०९ जेठ, काठमाडौं ।
जब सन्तानको मृत शरीर
काँधमा बोकेर
दुर्दान्त पीडा र भोकले
रन्थनिएको
एउटा वृद्ध पिता
मसानको ढोकामा
आएर खुईय्य
गर्छ, अनि थकित
आँखाले आँशु झार्न
असमर्थ देख्छ
अनि मुसुक्क
मुस्काउँछ त्यो
मसानमा उभिएको नरपिशाच
अनुपम आत्मसन्तोषका साथ।
कयौँ दुरीसम्मको मसिनो
सुक्सुकाहट सुन्न सक्ने
हात्तीका जस्तै उसका कानहरुले
दुर्दान्त कष्टले काखमा
देहत्याग गरेका
सन्तानको पीडाले
छट्पटिएकी
एउटी आमाको
मुक रोदन सुन्छ
अनि! योगीको जस्तै
परम सन्तोषको दीर्घ
नी:श्वास छोड्छ
मसानमा उभिएको नरपिशाच
अनुपम आत्मसन्तोषका साथ
जलिरहेका शवहरुको सुगन्धमा
चिताहरुमा उफ्रिरहेका आगोका ज्वालाहरुले
कलिला नानीहरूको कोमल शरीरको
मीठा मीठा पकवान बनाएर हरदिन
प्रेतहरुसँग पैशाचिक भोज गर्छ उ
आहा! ती आर्तनाद र मुक रोदन
अनि उसको चरम आत्मसन्तुष्टिमा
गुञ्जिएको उसको अट्टाहासको मिश्रण
साँच्चै! अनुपम सुनिन्छ, मसानमा
हो! मात्र मसानमा
अनि पुलकित हुन्छ सानु बालकजस्तै
मसानमा उभिएको नरपिशाच
अनुपम आत्मसन्तोषका साथ
त्यो गाउँको पुछारको
त्यो सानो मसान
जति गुञ्जिन्छन् आर्तनाद गाउँमा
त्यति समृद्धि बर्सिन्छ त्यो मसानमा
जति भोक, रोग र शोकले शरिरहरु ढल्छन्
उति खुशी, आनन्द र विकास हुन्छ मसानमा
लासहरूको भीड बढेको छ
मसान साँघुरो भएको छ
बढाउनु छ मसानको दायरा गाउँसम्मै
ताकि मसानको खुशी, आनन्द र समृद्धि
फैलियोस्, अनि देखुन्
अरु मसानहरुले पनि
सुनुन् कस्को मसानमा छ चर्को
आर्तनाद अनि अट्टाहास
कस्कोमा छ उज्वल चिताको ज्वाला
अनि जलेका लासको सुगन्ध
मसानमा उभिएको नरपिशाच
अब चाहन्छ प्रतिस्पर्धा
ठूलो अनि पुरानो
महामसानहरु सङ्ग
मुसुक्क मुस्कुराउँदै
मसानमा उभिएको त्यो नरपिशाच
अनुपम आत्मसन्तोषका साथ