उपत्यकामा बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा विवाह गर्न नपाइने
२८ बैशाख, काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यक उपभोग्य वस्तुका पसल १० बजेसम्म खोल्न पाउने निर्णय गरेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
‘अत्यावश्यक खाद्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाउने गरी निर्णय भएको छ’, भट्टराईले भने, ‘पसलमा भौतिक दूरी कायम गरेर मात्र किनमेल गर्न अनुरोध छ।’
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बियो
यसअघि उपत्यकाका तीन सीडीओको बैठकले बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञा गरेको थियो। निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको बैठकले विवाहमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्थासमेत गरेको छ। अब पार्टी प्यालेसमा विवाह गर्न नपाइने भएको छ ।
‘अब पार्टी प्यालेसमा विवाह गर्न पाइने छैन’, उनले भने, ‘यसअघि १५ जना उपस्थित हुन पाइने व्यवस्था गरिएको थियो भने अब घटाएर १० जना सीमित गरिएको छ। ’