घोडेजात्राको के छ त धार्मिक महत्व !
२९ चैत, काठमाडौं । मिती २०७७ साल चैत २९ गते आइतबार प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व मनाइँदैछ ।यो उत्सव सम्पन्न गराउनु पूर्व वसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई घोडामा राखी टुँडिखेलको सैनिक मञ्चमा ल्याइ सम्मानपूर्वक देवीलाई सेनाबाट सलामी चढाइन्छ ।
परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे ।यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।
चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको हो।किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले विशेषगरी बालबालिकालाई दुःख नदिऊन् भन्ने ध्येयले सहरभर घोडा कुदाउने गरिन्थ्यो, घना बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको हो।
पं- बालमुकुन्द देवकोटा