शिखर धवनको अर्धशतकको सहयोगमा पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा
२० बैशाख, एजेन्सी । ओपनर शिखर धवनको अर्धशतकको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
दिल्लीका ओपनर शिखर धवन ४७ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा अविजित रहे । दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले ६.१ ओभरमा ६३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर हरप्रीत ब्रारले आफ्नो स्पेलको पहिलो बलमै शालाई ३९ रनमा बोल्ड गर्दै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए ।
शाले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि स्टिभ स्मिथ र धवनले ४१ बलमा ४८ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर राइली मेरिडीथले १३ औं ओभरको अन्तिम बलमा स्मिथलाई डेविड मलानबाट डीप स्क्वायरमा २५ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता दिलाएका थिए । स्मिथले २२ बलमा १ चौका प्रहार गरे ।
कप्तान ऋषभ पन्त ११ बलमा १ चौका र १ छक्का सहित १४ रनमा क्याच आउट भए । शिम्रन हेटमायर ४ बलमा १ चौका र २ छक्का सहित १६ रनमा अविजित रहे । पन्जाबका हरप्रीत ब्रार, क्रिस जोर्डन र राइली मेरिडीथले १-१ विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । पन्जाबका कप्तान मयंक अग्रवालले ५८ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ९९ रनमा अविजित रहे । अग्रवालले आवेश खानलाई अन्तिम ओभरको चौथो चौका, पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरेपनि शतक बनाउन १ रनले चुकेका थिए ।
नियमित कप्तान लोकेश राहुललाई एपेन्डिसाइटिसको कारण अस्पतालमा हुँदा अग्रवालले नेतृत्व गरि रहेका छन् । ओपनर तथा विकेटकिपर प्रभसिम्रनसिंहलाई कागिसो रबाडाले चौथो ओभरको चौथो बलमा स्टिभ स्मिथबाट १२ रनमा क्याच आउट गराउँदै दिल्लीलाई पहिलो सफलता दिलाए ।
रबाडालेनै छैटौं ओभरको दोस्रो बलमा क्रिस गेललाई १३ रनमा बोल्ड आउट गरेका थिए । गेलले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।तेस्रो विकेटका लागि डेब्यू गरेका डेविड मलान र अग्रवालले ४७ बलमा ५२ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको पहिलो बलमा अक्षर पटेलले मलानलाई २६ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए ।
मलानले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक बलपछि दीपक हुडा १ रनमा रन आउट भए । तालमेल नमिल्दा अग्रवाल र दीपक एकैतर्फ भाग्दा रन आउट हुन पुगेका थिए । शाहरुख खान ४ रनमा क्याच आउट भए ।
हरप्रीत बार ४ रनमा अविजित रहे । दिल्लीका कागिसो रबाडाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र आवेश खानको नाममा १–१ विकेट रह्यो ।
अंक तालिका
दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ७ खेलमा ५ जित र २ मा हार सहित १० अंक सहित स्थानमा झरेको छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।
मुम्बई इन्डियन्स ७ खेलमा ३ मा हार र ४ मा जित सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ ।
कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । दिल्लीले शनिवार कोलकातासँग खेल्ने छ । पन्जाबले विहिबार बेंगलोरसँग खेल्ने छ ।