Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपालमा ‘युके भेरियन्ट’को जाेखिम बढ्दो, खोपले सुरक्षित गर्नसक्छ

0 69

२७ चैत, काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ का नयाँ प्रजातीहरू देखिएसँगै नेपालमा पनि ‘म्युटेड’ भाइरसबारे चासो देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो समय संक्रमण पुष्टि भएकाहरूमा ‘युके भेरियन्ट’को लक्षण देखिएको जनाएको छ । यसअघि गत माघमा ३ जनामा ‘युके भेरियन्ट’ देखिएको महाशाखाले पुष्टि गरेको थियो ।

के हो ‘युके भेरियन्ट’ ?
अधिकांश सरुवा रोगहरूको भाइरस निश्चित चरणमा पुगेपछि आफ्नो जिन वा स्वरूप परिवर्तन गर्ने गर्छन् । जसलाई भाइरसको ‘म्युटेसन’ भनिन्छ । विश्वमा अहिले युके, ब्राजिलियन र साउथ अफ्रिकन गरी कोभिड–१९ का तीनवटा ‘भेरियन्ट’ पुष्टि भएका छन् ।

विश्व स्वास्थ्य संगठनले यी ‘भेरियन्ट’ कोभिड–१९ का नयाँ प्रजातिको रूपमा परिभाषित गरेको छ । ‘युके भेरियन्ट’ (बी १.१.७) अहिलेसम्म ४१ वटा देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअुनसार कोभिड–१९ को सामान्य भाइरसभन्दा युके ‘भेरियन्ट’ ७० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ । मृत्युदरका हिसाबले पनि ‘युके भेरियन्ट’ सामान्यभन्दा घातक भएको उनी बताउँछन् ।

पछिल्लो समय नेपालमा युके ‘भेरियन्ट’को आशंका गरिएकाहरूको नमुनामा ‘युके भेरियन्ट’ (बी १.१.७) को मात्रा धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । उनकाअनुसार संक्रमितहरूको नमूनामा ३० देखि ६० प्रतिशतसम्म ‘एस जिन’ नेगेटिभ देखिएको छ । जुन ‘युके भेरियन्ट’को लक्षण पुष्टि गर्ने नतिजा हो । काठमाडौं र पोखरा क्षेत्रका शिक्षक र विद्यार्थीहरूमा पनि यो लक्षण देखिएको छ । यस हिसाबले बालबालिका र ज्येष्ठ नागरिकमा पनि यो ‘भेरियन्ट’ देखिने सम्भावना प्रबल रहेको डा. पौडेलको आँकलन छ ।

कसरी हुँदैछ नेपालमा ‘युके भेरियन्ट’को परीक्षण ?
कोभिड–१९ को नयाँ प्रजाति पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्नुपर्ने हुन्छ । अर्थात् सामान्य पीसीआर किटबाट यो ‘भेरियन्ट’ पहिचान गर्न सकिँदैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) की प्रमुख डा.रुणा झाकाअनुसार नेपालमा एनपीएचएल अहिलेसम्म कोभिड–१९ को ‘म्युटेड’ भाइरसको परीक्षण भएको छैन ।

गत माघ ५ गते बेलायतबाट नेपाल आएका तीन जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको थियो । उनीहरूको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुष २७ गते हङकङ पठाइएको थियो ।

नेपालमा काठमाडौं विश्वविद्यायलअन्तर्गत धुलिखेल अस्पताल, त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी विभाग, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा पतिष्ठान नाष्टमा जिन सिक्वेन्सिङ परीक्षण हुने गरेको छ । एनपीएचएलले यिनै प्रयोगशालाहरूसँको समन्वयमा सम्भावित संक्रमितहरूको जिन सिक्वेन्सिङ गरिरहेको छ । पछिल्लो समय परीक्षणमा रहेकाहरूको नतिजा आइनसकेको महाशाखा प्रमुख डा. पौडेलले बताए । उनकाअनुसार नयाँ प्रजातिको भाइरसको जोखिम बढेपछि केन्द्रिय प्रयोगशालामा नै परीक्षण गर्न जिन सिक्वेन्सर झिकाइएको छ । उनले आज–भोलिमै उक्त जिन सिक्वेन्सर आइपुग्ने बताए ।

नेपालमा अन्य ‘भेरियन्ट’को जोखिम कति ?
छिमेकी मुलुके भारतमा पछिल्लो समय युके, ब्राजिलियन र साउथ अफ्रिकन तीनै प्रकारका ‘भेरियन्ट’ देखिएको छ । जसमा कोभिड–१९ को संक्रमण देखिएका प्रत्येक १० हजारमध्ये ७ सय जनामा युके ‘भेरियन्ट’ देखिएको तथ्यांक छ । यस हिसाबले नेपालमा ‘युके भेरियन्ट’को जोखिम बढी भएको डा. पुन बताउँछन् । तर अन्य ‘भेरियन्ट’ पनि देखिने सम्भावना रहेको उनको भनाइ छ । “भाइसरको प्रकृतिअनुसार कुन समयमा यसले रूप परिवर्तन गर्न भन्ने यकिन छैन । त्यसैले अन्य ‘भेरियन्ट’को सम्भावनालाई पनि नकार्न भने सकिँदैन । पछिल्लो समय भारतमा धेरै फैलिएको भनिएको डबल म्युटेड भाइरस स्थानीय रूपमा विकास भएको प्रजाति हो । यो हिसाबले पनि कुन प्रजाति कहाँ देखापर्छ भन्ने यकिन गर्न सकिँदैन,” डा. पुनले भने ।

नेपालमा लगाइएको खोपले ‘युके भेरियन्ट’लाई रोक्नसक्छ ?
नेपालमा हालसम्म कोभिड–१९ विरुद्धका दुईवटा खोप प्रदान गरिएको छ– भारतको उत्पादन कोभिसिल्ड र चीनको उत्पादन भेरोसेल । जसमध्ये भेरोसेल खोपले नयाँ भाइरसविरुद्ध कसरी काम गर्छ भन्ने अहिले अध्ययनकै क्रममा छ । कोभिसिल्ड खोपले युके ‘भेरियन्ट’विरुद्ध भने प्रतिरोधीको काम गर्ने पुष्टि भइसकेको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गत ३० मार्चमा एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै भारतले उन्पादन गरेका दुवै कोभिसिल्ड र कोभ्याक्सिन खोपले ‘युके भेरियन्ट’को संक्रमणबाट बचाउने पुष्टि गरेको छ ।

तर अन्य ‘भेरियन्ट’को हकमा भने अहिले विकास भएका खोपहरूले कसरी काम गर्छन् भन्नेबारे विभिन्न देशहरूले अनुसान्धान गरिरहेका छन् । युकेपछि दक्षिण अफ्रिकी ‘भेरियन्ट’लाई पनि घातक भाइरसको रूपमा लिइएको डा. पुन बताउँछन् । यसअघि इन्फ्लुएन्जाको भाइरस पटक–पटक परिवर्तन हुने गरेको जसकारण विश्व स्वास्थ्य संगठनले खोपमा हुने ‘कम्पोनेन्ट’ परिवर्तन गरेर विकास गर्ने गरेको उनको अनुभव छ । त्यसैले नयाँ ‘भेरियन्ट’विरुद्ध खोप परिमार्जन भएर आउनसक्ने पनि डा. पुनको विश्वास छ ।

“भाइरसले कहाँ कति असर पुर्‍याउँछ भन्ने विषय जनस्वास्थ्यका मापदण्ड कति पालना गरिएको छ भन्ने कुरामा निर्भर गर्दछ । हवापानी र मौसम भन्दापनि हामी कति सजग छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । भारतकै दरमा नेपालमा संक्रमण फैलिने हो भने अवस्था हामीले सोचेभन्दा निकै जटिल हुनसक्छ । नयाँ ‘भेरियन्ट’ले हाम्रो समुदायमा कुन रूप देखाउँछ भन्ने एउटा बिषय हो । तर हामी कति सतर्क छौं भन्ने अर्को महत्वपूर्ण बिषय हो । सामान्य कोभिड–१९ होस् या नयाँ प्रजातिको भाइरस नेपालमा जोखिम अहिले पनि उस्तै छ । तसर्थ जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु नै जनस्तरमा सुरक्षित रहने उपाय हो,” डा. पुनले भने ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.