Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हनुमान जयन्तीकाे कस्ताे छ त धार्मिक महत्व !

0 299

१३ बैशाख, काठमाडाै । मिति २०७८ साल वैशाख १४ गते मंगलबार चैत्रशुक्ल पुर्णिामा तिथी प्रात : ९ / ५७ बजेसम्म त्यसपछि वैशाखकृष्ण प्रतिपदा आरम्भ भएकोले यो दिन हनुमान जयन्ती हो र हनुमान जयन्तीको उपलक्ष्यमा हनुमानको महत्व यस प्रकार रहेको छ !
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ। हनुको अर्थ चिउँडो हो जो हन् धातुबाट बनेको छ।

‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ। अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ। हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ। त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ। भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदियो। भय मनुष्यको मूलभूत प्रवृत्ति हो। दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो। यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो। गज -हात्ती) लाई शुभ मानिन्थ्यो। तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महत्व वृद्धि भयो।

‘मंगलमूरत’को रूपमा अथवा शङ्कट मोचकको रूपमा पुजन गर्न थालियो। त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भयो।

हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनी रामका परमभक्त हुन्। शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ। रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए।­­ यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो।

कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन। परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ।

पवन तनय ब्ल पवन समाना
बुद्धि विवेक विज्ञान निधाना |
कवन् सो काज कठिन जग माही
जो नहि होय तात तुम्ह पाहीं ||

हनुमान जयन्तीको तिथि कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ।चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आँफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ।शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव।

हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र – भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छ। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सित युद्ध।

उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।पाँचमुखी हनुमान अन्त्यन्त तेजस्वी पराक्रमी, पञ्चतìव र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै कार्य पूर्ण हुन्छन्।पूर्वतर्फको बानर रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका कोमल देखिने भएका रामचन्द्रको भक्त समान हुन्छ।दक्षिणतर्फको नृसिंह रूप भएका हनुमान- अद्भूत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने यस्तो दक्षिणवक्त्रको स्वरूप हुन्छ।पश्चिमतर्फको गरुँड रूप भएको हनुमान- बाङ्गो चुच्चो भएको सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरू रूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने भएका यस्तो पश्चिमवक्त्रको स्वरूप हुन्छ।

उत्तरतर्फको सुंगुर रूप भएका हनुमान- चम्किलो कालो स्वरूप भएका भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ भएका, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएको यस्तो उत्तरवक्त्रको स्वरूप छ।उध्र्वतर्फको- घोडाको रूप भएको हनुमान उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने, उध्र्ववक्त्र हनुमानको स्वरूप हुन्छ।वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ। उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूले विश्वास गर्ने गर्दछन्।

वर्तमान समयमा मानिसहरू उनलाई सङ्कटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन्। हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन्।विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ।यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन्। हनुमानलाई भक्तियोगको लागि महत्त्वपूर्ण मानिन्छ।उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए।वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ।आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए। साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ।

हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ।रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो।त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे।

हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइ दिनुभयो।त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महत्व अझै बढेको प्रस्ट हुन्छ ।

पं-बालमुकुन्द देबकाेटा


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.