Advertisement

मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली

0 459

Advertisement

१८ चैत, काठमाडाैं । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्वसको अवसरमा पुरस्कार वितरण तथा सम्मान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले क्लबले वार्षिक रुपमा प्रकाशित गर्दै आएको स्मारिका विमोचन पनि गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरूको स्वार्थका लागि मुलुक सती नजाने बताएका छन्। रिपोर्टस क्लब नेपालको २३औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले निहित व्यक्तिको स्वार्थका कारण मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका हुन्।

यो देश प्रचण्ड(पुष्पकमल दाहाल) भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि गएको प्रति व्यंग्य गरे। पार्टी मिलाइदिने काम अदालतको नभएको बताउँदै ओलीले भने, ‘अदालतले गरिदिने हो एउटा पार्टी ? पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइ पाऊँ भनेर निवेदन हालौं।’

सर्वोच्च अदालतले पार्टी एकता गर्ने भए १५ दिनभित्र निर्वाचन आयोग जान भनेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टी एकीकरण प्रक्रिया अघि बढाउन दाहाललाई टेलिफोन गर्दा मिडियाबाजी गरेको पनि आरोप लगाए । ‘अदालतको फैसलापछि पार्टी अलगअलग भयो। मैले प्रचण्डलाई फोन गरे। केन्द्रीय कमिटीको बैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो,’ ओलीले भने, ‘त्यसको एकछिनपछि मिडियामा आयो केपी ओलीले फोन गरेका थिए, मैले भेट्दिन भनेँ। इच्छा थिएन मैले टारिदिए भनेर। ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाए भयो।’

अदालत गएर एमाले र माओवादी पार्टी एकीकरण सम्भव नरहेको बताउँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालले एकताको पक्षमा नै नभएको बताए। अदालतले दुई पार्टीलाई पुरानो अवस्थामा फर्काउँदा नै पार्टी एकता बाँकी नरहेको धारणा राख्दै ओलीले भने, ‘मिल्ने बाटोमा हिँड्नुस् न । डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने । बेकारका उल्टापाल्टा कुरा गर्ने ?’ अदालत कुनै मजाक गर्ने ठाउँ नभएको पनि उनले बताए।

पार्टी एकीकरणका बेलामा भएको सहमतिलाई दाहालले नै च्यातेको धारणा राख्दै ओलीले भने, ‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरू हतियार र लडाकुसँग डराउँथे। आज तपाईंका सो कल्ड सेना पनि छैनन्। हतियार पनि छैनन्। ती दिन त गए।’नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको आरोप लगाउँदै ओलीले केही मान्छेको तीव्र महत्वाकांक्षाका लागि आफूले प्रधानमन्त्री पद नछाड्ने दाबी गरे। ‘आज देशलाई संकट परेको छ भने तिनै मान्छेका कारण छ, कहाँ तानाशाही भएको छ ?,’ ओलीले भने, ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो। सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो। सडकबाट उहाँहरूले तमासा देखाउनुभयो।’

निर्वाचनले लोकतान्त्रिक गणतन्त्र कमजोर नहुने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ रे। कहीँकतैबाट खतरा आएको देख्दिनँ। चुनाव भएर खतरामा पर्छ भने अबको २० महिनामा चुनाव हुन्छ नै। जनताको माझमा गएर कसरी लोकतान्त्रिक व्यवस्था कमजोर हुन्छ मैले बुझेको छैन।’ प्रधानमन्त्री ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकार प्रतिबद्ध रहेको जनाउँदै कुनै बन्देज नलगाउने बताए। तर, उनले जिम्मेवार हुन र मिसन पत्रकारिता नगर्न सञ्चारकर्मीलाई आग्रह गरे।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले मधेसका समस्या समाधानमा चासो देखाएको भन्दै धन्यवाद दिए। ‘म धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीलाई। उहाँले आफूले गर्न सक्ने गर्छु भन्नुभएको छ। प्रक्रिया सुरू भएको छ भन्नुभएको छ,’ ठाकुरले भने, ‘ओलीजी प्रधानमन्त्री बन्नुभएदेखि नै हामीलाई आउनुस् भन्नुभएको हो। तर, हाम्रो जवाफ छ, हाम्रो मुद्दातिर ध्यान दिनुस्। हाम्रो हातगोडा बाँधिएको छ, कसरी सरकारमा आउने ?’

प्रधानमन्त्रीनिकटका व्यक्तिसँग मंगलबार बिहान मात्र आफूलाई भेट्न आएको धारणा राख्दै उनले भने, ‘हाम्रो मुद्दाको समाधानमा प्रक्रिया अगाडि बढाइएको छ भन्नुभयो, तर पूरा सूचना दिनुभएन। तैपनि प्रधानमन्त्रीलाई धन्यवाद छ।’

नेपाली कांग्रेससहित अन्य राजनीतिक दलसँग पनि आफुहरू संवादमै रहे पनि विश्वासिलो आधार प्रस्तुत गर्न नसकेको ठाकुरले बताए। ठाकुर अघि कार्यक्रममा आफ्नो धारणा राखेका सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने सरकारको आलोचना गरे। कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेल, राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरूले सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.