Advertisement

बिहीबारसम्म आउँला त राजीनामा ? मौनतामा अल्झिएको राजनीति

0 392

Advertisement

२९ बैशाख, काठमाडौं । वैकल्पिक सरकार गठनमा संसद्को अंकगणित अनुकुल बनाउन सहयोग गर्न राजीनामा दिन तयार भएका एमालेको माधव नेपाल समूहको मौनताले राजनीति अड्किएको छ। सोमबार संसद्को बैठकमा अनुपस्थित भएर आफ्नै दलको प्रधानमन्‍त्रीलाई मत नदिएका नेपाल समूहका सांसदहरूको आगामी भूमिका र रणनीति के हुन्छ, सिंगो मुलुकले यतिबेला त्यही प्रतिक्षा गरिरहेको छ।

त्रिशंकु संसद्को अंकगणितको महत्वपूर्ण खेलाडी जनता समाजवादी पार्टी विभाजित भएकोले अब निर्णायक भूमिकामा माधव समूह देखिन्छ। यो समूहको निर्णयले राजनीतिको आगामी कोर्स निर्धारण गर्नेछ। यो समूहले राजीनामा दिएर सहयोग गरेमा विपक्षी गठबन्धनलाई वैकल्पिक सरकार बनाउन सहज हुनेछ।

नेपाल समूह ओलीसँग मिलेर जाने अवस्था भएमा फेरि ओली बहुमतकै प्रधानमन्‍त्री बन्‍ने अवस्था छ। यो समूह राजीनामा नदिएर मौन मात्रै बसे पनि ओलीलाई नै सजिलो हुनेछ। ओली ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बन्‍नेछन् र फेरि संसद् विघटन गरेर चुनाव जान बाटो खुल्ला हुनेछ।

विश्वासको मत पाउन नसकेपछि संविधानको धारा ७६ (३ ) अनुसार आफ्नै नेतृत्वमा अल्पमतको सरकार बन्ने र त्यसपछिको ‘राजनीतिक भ्याकुम’लाई उपयोग गर्दै प्रतिनिधिसभा विघटन गर्ने रणनीतिमा ओली थिए। तर राष्ट्रपतिले धारा ७६ (२ ) अनुसार नै बहुमतीय सरकार बनाउनका लागि दलहरूलाई आव्‍हान गरेपछि ओलीले सोचेको ‘एक्सप्रेस बाटो’ रोकिएको छ।

सोमबार संसद्‌मा विश्‍वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बिहीबार राति ९ बजेसम्म नयाँ सकारका लागि दाबी पेस गर्न आव्हान गरेकी छिन्। विपक्षीहरू ओलीलाई विस्थापन गरेर वैकल्पिक सरका बनाउने रणनीतिमा जुटेका छन् भने ओली वैकल्पिक सरकार बन्‍ने संभावनालाई कुनै पनि हालतमा रोकेर आफै फेरि प्रधानमन्‍त्री बन्‍ने योजनामा छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

कांग्रेस र माओवादीको गठबन्धनमा सिंगो जसपाले सघाउने अवस्था नभएपछि माधव समूहले राजीनामा दिए मात्र वैकल्पिक सरकार बन्‍ने संभावना छ। २० जनाले राजीनामा दिएर संसद्को संख्या घटेर २५१ हुनेछ। त्यो अवस्थामा नयाँ सरकारका लागि १२६ संख्या भए बहुमत पुग्‍नेछ। कांग्रेस(६१) , माओवादी(४८ ) , जसपाको उपेन्द्र पक्ष (१७) , एक सिटको जनर्मार्चा मिलेर १२७ संख्या पुग्‍नेछ।

जसपामा अहिले आधा महन्थ र आधा उपेन्द्रतिर छन्। सरकार बन्‍ने निश्‍चित भएमा तीन चार जना उपेन्द्रतिर लाग्‍ने संभावना छ। तर माधव पक्षले राजीनामा नदिएमा विपक्षी गठबन्धनको सरकार बन्‍न सक्दैन। त्यसपछि ओलीका लागि सहज बाटो हुनेछ। माधव पक्ष मिलेर सघाउने अवस्था बने एमालेको १२१, महन्थ पक्ष र एक एकसिटका नेमकिपा र राप्रपासमेतको मतले ओली फेरि बहुमतको प्रधानमन्‍त्री बन्‍नेछन्। उनीहरू मौन बसे भने पनि ओलीलाई ठूलो दल नेताको हैसियतले धारा ७६ (३ ) अनुसार प्रधानमन्‍त्री बन्‍न सजिलो हुनेछ।

ओलीसँगै मिलेर अघि बढ्न नसक्ने निश्कर्ष निकालेको यो समूहले अलग हुने औपचारिक निर्णय भने बुधबार बिहानसम्म गर्नसकेको छैन। सोमबार अपरान्ह र मंगलबार दिनभर आन्तरिक छलफलमा जुटेको यो समूह आफ्नो राजनीतिक भविष्य के हुने भन्‍ने बारेमा बढी चिन्तित देखिएको छ। ओलीसँग आत्मसमर्पण नगर्ने निश्कर्षमा यो समूह पुगिसकेको छ। नेपाल समूहका नेता घनश्याम भुसाले बुधबार सामाजि संजालमा भनेका छन्, ‘आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

स्रोतका अनुसार अब माधव पक्ष ओलीसँग मिलेर जाने संभावना छैन।ह्‍वीप उलंघन गर्दा पनि ओलीले कुनै कारबाही नगर्नुलाई उनीहरूले सामान्य रुपमा लिएका छन्। किनभने कारबाही गरेर निकाल्दा ओलीलाई नै अप्ठ्यारो पर्छ र संसद्को संख्या घट्ने भएकोले वैकल्पिक सरकार बनाउन सहज हुन्छ। वैकल्पिक सरकारको संभावनालाई रोक्नका लागि ओलीले ह्‍वी उलंघन गर्ने सांसदहरूउपर कारबाही नगरीकन चुपचाप बस्‍न वाध्य छन्।

विपक्षी गठबन्धनमा लाग्दा हुने राजनीतिक लाभ र भूमिकाबारे अहिले नेपाल समूहमा छलफल भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राजीनामा दिने सांसदहरूको राजनीतिक भविष्य र तत्काल उपनिर्वाचन गराएर जीत सुनिश्चित हुने विषय,सत्ताको सम्मानजनक साझेदारीदेखि चुनावसम्मको सहकार्यका बारेमा छलफल भइरहेको छ। यसबारेमा टुंगो लाग्‍नसाथ राजीनामा आउने बताइएको छ।

नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १
२. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई, ताप्लेजुङ
४. जयकुमार राई,सुनसरी १
५. भवानी खापुङ,तेह्रथुम
६. यज्ञराज सुनुवार, ओखलढुंगा
७. गणेश पहाडी, सिन्धुली १
८. पवित्रा निरौला खरेल, झापा २
९. जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०.नारायण खतिवडा, नुवाकोट १
११. विरोध खतिवडा,मकवानपुर २
१२. सुरेन्द्र पाण्डे,चितवन १
१३. घनश्याम भुसाल,रुपन्देही ३
१४. गोकर्ण विष्ट,गुल्मी १
१५. मेटमणी चौधरी,दाङ १
१६. झपट रावल, कैलाली २
१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८. भीम रावल, अछाम १
१९. कृष्णलाल महर्जन, ललितपुर २
२०. सोमप्रसाद पाण्डे, पाल्पा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.