Advertisement

धुवाँले बस्ती ढाक्दा श्वास फेर्न पनि गाह्रो

0 958

Advertisement

०१ बैशाख, कास्की । बस्ती नजिकैको जंगलमा भीषण आगलागी हुँदा गाउँलेलाई सकस परेको छ। भीषण आगलागीका कारण गाउँ धुवाँले ढाकेको छ भने बस्तीमा आगो पस्ने त्रासले गाउँले रातभर सुत्न पाएका छैनन। एकैरातमा ठुलो वनक्षेत्र आगलागीले ध्वस्त भएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम र पोखरा महानगरपालिका–२५ सुइखेत नजिकका चारवटा सामुदायिक वनमा आगलागी भएको स्थानीयले बताएका छन्। भीषण आगलागीले गाउँ नै धुवाँले ढाकिएको स्थानीयले बताएका छन्। गाउँमै धुवाँ पस्ता श्वास फेर्नै सकस भएको स्थानीयले बताए।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा अन्नपूर्ण इको भिलेज रिसोर्ट चलाएका स्थानीय विश्वराज अधिकारीका अनुसार स्थानीय भतिनि, काउलापानी, खहतीखोला, धुवाउने वनपाला र धुवाउने झिझिर्का सामुदायिक वनमा आगलागी भएको हो। सोमबार दिउँसोदेखि आगो लाग्न थालेको उनले बताए। ‘सोमबार दिउँसो गाउँ नजिकैको वनमा आगलागी भएको थाहा पायौ। त्यसपछि २० जना जति गाउँले मिलेर निभाउन गयौं,’ अधिकारीले भने, ‘बेलुकीसम्म मुस्किलका साथ निभायौ। तर राती फेरि आगलागी फैलिँदा नियन्त्रणबाहिर पुगेको छ।’

उनका अनुसार वनपाला धुवाउँने वनबाट आगलागी सुरु भएको हो। ‘बेलुकी पुरै निभेपछि हामी घर फर्केका हाैं। तर मध्यरातमा फेरि आगलागी भएको खबर आयो। मध्यरातमा निभाउन जान सकिएन,’ उनले, ‘बिहान सबेरै निभाउन जाँदा आगलागीले भीषण रुप लिइसकेको थियो।’ उनका अनुसार आगलागीको लप्को बढेर रिसोर्टसम्म पुग्न थालेपछि रिसोर्टका लागि संकलन गरिएको आकाशे पानी नै निकालेर निभाउने प्रयास गरिएको थियो।

इको भिलेज रिसोर्टसम्मै आगलागी पुग्ने त्रास भएपछि ट्यांकीमा संकलित झन्डै दुईलाख लिटर पानी रिसोर्ट नजिकैको क्षेत्रमा लगेर भिजाएको उनले बताए। ‘हिउँदमा पानी अभाव हुने भएपनि वर्षामा आकाशे पानी संकलन गरेको थिए। आफ्नै रिसोर्टसम्म आगो फैलिने त्रास भयो,’ उनले भने, ‘सबै गाउँले नै मिलेर ट्यांकीको पानी पाइपबाट लगेर आगोको लप्को आउने ठाउँमा भिजायौं, अनि माटो खनेर पुरेकोले आगो बस्तीसम्म आउन पाएन, ठाडो भीरका कारण निभाउनका लागि जंगलमा जान सकिन्न। प्रहरी पनि पुग्न नसक्ने अवस्था रहेन।’

आगलागी भएको क्षेत्र सुइखेत र अस्तामका बासिन्दाले प्रयोग गर्ने वन क्षेत्र हो। उनका अनुसार पश्चिमबाट फैलिएको आगोको लप्का फैलिँदै फेँदीतिर पुग्ने जोखिम छ। त्यस्तै पूर्वतिरको तिब्रेकोट सामुदायिक वनमा पनि आगो पुग्न थालेको छ। ‘योपटक निकै नै सुख्खा थियो। पहिला पहिला यसरी आगलागी भएको थिएन। रातको समयमा आगलागी भएको छ। कसले लगाएको भन्ने पनि थाहा भएन,’ उनले भने, ‘यो बेला सामुदायिक वनमा दाउरा काट्ने समय हो। दाउरा काट्दाको पातपतिंगरका कारण पनि आगलागी फैलिन सहज भएको हुनसक्छ।’

उनका अनुसार गाउँलेले गाइबस्तु पाल्न छाड्दा पनि वनमा पातपतिंगर थुप्रिएको थियो। लामो समयदेखिको खडेरीले पातपतिंगर पनि सुकेको थियो। ‘पहिला पहिला गाईबस्तु पनि चरिचरनका लागि वनमा जाँदा यत्तिसारो पातपतिंगर संकलन हुने थिएन। अहिले त वनक्षेत्र नै डरलाग्दो भएको छ,’ उनले भने। वनमा लागेको आगोले चराचचुरुंगी मरेर ढडेको गन्ध आएको उनले बताए। त्यसबाहेक वनमा लागेको आगोका कारण भागेको चितुवा बस्तीमा पसेर दुईपटा बाख्रा पनि नोक्सान गरिदिएको उनले बताए।

माछापुच्छ«े गाउँपालिका–६ का सदस्य लोकराज अधिकारीले पनि आगलागीले बस्ती नै जोखिममा पारेको र अधिक धुवाँले गर्दा सास फेर्न पनि सकस भएको बताए। ‘सोमबारबाट आगो लाग्न थालेको हो। जंगल सबै सखाप भएको छ। चारवटा वन क्षेत्र डढिसकेको छ,’ सदस्य अधिकारीले भने, ‘आगो निभाउन भीरमा जान सकिने अवस्था छैन। चारैतिरबाट धुवाँ गाउँमा पस्ता आखा पोल्ने र सास फेर्न नै अप्ठेरो परेको छ।’ तत्काल आगो नियन्त्रणमा आउने सम्भावना पनि छैन। भगवान भरोसा छाड्नुको विकल्प नरहेको उनले बताए।

प्रहरीले पनि आगलागी नियन्त्रणमा सहज नभएको बताएको छ। आगलागी नियन्त्रणको प्रयासका लागि गाउँलेसँगै प्रयास गरेको भएपनि सहज नभएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले अहिले बस्ती जोगाउने पहल मात्र भइरहेको बताए। ‘बस्तीमा आगो पुग्दैन, तर, जंगल बच्दैन,’ उनले भने, ‘सुरक्षाकर्मी त खटिएका छन्। तर, नियन्त्रणमा सहज छैन।’

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार मंगलबार दिउँसोसम्म हेम्जा, निर्मलपोखरी, भरतपोखरी, रुपा गाउँपालिकाका विभिन्न क्षेत्रमा आगलागी भईरहेको छ। यो सिजनमा अहिलेसम्म कास्कीमा करिब ६५ हेक्टर क्षेत्रफलमा आगलागी भएको उनले बताए। ‘आगजनी गर्ने मान्छे नै पहिल्याउन सकिन्न। मान्छेले नै आगो लगाएको हो। आगलागी गर्ने व्यक्ति पनि पत्ता लगाउन सकिएको छैन,’ बरालले भने, ‘घाँसको लोभमा र बारीमा घास पोल्दा आगलागी फैलिएको हाम्रो अनुमान छ। तर कतिपयले मात्तिएर पनि आगो लगाउने गरेका हुन्छन्।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.