Advertisement

सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्स्मा बचतकर्ताको ७ अर्ब ५८ करोड रुपैयाँ डुब्ने जोखिम

0 1,121

Advertisement

२० चैत, काठमाडौं । सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्स्मा बचतकर्ताको ७ अर्ब ५८ करोड रुपैयाँ डुब्ने जोखिम बढेको छ । सहकारीले निक्षेप रकम त परको कुरा, २० महिनादेखि ब्याजसमेत फिर्ता नदिँदा बचतकर्ताहरू घरको न घाटको हुने अवस्थामा पुगेका हुन् । को–अपरेटिभ्स्का सञ्चालकहरूले बचतकर्ताको रकम आफ्नै सम्पत्ति बढाउन प्रयोग गर्न लागेपछि बचतकर्ताको रकम डुब्ने अवस्थामा पुगेको हो ।

०५७ मंसिरबाट सञ्चालनमा आएको सहकारीले नियमविपरीत कर्जा लगानी गर्न थालेको भन्दै संस्थाको व्यवस्थापनले १७ साउन ०७५ मै सञ्चालक समितिलाई पत्राचार गरेर ध्यानाकर्षण गराएको थियो । संस्थाका महाप्रबन्धक प्रकाशकुमार बर्मा र उपमहाप्रबन्धक जीवनराज बर्जाचार्यले पत्रमार्फत बिभिन्न १७ बुँदे समस्याको समयमै यथोचित सम्बोधन नभए यसबाट हुने हानि–नोक्सानीमा आफूहरू जवाफदेही नहुने भन्दै अध्यक्षको ध्यानाकर्षण गराएका थिए ।

सिभिल सेभिङ्स एन्ड क्रेडिटका बचतकर्ताले २० महिनादेखि ब्याजसमेत पाएनन्, सहकारीका मुख्य सञ्चालक इच्छाराज तामाङकै सिभिल होम्सलगायतका कम्पनीलाई मात्रै पटक–पटक गरेर नियमविपरीत ९ अर्ब लगानी गरेपछि सहकारी धराशायी हुँदै ।

सहकारीमा समस्या देखिएको २० महिना पुगिसक्दा पनि सिभिल ग्रुपसँग नजिकका सीमित बचतकर्ता र साना बचतकर्ताले फिर्ता पाए पनि अधिकांशले साँवा तथा ब्याज नपाएको पीडित बचतकर्ता नरेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामीले सिभिल होम्सकै घर किनेका थियौँ, त्यहीँ बस्दा सिभिल सहकारीमा बचतसमेत गर्न प्रवद्र्धकहरूले सुझाएपछि तयार भयौँ,’ उनले भने, ‘संस्थामा श्रीमती रोज श्रेष्ठको १ करोडभन्दा बढी बचत छ, उनी क्यान्सर पीडित पनि हुन्, अहिले उपचार गर्न रकम झिक्न खोज्दा पाइएको छैन ।’

सीमित व्यक्ति तथा संस्थाले भने सहकारीबाट भुक्तानी पाइरहेको कार्यालयबाट सहकारी पीडित संघर्ष समितिले झिकाएको विवरणले देखाउँछ । ‘सहकारीमा समस्या देखिएपछि कर्मचारी र तिनका आफन्त, सिभिल समूहकै केही संस्था र अध्यक्ष संलग्न निर्माण क्षेत्रका व्यक्तिहरूलाई भुक्तानी दिइएको छ, तर अन्यको भुक्तानीमा ढिलाइ गरिरहेका छन्,’ सहकारी पीडित संघर्ष समितिका संयोजकसमेत रहेका बचतकर्ता उज्ज्वल सत्यालले भने ।

सहकारीबाट ०७६ वैशाखदेखि ०७७ असारसम्म १० हजार ४ सय १६ पटकसम्म विभिन्न व्यक्ति र संस्थाको नाममा भुक्तानी भएको छ । त्यसमध्ये ५० हजारभन्दा बढी रकमको भुक्तानी मात्रै ४ सयपटक भएको छ । यो अवधिमा कुल १ अर्ब ८ करोड भुक्तानी भएको देखिन्छ । तर, कुल भुक्तानीको १५ प्रतिशत रकम निश्चित समूहलाई वितरण गरिएको छ । दी काठमाण्डु हाउजिङ, ग्रिन हिल सिटी, पायोनियर प्लास्टिक इन्डस्ट्रिज, संस्थाका सबैभन्दा ठूला बचतकर्ता जनक विष्ट, दुर्गादेवी मानन्धर, सिभिल सेभिङ्स, सिभिल क्यापिटल मार्केट लिमिटेड र सिभिल होम्सको नाममा मात्रै १७ करोड १५ लाख भुक्तानी भएको छ ।

संस्थाको कार्यालयको सूचनापाटीमा भने ३ चैतबाट चैत मसान्तसम्मको ब्याज दिने नयाँ योजना बनेको कारण देखाउँदै बचतको भुक्तानी रोकिएको बताइएको छ । गत ११ चैतमा सहकारीका संघर्ष पीडित र व्यवस्थापकबीच रकम भुक्तानीका लागि छलफलसमेत भएको थियो । तर, निष्कर्ष निस्किएन । ‘५ घन्टा बैठक बस्यो,’ पीडित संघर्ष समितिका संयोजक सत्यालले भने, ‘व्यवस्थापकहरू कहिले सिटिसी मल दृष्टिबन्धक गरेर बिक्रीपछि आउने रकमले ब्याज नियमित दिने भन्नुहुन्छ भने कहिले सिभिल मल बेच्ने योजना सार्नुहुन्छ ।’

सिभिल मलका अर्का लगानीकर्तासँग अध्यक्ष इच्छाराज तामाङको सम्बन्ध बिग्रिएकाले मल बिक्रीमा कठिनाइ रहेको र सिटिसी मलको मूल्यांकन उच्च गरिएको कारण बिक्री हुने अवस्था नदेखिएपछि कुरा अगाडि नबढेको सत्यालले बताए । उनका अनुसार सहकारीमा अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक राकेश महर्जनलगायत वार्तामा बसे पनि कसैले पनि प्रतिक्रिया जनाएनन् ।

‘कर्जा माग गर्ने सिभिल होम्सलगायतका परियोजनाका सञ्चालक र कर्जा दिने सिभिल सेभिङ्स एन्ड क्रेडिटका सञ्चालक एउटै भएको,’ पत्रमा उल्लेख छ, ‘नेपाल राष्ट्र बैंकसमेतको सघन अनुगमनपश्चात् सहकारी मापदण्ड ०६८ बमोजिम सिभिल होम्सलगायतका परियोजना कर्जा ५ वर्षभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाइए पनि कर्जा चुक्ता नभई झन्डै ४ गुणाले कर्जा वृद्धि भएको छ ।’

सिभिल होम्सलगायतका परियोजनामा उद्देश्य नखुलाई पहिलो कर्जाको साँवा–ब्याज चुक्ता नभई पुनः थप कर्जा लगानी भएकोसमेत पत्रमा उल्लेख छ । सो पत्रमा संस्थाकै घरजग्गा बिक्री गरेर आएको १ अर्ब रकमसमेत फिर्ता हुन नसकेको, कर्जा दायित्व भएका अन्य कम्पनीको चल–अचल सम्पत्ति बेचेर पनि कर्जा चुक्ता नगरेकोलगायतका विषय उठाइएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.