Advertisement

राजधानीका विद्यालयहरू धमाधम बन्द हुँदै, अलमलमा ललितपुर महानगरपालिका

0 498

Advertisement

०६ बैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि राजधानीका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन्।

प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय हिजोदेखि बन्द भएको छ। विद्यालयका सहायक प्रधानाध्यापक नारायणप्रसाद गौतमका अनुसार केही विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।

‘केही विद्यार्थीमा कोरोना देखिएको सूचना आयो,’ गौतमले भने, ‘हिजै महानगरपालिकाले पनि कोरोना देखिएको विद्यालय बन्द गर्दा हुने व्यहोराको सूचना पठाएपछि विद्यालय बन्द गरेका हौँ।’

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको बृहस्पति विद्यासदन माध्यमिक विद्यालय पनि आजैबाट अनलाइन कक्षा सञ्चालन हुने गरी भौतिक कक्षा एक महिनाको लागि बन्द गरिएको छ। प्रधानाध्यापक कुमार थापाका अनुसार एक महिनापछि कोरोनाको अवस्था हेरेर मात्रै भौतिक कक्षा सञ्चालनमा के हुने भन्न सकिने बताए। ‘आजबाट हामीले सबै कक्षाको अनलाइन कक्षा गरेका छौँ,’ थापाले भने, ‘विज्ञहरुसँग सल्लाह गर्दा विद्यालय बन्द गर्नुपर्ने सुझाव आएकाले बन्द गरेका हाँै।’

वडा नम्बर १ मैं रहेको टंगाल माविले भने अझै पनि विद्यालय खुला राख्ने कि नराख्ने भन्ने निर्णय गर्न सकेको छैन। विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले भोलि मात्रै यसबारे निर्णय हुने बताए। ‘आजसम्म भौतिक कक्षा भइरहेका छन् भोलि सोमबार हाम्रो बैठक छ,’ अधिकारीले भने, ‘सो बैठकले अनलाइन कक्षा गर्ने निर्णय गर्छ।’

महानगरको निर्णय कुर्दै ललितपुरका विद्यालय

यता ललितपुर महानगरपालिकाले भने कुनै निर्णय गर्न सकेको छैन। महानगरले निर्णय गर्न नसक्दा केही विद्यालयले आफैं अनलाइन कक्षा सञ्चालन गरेका छन् भने केही महानगरपालिकाको निर्णय कुरिरहेका छन्।

सेन्ट जेभियर्स स्कुल भने अनलाइन कक्षा लिने टुंगोमा पुगिसकेको छ। सेन्ट जेभिर्यसका प्रशासक निरज थापाले कक्षा १ देखि ५ सम्म आजैबाट अनलाइन कक्षा भएको र अन्य कक्षाको भोलि निर्णय हुने जानकारी दिए। ‘तत्काललाई एक हप्ताको लागि भनेर अनलाइन कक्षा सञ्चालन गरेका छौँ,’ थापाले भने, ‘अवस्था हेरेर थपघट हुन्छ।’

यता लिटिल एन्जल्स स्कुलले पनि अनलाइन कक्षा सुचारु गरी भौतिक कक्षा बन्द गरिसकेको छ। लिटिल एन्जलका प्रशासक धिरेन क्षेत्री अभिभवाकसँगको सल्लाहमा भौतिक कक्षा बन्द गरेका बताउँछन्। ‘महानगरले कुनै निर्णय त दिएको छैन,’ क्षेत्रीले भने, ‘अभिभावकले भौतिक कक्षा सञ्चालन नगर्ने भन्ने सुझाव दिनुभएपछि विद्यालय बन्द गरेका हौँ।’

ललितपुर महानगरपालिकाले निर्णय नगर्दा यहाँका सरकारी विद्यालय भने अन्योलमा परेका छन्। ललितपुरस्थित ललित विकास आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसी नेउपाने महानगरको निर्णय कुरेको बताउँछन्। ‘महानगरले निर्णय नगर्दा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न बाध्य छाँै,’ नेउपानले भने, ‘यस्तो विषम परिस्थितिमा छिट्टै निर्णय गरिदिए हुन्थ्यो।´

ललितपुर महानगरपालिका अलमलमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि सरोकारवालासँग गरेको छलफलमा सरोकारवालाहरुले विद्यालय खोल्ने र बन्द गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताएका छन्।

प्याब्सन र एन प्याब्सनले संघीय सरकारले पोहोरको जस्तो गल्ती नगर्न समस्या देखिएको स्थानमा मात्रै बन्द गर्न माग गरेका थिए। त्यसैले पनि हुनसक्छ, स्वास्थ्य मन्त्रालायले विद्यालय बन्द गर्न अपिल गरे पनि विद्यालय बन्द भएका छैनन्।

शिक्षा मन्त्रालयले यसबारे कुनै निर्णय गरेको छैन। शिक्षा मन्त्रालय जस्तै ललितपुर महानगरपालिकाले पनि कुनै निर्णय गर्न सकेको छैन। सूचना अधिकारी रुद्रप्रसाद गौतम महाअनगरपालिकाले कुनै निर्णय नगरेको बताउँछन्। ‘विद्यालयबारे अहिलेसम्म कुनै निर्णय भएको छैन,’ उनले भने, ‘कुनै स्कुल बन्द भएका छन् भने ती आफैंले गरेका हुन्।’

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल भोलि मात्रै विद्यालयबारे निर्णय हुने बताउँछिन्। ‘विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले भोलि बैठक राखेका छौँ,’ उपमेयर सत्यालले भनिन्, ‘विद्यालय खुल्ने–नखुल्नेबारे भोलि हाम्रो बैठकले निर्णय गर्छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.