Advertisement

काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा : प्रदूषण केही घट्ने

0 1,026

Advertisement

१८ चैत, काठमाडौ‌ । लामो हिउँदे खडेरीपछि काठमाडौं उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ। बुधबार पानी परेपछि केही दिनयता लागेको तुवाँलो थोरै भए पनि हट्ने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो वर्षाले काठमाडौं उपत्यकामा देखिएको वायु प्रदूषण केही मात्रमा घट्ने छ।

‘वर्षासँगै अहिले देखिएको वायु प्रदूषण बिहीबार थोरै हट्छ’, मौसमविद् बासीले भनिन्, ‘तर, यो पानी पार्ने प्रणाली दुई दिनमात्र रहने हुँदा फेरि प्रदूषण कायमै देखिन्छ।’

मौसमविद्का अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित देशभरका पहाडी भूभागमा वर्षा भएको हो।

‘पश्चिमी वायुका साथै बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्लका वर्षा भएको हो’, मौसमविद् बासीले भनिन्, ‘तराई क्षेत्रमा वर्षा भएको छैन। विशेषगरी बागमती, गण्डकी प्रदेशसहित देशभरका अधिकांश पहाडी भूभागमा पानी परेको छ।’

पोखरामा वर्षा

पालमै सबैभन्दा धेरै पानी पर्ने पोखरामा हिउँद महिनामा पनि अघिल्ला वर्षमा धेरै पानी पर्ने गथ्यो। यस वर्ष भने अहिलेसम्मकै कम वर्षा भएको जल तथा मौसम विज्ञान कार्याल पोखराका प्रमुख राजारामप्रसाद ढकालले बताए।

यस वर्ष अंग्रेजी महिनाको नोभोम्बरमा ५१ मिलिमिटर पानी परेपछि डिसेम्बर महिनामा फाट्टफुटमात्र पानी परेको जल तथा मौसम विज्ञान कार्याल पोखराका प्रमुख ढकालले बताए।

जनवरी, फेब्रुवरीमा पानी नै परेन। मार्च महिनामा पनि फाट्टफुट्ट मात्र पानी परेको छ। यस हिसाबले हिउँदमा ४ महिना लामो खडेरी पहिलो पटक परेको ढकालले बताए। यस अघिका वर्षमा यस्तो कहिल्यै नभएको उनले सुनाए।

सन् २०२० मा जनवरीमा ७३ मिलिमिटर, जनवरीमा २१ मिलिमिटर, मार्च महिनामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख ढकालले जानकारी दिए।

यसैगरी सन् २०१९ को जनवरीमा ३५ मिलिमिटर, फ्रेब्रुवरीमा ११३ मिलिमिटर, मार्च महिनामा ९‍‍.२ मिलिमिटर पानी परेको तथ्याङ्क छ। पानी नपरेर मौसम सफा हुन नसक्दा बाक्लो तुवाँलोका कारण पोखरा आसपासका डाँडा छेकिएका छन्। धुलो र धुँवाको मिश्रण भएको तुवालोको कारण भिजिविलिटी निकै कम छ।

यस्तो हुनुमा लामो हिउँदे खडेरी, डढेलो मुख्य कारण मानिएको छ। नेपालकै विभिन्न ठाउँ र भारतदेखि पनि यो प्रदूषण भित्रिएको विज्ञ बताउँछन्।

चैत वैशाख हावाहुरी लाग्ने समय हो। हावाहुरी पनि नलाग्ने र पानी पनि नपर्दा प्रदूषण हट्न नसकेको जल तथा मौसम विज्ञान कार्याल पोखराका प्रमुख ढकालले बताए। ‘ठूला पानी पर्‍यो भने धुलो तल झर्छ। हावा लाग्छ। आकाश खुला हुन्छ र घाम लाग्छ’, उनले भने, ‘पानी नै नपर्दा र हावा पनि नलाग्दा यस्तो भएको हो।’

लामो हिउँदे खडेरीपछि पोखरामा बुधबार ठूलो पानी परेको छ। पानी परेपछि बिहीबार मौसम सफा हुने विश्वास पोखरेलीमा छ। पोखरामा सामान्य अवस्थामा ठूलो वर्षापछि मौसम सफा भएर हिमाल खुल्ने गर्छ। लामो तुवाँलो पछि ठूलो वर्षा भएकाले मौसम खुल्ने विश्वास स्थानीयको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.