Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आइतबारदेखि उपत्यकामा निषेधाज्ञामा थप कडाई गरिने

0 111

१८ बैशाख, काठमाडाैँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

उनले भने, ‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ । भोलिदेखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ ।’

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने पनि उनले बताए ।

शनिवार काठमाडौंको सडकको अवस्था र अस्पतालहरूको अवलोकन गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयरसहित सुरक्षाकर्मीको टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ ।

काठमाडौंको वीर अस्पतालको ५ सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको छ । सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले जानकारी दिए । यस्तै काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको उनले बताए ।

अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले बताए ।

सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ ।

वीर अस्पतालमा भवन बनेको र भौतिक पूर्वाधार पनि रहेकोले त्यसलाई पनि नयाँ कोभिड वार्ड बनाउनेबारे छलफल भएको उनले बताए । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काठमाडौं महानगरपालिकाले कोभिड वार्ड तयार गर्ने तयारी थालिएको हो ।

क्षेत्रपाटीमा बन्द अवस्थामा रहेको गोर्खा अस्पताललाई पनि महानगरपालिकाको संयोजकत्वमा कोभिड उपचारका लागि सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खाली रहेका अस्पतालाई कोभिड अस्पताल बनाउने प्रक्रिया अघि बढाइरहेका छौँ । बिल्डिङ बनाउनुपरेन, बेड थपेमात्र पुग्ने भएकोले सहजपनि हुन्छ ।’

उपत्यकामा कहाँ कहाँ खाली अस्पताल छ खोजेर त्यसलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कोभिड उपचार बेड बिस्तार गर्दै लैजाने उनले बताए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.