Advertisement

ब्राजिलमा किन कोरोनाले ससाना बालबालिकाको मृत्यु भइरहेको छ ?

0 561

Advertisement

०५ बैशाख, बीबीसी । महामारी सुरु भएको एक वर्ष बितिसक्दा पनि ब्राजिलमा अझैसम्म मृत्युदर उच्च बिन्दुमा छ । तर कोभिड–१९ ले बालबालिकामा दुर्लभै कुनै गम्भीर प्रभाव पार्छ भन्ने बढ्दो प्रमाणका बावजुद त्यहाँ कोरोना भाइरसबाट यो समाचार तयार पार्दासम्म १३ सय बढी बालबालिकाको मृत्यु भइसकेको छ ।

यस्तै घटनामा एक डाक्टरले जेसिका रिकार्तेका एक वर्षीया छोरालाई कोभिडजस्तो लक्षण नभएको भनि परीक्षण गर्न अस्वीकार गरेपछि त्यसको दुई महिनामा ती बालकको कोरोनासम्बन्धी जटिल समस्याले ज्यान गएको छ ।

शिक्षिकाका रुपमा कार्यरत् जेसिका रिकार्तेले दुईवर्षको संघर्षपछि छोरा लुकसलाई जन्म दिएकी थिइन् । उनी भन्छिन्, “ऊ हाम्रो जीवनमा प्रकाश समान आएको थियो । खुसी भनेको हामीले कल्पना गरेभन्दा धेरै पनि हुन सक्छ भन्ने उसले हामीलाई आभास गरायो ।”

तर सधैँ राम्ररी खाने लुकसले अचानक खाना खानै छाडेपछि उनलाई लुकस अस्वस्थ भएको शंका लाग्यो । पहिले त उनले दाँत पलाउन लागेकाले त्यस्तो भएको हो कि भन्ने सोचिन् । लुकसको हेरचाह गर्ने नर्सले उनको घाँटी दुखेर त्यस्तो भएको हुन सक्ने बताइन् । तर उसलाई ज्वरो आउने अधिक थकान हुने अनि साथै श्वास प्रश्वासमा पनि समस्या देखिएपछि भने जेसिकाले छोरालाई कोभिडका लागि परीक्षण गराउन अस्पताल लगिन् ।

जेसिका भन्छिन्, “यसपछि डाक्टरले उसलाई अक्सिमिटर लगाएर परीक्षण गर्नुभयो जसमा उसको ब्लड अक्सिजन स्तर ८६ प्रतिशत आयो । मलाई थाहा थियो त्यो सामान्य होइन । तर उसको ज्वरो त्यतिबेला केही हल्का भइसकेकाले डाक्टरले चिन्ता नलिनू, उसलाई कोभिड परीक्षण चाहिँदैन भन्नुभयो । घाँटी दुखेकाले खानामा समस्या भइरहेको उनको भनाइ थियो ।”

ती डाक्टरले जेसिकालाई कोभिड–१९ बच्चाहरुमा अत्यन्तै दुर्लभ भएको बताए र केही एन्टिबायोटिक्स दिइ उनीहरुलाई घर पठाए ।

त्यो समयमा लुकसलाई निजी परीक्षण गराउने विकल्प थिएन । जेसिकाका अनुसार दश दिनसम्म एन्टिबायोटिक्स खाँदा उसका केही लक्षण हराउँदै गयो । तर थकानबाट भने मुक्त भएको थिएन । त्यसैले पनि जेसिकालाई कोरोना भाइरस नै होला भनेर निरन्तर चिन्ता लागिरहेको थियो ।

उनी भन्छिन्, “मैले उसको नर्स, मेरा अभिभावक, सासू लगायत सबैलाई धेरैवटा भिडियो पठाएर सोधेँ । तर सबैले म अनावश्यक रुपमा सोचिरहेको बताए । अझ मलाई समाचार हेर्न नै बन्द गर्न सुझाव दिए । तर मलाई थाहा थियो मेरो छोरा सही अवस्थामा थिएन । उसले राम्ररी सास फेरेको थिएन ।”

यो २०२० मे महिनाको समय थियो जसबेला कोरोना प्रकोप उच्च दरमा बढिरहेको थियो । उनको सहरमा यसका कारण दुईजनाको मृत्यु भइसकेको थियो । उनी भन्छिन्, “हाम्रो सहरमा सबैले सबैलाई चिन्छन् । त्यसैले पूरै सहरलाई यो खबरले ठूलो झट्का लाग्यो ।”

यता जेसिकाका पतिलाई चाहिँ फेरि अर्को अस्पतालमा परीक्षण गर्न लगेमा उल्टै लुकस र जेसिका संक्रमित हुन सक्ने डर थियो । यसरी हप्ता दिन हप्ता बित्दै जाँदा लुकस जतिबेला पनि निद्रा लागेजस्तो मात्र देखिन थाल्यो । ३ जुनका दिन लिुकसले खाना साथै बान्ता गर्न थाल्यो जसपछि चाहिँ जेसिकालाई केही गर्नैपर्छ भन्ने आभास भयो । अनि उनीहरु फेरि स्थानीय डाक्टरकहाँ गए जहाँ कोभिड परीक्षणको नतिजा पोजेटिभ देखियो ।

जेसिकाका अनुसार अस्पतालमा त्यो समय बच्चाहरुका लागि राम्रो व्यवस्थापन र राख्ने ठाउँ केही पनि थिएन । त्यसैले लुकसलाई दुई घण्टाको दुरीमा रहेको सोब्रल भन्ने ठाउँको पेडिआट्रिक केयर युनिटमा ट्रान्सफर गरियो ।

त्यहाँ उसलाई ‘मल्टि–सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआइएस)’ भन्ने स्वास्थ्य समस्या रहेको बताइयो । यो भनेको भाइरसविरुद्ध प्रतिरोधात्मक प्रणालीको सबैभन्दा गम्भीर प्रतिक्रिया हो जसले मुख्य अङ्गहरुमा इन्फ्लामेसन या संक्रमण गराउँदछ ।

स्वास्थयविद्का अनुसार बालबालिकालाई कोरोना लागेको ६ हप्तापछि असर पार्ने यो सिन्ड्रोम दुर्लभ हुन्छ । तर ‘युनिभर्सिटी अफ साओ पाउलो’ को शीर्ष एपिडेमिओलोजिस्ट डाक्टर फतिमा मरिन्होले पछिल्लो समय एमआइएसका घटनाहरु धेरै देखा परिरहेको बताइन् । तर सबै मृत्युका लागि यही अवस्था जिम्मेवार चाहिँ नभएको उनी बताउँछिन् । लुकसलाई सास फेर्न मद्दत गर्न मुखमा ट्युब राख्दा जेसिकालाई त्यही कोठामा बस्न अनुमति दिइएको थिएन ।

उनले भावुक हुँदै भनिन्, “हामीले मसिनको आवाज लगातार सुनिरहेका थियौँ । तर अचानक मसिन बन्द भयो र लामो समय बिप मात्र बजिरह्यो । हामीलाई थाहा थियो, कसैको मृत्यु हुँदा मात्र त्यस्तो आवाज आउँथ्यो । तर केही मिनेटपछि फेरि मसिनले काम गर्न थाल्यो अनि मैले आँसु थाम्नै सकिनँ ।”

डाक्टरका अनुसार लुकसलाई हृदयघात भएको थियो तर चिकित्सकहरु मिलेर उसलाई बचाएका हुन् । सोब्रलस्थित आईसीयूमा एक महिनासम्म लुकसको उपचार गरेकी डाक्टर मानुएला मोन्टेका अनुसार लुकसमा कुनै पूर्वस्वास्थ्य समस्या थिएन तर पनि उसको अवस्था त्यस्तो गम्भीर हुनु भनेको ठूलो आश्चर्य थियो ।

कोभिडबाट गम्भीर बिरामी पर्ने प्रायः बालबालिकाहरुमा पहिले नै मधुमेह, ह्दय रोग या मोटोपना लगायतका समस्या हुने गर्दछ । तर लुकसको घटनामा यस्तो केही थिएन ।

३३ दिनसम्म आईसीयूमा राख्दा लुकसलाई जेसिकाले तीनपटक मात्र हेर्न पाएकी थिइन् । उपचारका क्रममा लुकसलाई ‘इम्युनोग्लोबुलिन’ पनि आवश्यक परेको थियो जुन अत्यन्तै महङ्गो औषधि हो । तर भाग्यवश एक बिरामीले आफ्ना लागि खरिद गरेको इम्युनोग्लोबुलिनको बाँकी रहेको डोज लुकसलाई दान दिए । त्यस समयमा उनको शरीरमा रातो फोका आइरहेको थियो र लगातार ज्वरो पनि आइरहेको थियो । सास फेर्न उसलाई विभिन्न सहायताको आवश्यकता पर्दथ्यो ।

तर बिस्तारै लुकसको अवस्थामा सुधार आए जस्तो देखियो र डाक्टरहरुले उसको अक्सिजन ट्युब निकाल्ने निर्णय गरे । बच्चाले एक्लो महसुस नगरोस् भनेर जेसिकासँग भिडियो कल पनि गराइदिए । जेसिका भन्छिन्, “हाम्रो आवाज सुन्नासाथै ऊ रुन थाल्यो ।”

त्यसबेला कसैले सोचेको पनि थिएन कि त्यो उनीहरुबीचको अन्तिम अन्तरक्रिया हुनेछ । अर्को भिडियोकलका बेलामा लुकस अचानक हलचल गर्न बन्द गर्यो र सिटीक्यान गरेर हेर्दा उसलाई स्ट्रोक भएको पत्ता लाग्यो । तर अझै पनि जेसिकालाई डाक्टरहरुले लुकस ठीक हुन सक्छन् भनेर विश्वास दिलाइएका थिए ।

जेसिका भन्छिन्, “त्यो रात मैले मेरो फोन साइलेन्टमा राखेको थिएँ । मैले सपनामा लुकस आएर मेरो नाकमा माया गरेको देखेँ । त्यसैले म ब्युँझिदा पनि खुसी भएर उठेँ । त्यही समय मेरो फोनमा डाक्टरको दशवटा मिसकल आएको रहेछ ।”

डाक्टरले जेसिकासँग लुकसको मुटुको गति र अक्सिजन स्तर अचानक घट्न पुग्दा उसको बिहानै मृत्यु भएको खबर दिए ।

यसरी आजसम्म पनि जेसिकालाई लुकसले समयमै कोभिड परीक्षण गराउन पाएको भए उसको ज्यान बचाउन सकिन्थ्यो भन्ने लाग्छ ।

उनी भन्छिन्, “डाक्टरहरुलाई कोभिड होइन जस्तो लागेपनि उनीहरुले सबै सम्भावनाबाट मुक्त हुन परीक्षण गर्नैपर्ने हुन्छ । बच्चाले उसलाई के महसुस भइरहेको छ भनेर भन्दैन ऊ पूर्णरुपमा हामीमै निर्भर हुन्छ । ”

जेसिकाका अनुसार आवश्यक उपचारमा ढिलाइ भएकै कारण लुकसको अवस्था गम्भीर बन्दै गयो जसबाट उसलाई बचाउन सकिन्थ्यो ।

लुकसको उपचार गर्ने डाक्टर मोन्टे पनि उनको कुरासँग सहमति जनाउँछिन् । त्यसैले पनि अहिले जेसिका लुकसको कथा मार्फत सबै अभिभावकहरुलाई सचेत गराउन चाहन्छिन् ।

डाक्टर फितामा भन्छिन्, “बालबालिकामा कोभिडको जोखिम शून्य हुन्छ भन्नु एकदमै ठूलो भ्रम हो ।”

ब्राजिलमा मात्र २०२० मार्चपछिदेखि कोभिड–१९ का कारण नौ वर्षसम्मका ८५२ बालबालिकाको मृत्यु भइसकेको छ । यसमा ५१८ त एक वर्ष मुनिका भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर डाक्टर मरिन्होको आकलनअनुसार कोभिडका कारण त्यो भन्दा दुई गुणा बढी बालबालिकाको मृत्यु भएको छ ।

कोरोना परीक्षणको अभावमा यस्ता धेरै घटनाबारे रिपोर्ट गर्न छुटेका हुनाले नै डाटा पेश गरिए भन्दा धेरै हुने उनी बताउँछिन् ।

डाक्टर मरिन्होले महामारीको अवधिभर अपरिचित स्वास्थ्य समस्याका कारण बच्चाहरुको मृत्यु भएको डाटा हेर्दा अघिल्लो वर्षको तुलनामा दश गुणा बढीको तथ्याङ्क पत्ता लगाएकी हुन् । यी सबै अंकहरु जोड्ने हो भने भाइरसले १,३०२ शिशुसहित २ हजार ६० बालबालिकाको ज्यान लिइसकेको उनले बताइन् ।

किन यस्तो भइरहेको छ ?

स्वास्थ्यविद्हरुका अन्सार ब्राजिलमा कोभिड संक्रमण दर अति उच्च (विश्वकै दोस्रो ठूलो संक्रममित बिरामी ) हुनुले पनि त्यहाँका बालबालिका र कम उमेरकाहरुलाई बढी प्रभावित गरिरहेको छ । ‘ब्राजिलियन सोसाइटी अफ पेडिआट्रिक्स’ को वैज्ञानिक खोप विभागका रेनाटो कफौरी भन्छन्, “अवश्य पनि जति धेरै संक्रमित भयो, त्यति नै धेरै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्नेछ र सबै उमेर समूहमा मृत्यु दर बढ्दा त्यसमा बालबालिका पनि समावेश हुनेछन् ।”

ब्राजिलमा देखिएको यति ठूलो संक्रमण दर अहिले पूरै देशको स्वास्थ्य सेवा प्रणालीमा हावी भइरहेको छ । देशव्यापी रुपमा अक्सिजन सप्लाइ धान्न कठिन भइरहेको छ भने साधारण औषधिहरुको समेत अभाव सुरु भइसकेको छ र आईसीयूमा कतै बेड उपलब्ध नभएको अवस्था छ ।

यति हुँदाहुँदै पनि राष्ट्रपति जैर बोल्सनेरो लकडाउनको विरुद्धमा छन् । उता उत्तरी ब्राजिलमा गत वर्ष फेला परेको नयाँ भेरिएन्ट ‘पी.१’ का कारण संक्रमण दर अति उच्च बिन्दुमा पुगिरहेको छ ।

सो भाइरस तुलनात्मक रुपमा बढी संक्रामक भएको बताइएको छ । जसकै कारण अघिल्लो महिना ब्राजिलमा महामारी अवधिभरिकै सबैभन्दा धेरै मृत्यु भएको हो र यो ट्रेन्ड बढेको बढ्यै छ । त्यस्तै सो वृद्धिको अर्को कारण बालबालिकामा पनि संक्रमण बढ्दै जानु हो । उनीहरुमा विशेषगरी परीक्षणको अभाव पनि समस्या बनिरहेको छ ।

मरिन्होका अनुसार बालबालिकालाई कोभिडको उपचार गर्न एकदम ढिला ल्याइने गरिएको छ । उनी भन्छिन्, “हामीसँग ठूला मान्छेका लागि त पर्याप्त परीक्षण छैन बालबालिकालाई कसरी गर्ने ?”

तर परीक्षण अभावका कारण मात्र नभएर रोग पहिचानमा ढिलो गर्नु पनि गम्भीर समस्या बनेको छ किनकि बालबालिकामा कोभिड तुलनात्मक रुपमा फरक तरिकाले देखा पर्न सक्छ ।

उनले फेरि भनिन्, “बच्चालाई एकदम धेरै झाडापखाला लाग्छ , पेट दुख्ने अनि छाति दुख्ने हुन्छ जुन फरक लक्षण हो । त्यसैले रोग थाहा नहुँदा बच्चा गम्भीर बिरामी परिसकेपछि मात्र अस्पताल ल्याइन्छ र अवस्था जटिल बन्दै जाँदा प्रायःको मृत्यु हुने हुन्छ ।”

त्यस्तै आईसीयूमा राखिएका बिरामी बच्चाकहाँ अभिभावकलाई जान अनुमति दिइँदैन जसले पनि थप चुनौती उत्पन्न गराएको डाक्टर सिनारा कार्नेइरो बताउँछिन् ।

बाबुआमाले बच्चाको हौसला बढाउने मात्र नभइ उनीहरुले बच्चाको पीडा, दुखाइ र मानसिक अवस्था पनि सजिलै बुझ्न सक्छन् । त्यसैले अभिभावकलाई बच्चालाई कतिबेला औषधिको आवश्यक परेको छ या ख्याल राख्नुपर्छ भन्ने थाहा हुन्छ ।

त्यस्तै छोराछोरीलाई देख्न नपाउँदा बाबुआमामा उत्पन्न हुने ट्रमा र मानसिक तनाव पनि उत्तिकै हृदयविदारक छ । उनले भनिन्, “कुनै पनि बच्चा आफ्नो बाबुआमाबिना मर्नुपरेको देख्दा हाम्रो पनि मन दुख्छ ।”

यही समस्याको समाधान गर्न अल्बर्ट सबिन हस्पिटलले सबैमा ट्याबलेट र मोबाइल फोन वितरण गराइ भिडियोकलको व्यवस्था मिलाएको हो । डाक्टर कार्निएरोका अनुसार उनीहरुले बिरामी र परिवारबीच १०० भन्दा बढी भिडियोकल गराइसकेका छन् जसले दुवै पक्षमा तनाव कम गराउँदछ ।

वैज्ञानिकहरुले अझै पनि बालबालिकको उमेर समूहमा संक्रमणको जोखिम कम हुने बताउँछन् । तर ब्राजिलमा ३४ लाख कोभिड मृत्युमा ०.५८ प्रतिशत बच्चाहरु पनि पर्दछन् । जुन सङ्ख्याका हिसाबले २ हजार बढी बालबालिका हुन्छन् । डाक्टर कार्निएरो भन्छिन्, “यो सङ्ख्या भयावह हो ।”

‘रोयल कलेज अफ पेडिआट्रिक्स एण्ड चाइल्ड हेल्थ’ ले यस्ता अवस्थामा बच्चालाई तुरुन्तै अस्पताल लगिहाल्न सुझाव दिएको छ–

– पहेँलो हुने, छुँदा चिसो हुने

– सास फेर्दा रोकिने या अनियमित श्वास प्रश्वास

– केही प्रतिक्रिया नदिने, ओठ नजिक नीलो हुँदै जाने

– अचेत हुने, एकदम धेरै रुने, सुतेपछि उठाउन कठिन हुने, धेरै चिडचिडा हुने

– र विशेषगरी किशोरहरुमा गुप्ताङ्गमा दुखेमा ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.