रू रू जलविद्युत परियोजनाको आईपीओमा मागभन्दा बढी आवेदन
२३ चैत, काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रू रू जलविद्युत परियोजनाको आईपीओ ९ लाख ३५ हजार जना माथिले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन । यो मागभन्दा ३५ दशमलव ९९ गुणा बढी आवेदन परेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । यस अघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको थियो ।
दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । स्थानियमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ विक्री गरेको हो । कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाई छ ।
यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
यो पनि पढ्नुहोस्: