Advertisement

म्यान्मार सैन्य शासन: भिसा अवधि नबढाइदिएपछि काठमाण्डू फर्किएका एक नेपाली पत्रकारको भोगाइ

0 488

Advertisement

१२ चैत, बिबिसि। गत फ्रेबुअरी १ मा म्यान्मारमा सेनाले निर्वाचित सरकार अपदस्थ गरेर नेताहरू नियन्त्रणमा लियो र देशको शासन सत्ता आफ्नो हातमा लियो।

नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिने प्रयत्न गरेका बेलाको पत्रकारिता अनुभव भएका नेपाली पत्रकार दीपक भट्टराई गत साढे तीन वर्षदेखि म्यानमारमा बीबीसी मिडिया एक्शनमा कार्यरत थिए।

उनले त्यहाँका प्रदर्शनकारी र सैन्य शासकका गतिविधि नजिकबाट नियाल्ने अवसर पाए। मार्च महिनामा सकिन लागेको भिसा थप्ने प्रयत्न सफल नभएपछि नेपाल फर्केका पत्रकार भट्टराईले कू भएको दिनदेखि अहिलेसम्मको आफ्नो भोगाइ यो रिपोर्टमा प्रस्तुत गरेका छन्:

बिहानको पाँच बज्न बाँकी नै थियो। म सधैँ झैँ प्रभातकालीन हिँडाइको लागि तयारी गर्दै थिएँ। कहिल्यै त्यति सबेरै फोन नगर्ने सहकर्मी टे टे खाईंले फोन गरिन्, ‘आङ सान सू ची र राष्ट्रपति विन मिन्टलाई सेनाले नियन्त्रणमा लिए जस्तो छ। भर्खरै एक जना एनएलडीका नेताले फेसबुक पेजमा लेखेका छन्।’

त्यसपछि फेब्रुअरी १ बिहान म हिँडन बाहिर निस्किइन। अफिसका अन्य सहकर्मीलाई फोन गरेँ। नेपालमा २००५ फेब्रुअरी १ मा तत्कालीन राजा ज्ञानेन्द्रले कू गरेको अनुभव थियो। अब कुनै पनि बेला फोन र इन्टरनेट काटिन्छ भन्ने लागेर नेपालमा रहेका छोरीहरूलाई मेसेज गरेँ। घर परिवारमा खबर गरेँ।

कोभिड-१९ को प्रकोप बढेपछि पोहोर एप्रिलदेखि म्यानमारमा बस्ने नेपालीको फेसबुक मेसेन्जर ग्रुप छ। त्यो ग्रुपमा हरेक दिन कोभिड-१९ को म्यानमारमा अवस्थितिबारे जानकारी दिने गर्थेँ। त्यसमा ‘सेनाले कू गरेको हल्ला छ, जति सकिन्छ छिटो घर परिवार र आफन्तलाई खबर गर्नु। फोन र नेट काट्न सक्छन्’ भनेर मेसेज लेखेँ।

सधैँसँगै प्रभातकालीन हिँडाइमा जाने छिमेकी नेपाली दाइलाई फोन गर्न खोजेँ। फोन लागेन। श्रीमती मायालाई ती दाइको डेरामै पठाएँ। त्यसपछि सहकर्मीहरूसँग पछिल्ला गतिविधिबारे जानकारी लिने र दिने काम भयो।

एकपछि अर्का नेता र अधिकारकर्मी पक्राउ परेका जानकारी आयो। साढे तीन वर्ष यताको मेरो ठेगाना यागौं शहरमा बिहान ८ बजेसम्म इन्टरनेट र फोन दुवै चल्यो। धेरैलाई खबर गर्न भ्याइयो।

आठ बजेपछि तरकारी किन्ने बहाना बनाएर बाहिर निस्केँ। हातमा सञ्चार सम्पर्क गर्न नमिल्ने भए पनि फोटो र भिडियो खिच्न मिल्ने मोबाइल फोन थियो। करिब डेढ घण्टा वरपर बजार घुम्दा खाद्यान्न पसलमा भिड थियो। चामल, नुन तेल र गेडागुडी किन्नेको दौडधूप थियो।

टुटेफुटेको बर्मेलीमा आज बिहानैदेखि मेरो फोन चलेको छैन किन होला भनी सोधेँ। सबै जसोले बोल्न आनाकानी गरे। सधैँ झैँ तरकारी किन्ने पसलकी साहुनी दिदीले ‘आङ सान सू चीलाई सेनाले नियन्त्रणमा लियो। रेडियो टीभी सबै बन्द छन्। तँ अब घर गएर सुरक्षित बस्’ भनिन्।

अरू केहीसँग कुरा गर्दा औँलाले मुख थुने। सन् १९६२ देखि सन् २०११ सम्म सैनिक शासन भोगेका म्यानमारी नागरिक अरू बेला पनि राजनीतिको कुरा गर्न असजिलो मान्छन्। ‘स्पेसल ब्रान्च’ भनिने सेनाको जासुसी निकाय छ। आम मानिस जतिखेर पनि स्पेसल ब्रान्च (एस.बी.) ले निगरानी गरिरहेको हुन्छ भन्ठान्छन्। सेनाको आलोचना गरे वा राजनीतिक कुरा गरेर बेकारको झमेलामा परिन्छ भन्ने उनीहरूको भनाइ छ

डेरामा फर्केको केही घण्टापछि नै इन्टरनेट र फोन दुवै चल्यो। नेपालमा कू हुँदा हप्तौँ इन्टरनेट र मोबाइल फोन दुवै नचलेर बाहिरी संसारसँग बेखबर भएको म कठोर भनिएको सैनिक शासकले त्यति छिटै इन्टरनेट र फोन सम्पर्क खोलेको देखेर छक्क परेँ।

सैनिक टीभी र सरकारी टीभीमा सेना प्रमुख मिन आङ लाइङ देखिए। उनले गत नोभेम्बरमा भएको चुनावमा थुप्रो अनियमितता भएका विषयमा पटक पटक कुरा उठाउँदा पनि निर्वाचन आयोग, राष्ट्रपति र संसद् कसैले पनि सुनुवाइ नगरेकाले सेनाले संविधान अनुसार शासनको कार्यभार आफ्नो हातमा लिएको र देशमा सङ्कटकाल लगाइएको घोषणा गरे। एक वर्षभित्र निष्पक्ष चुनाव गराएर नयाँ सरकारलाई देशको नेतृत्व दिइने बताए।

यागौं शहरमा सञ्चार सम्पर्क दिइएको चार घण्टापछि राजधानी नेपिद्अमा पनि सञ्चार सम्पर्क खुल्यो। नेपिद्अमा फेब्रुअरी १ मा सुरु हुने नयाँ निर्वाचित संसद्‌को समाचार सङ्कलन गर्न गएका सहकर्मी बल्ल सम्पर्कमा आए।

कोही पनि सहकर्मी पक्राउ परेका रहेनछन्। दूतावास र मेसेन्जर ग्रुप मार्फत् म्यानमारमा काम तथा बौद्ध धर्म अध्ययन गर्न गएका डेढ सयका हाराहारीका नेपाली नागरिक पनि पक्राउ नपरेको निश्चित भयो।

नेपाली भाषी पक्राउ परे नपरेको बारे बुझ्न केही समय लाग्यो। अपराह्न चार बजेतिर गोर्खालीहरूको साझा संस्था अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका केन्द्रीय पदाधिकारीले कोही पनि पक्राउ नपरेका जानकारी दिए।

बीबीसी नेपालीसहित केही सञ्चार माध्यमलाई म्यानमारको पछिल्लो स्थितिबारे जानकारी गराएँ।

राति ८ बजेदेखि कर्फ्यू लाग्यो। रातिको समाचारमा सैनिक टीभीले प्रधान सेनापति मिन आङ लाइङको बिहानको सम्बोधनसहित सेनाको कदममा नागरिकले सडकमा आएर समर्थन गरेका जुलुसका केही भिडिओ सार्वजनिक गर्‍यो।

सेनाले भोलिपल्टदेखि नयाँ सरकार गठन गर्न थाल्यो। जसलाई स्टेट एडमिनिस्ट्रेटिभ काउन्सिल भनियो। स्टेट एडमिनिस्ट्रेटिभ काउन्सिलमा अहिले १६ जना सदस्य छन्। जसमा आधा म्यानमारी सेनाका उच्च अधिकारी हुन् भने आधा बाहिरबाट टिपिएका राजनीतिमा रुचि भएका व्यक्ति छन्।

नोभेम्बरको चुनावमा पराजित सेना समर्थित दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीका नेता तथा आङ सान सू चीको दल नेशनल लीग फर डेमोक्रेसीबाट फुटेका तर संसदमा एक जना पनि प्रतिनिधित्व नभएकाहरू पनि नयाँ सरकारका मन्त्री भएका छन्।

आङ सान सू ची, राष्ट्रपति र जन निर्वाचित सबै सांसदलाई जो जहाँ छन् त्यहीँ नियन्त्रणमा लिएर सेनाले कू गरेको थियो। सैनिक कूको पर्सिपल्ट भने केही सांसदलाई सैनिक नियन्त्रणबाट रिहा गरियो। ती सांसदहरू आ-आफ्ना निर्वाचन क्षेत्रमा फर्किए। केही प्रभावशाली सांसदलाई अझैसम्म पनि सेनाले नियन्त्रणमा लिइरहेको छ।

कू को चार दिनपछि राति आङ सान सू चीलाई रिहा गरेको हल्ला म्यानमार भर फैलियो। राति नै मान्छेहरू सडकमा उत्रेर खुशीयाली साटासाट गरे। आकाशमा आतिशवाजी भइरहे। भोलिपल्ट प्रमुख शहरमा विरोधका कार्यक्रम आयोजना गरिएका थिए। त्यो विजयोत्सवमा परिणत हुने खबर मलाई नेपालीभाषी बर्मेलीले सुनाए। तर मेरा समाचार श्रोतले कसैको रिहा नभएको र हल्ला फिँजाइएको भनेका थिए।

नभन्दै मध्यरातमा नै एनएलडीले कसैको रिहाइ नभएको भन्दै आफ्नो फेसबुक पेज अद्यावधिक गर्‍यो। सरकारले त्यही रातिदेखि फेसबुक, टि्वटर र इन्स्टाग्रामलाई अवैध घोषणा गरिदियो। सरकारीबाहेक रेडियो टेलिभिजन बन्द छँदै थिए, म्यानमारमा इन्टरनेटको पर्याय बनेको फेसबुक बन्द हुँदा मानिसहरू सूचनाबाट वञ्चित हुँदै गए।

त्यसको भोलिपल्टदेखि म्यानमारीहरू सैनिक शासनका विरुद्ध सडकमा उत्रन थाले। प्रजातान्त्रिक आन्दोलनको सुरुवात राति ८ बजे भाँडाकुँडा बजाएर भयो। जुन अहिलेसम्म पनि निरन्तर छ। हरेक रात ८ बजे म्यानमारीहरू घरघरमा आवाज ठूलो पारेर १५ मिनेट भाँडा बजाउँछन्। भाँडा बजाउनु भनेको सैतान भगाउने बर्मेली शैली हो।

उता सैनिक सरकारले भने पुराना न्यायाधीशहरू हटाउँदै नयाँ न्यायाधीश मनोनीत गर्न थाले। कानुन परिवर्तन गर्न थाले र नेता तथा अधिकारकर्मी पक्राउ गर्न थाले।

आङ सान सू चीको रिहाइ र जन निर्वाचित संसद् र सरकारलाई सत्ता हस्तान्तरण गर्न अनुरोध गर्दै हजारौँका सङ्ख्यामा जुलुस निस्कन थाले। सुरुका केही दिन हजारौँका सङ्ख्यामा प्रदर्शनकारी हुने जुलुसमा लाखौँका सङ्ख्यामा पुग्न थाल्यो। सरकारी कर्मचारीहरूले प्रजातान्त्रिक आन्दोलनमा साथ दिने भन्दै नागरिक अवज्ञा आन्दोलन सुरु गरे। कार्यालयहरू ठप्प हुन थाले। निजी ब्याङ्क र अन्य कार्यालयका कर्मचारी पनि नागरिक अवज्ञा आन्दोलनमा सहभागी भए।

म्यान्मारकी नेत्री सू ची र उनलाई थुन्ने सेनाप्रमुखबारे नेपाली नेताको अनुभव
जुलुस नभएका स्थानमा सवारी साधन चलेका देखिन्थे। तर ब्याङ्किङ सहितका सबै सेवा बन्द भएपछि कू को दोस्रो सातामा आइपुग्दा म्यानमार पुरै ठप्प भयो। ठूला सपिङ मलहरू बन्द थिए। बिहान एकछिन र साँझ एकछिन खाद्यान्न र तरकारी पसल खुल्थे।

दिनभर प्रदर्शन हुन्थे र रातभर कर्फ्यू हुन्थ्यो। फेसबुक सहितका सामाजिक सञ्जाल बन्द भए पनि भीपीएन डाउनलोड गरेर म्यानमारीहरूले ती प्रयोग गरिरहे। सरकारले बेला बेलामा इन्टरनेट काटिरह्यो। जतिबेला इन्टरनेट उपलब्ध हुन्छ त्यही बेला आफन्तसँग कुराकानी हुन्थ्यो।

आङ सान सू चीलाई वाकिटाकी घरमा राखेको आरोपमा मुद्दा दायर भयो। राष्ट्रपतिलाई कोभिड-१९ को नियम उल्लङ्घन गरेको आरोप लगाइयो। अहिले त उनीहरू माथि हिंसा भड्काएको, भ्रस्टाचार गरेको जस्ता एकपछि अर्को गर्दै मुद्दा थपिँदै गएको छ। जसको आधारमा उनीहरूलाई १६ वर्षसम्म जेल सजाय हुन सक्छ।

सैनिक सत्ताको तेस्रो सातामा आइपुग्दा सुरक्षाकर्मी बढी आक्रामक देखिन थाले। राति राति कर्फ्यूका बेला गिरफ्तार गरिने र तिनलाई कहाँ लगियो भन्ने जानकारी नदिने अवस्था भएपछि म दुई रात घर छाडेर अन्यत्र सुत्न गएँ। तर त्यतिबेलासम्म आङ सान सू चीका आर्थिक सल्लाहकार अस्ट्रेलियाली नागरिक बाहेक अन्य विदेशीलाई गिरफ्तार नगरिएको र सम्भावना पनि कम देखेपछि डेरामै सुत्न थालेँ।

शहरका हरेक टोल टोलमा नागरिक सुरक्षा दस्ता तयार भए। समूह समूह बनाएर रातभर जाग्राम बसी नागरिकहरू पालैपालो आफैँले आफ्ना समुदायलाई सुरक्षा दिन्थे। सुरक्षाकर्मी आएको थाहा पाए थाल ठटाएर सबैलाई उठाउँथे र सुरक्षाकर्मी भगाउँथे। त्यतिले मात्र नपुगेर टोल टोलमा बोरामा बालुवा हालेर गौँडा थुने।

यसैगरी आन्दोलन बढ्दै गयो। करिब सयको हाराहारीमा सुरक्षाकर्मी पनि काम छाडेर प्रदर्शनमा सहभागी हुन थाले। उता सैनिक सत्ता हिंसात्मक तवरले आन्दोलन दबाउन थाल्यो। रातभर स्टन ग्रिनेड पड्काएर नागरिकलाई त्राहि त्राहि पार्न थाले। पटाका झैँ अन्धकारमा ग्रिनेड र बन्दुक पड्किँदा सुत्न नसकिने मात्र होइन, आजै मरिने पो हो कि भन्ने भय मनमा आउँदो रहेछ। मान्छेका घरभित्र गोली भेटिन थाले।

निश्चित टोललाई घेरा हालेर प्रदर्शनकारीलाई गिरफ्तार गर्न थालियो। कतिपय अवस्थामा झडप हुँदा मृत्यु हुनेको सङ्ख्या बढ्न थाल्यो। फेब्रुअरी महिनाभरमा ६० जना प्रदर्शनकारीको मृत्यु भएको थियो। मार्च ४ मा एकै दिन ३८ जना प्रदर्शनकारीको हत्या भयो।

एक महिनापछि ठूला प्रदर्शन हुन छाडे। मान्छेहरू केही सयको सङ्ख्यामा टोल टोलमा भेला भएर सैनिक शासनको विरोध गर्न थाले। सेनाले पनि टोल टोलमै गएर प्रदर्शनकारी तितरबितर पार्न थाल्यो। झडपको क्रममा एक सय ५० भन्दा धेरैको ज्यान गइसकेको संयुक्त राष्ट्रसङ्घको म्यानमारस्थित कार्यालयले जनाएको छ। कतिपयलाई गिरफ्तार गरिएको एक दुई दिनपछि मृत घोषणा गरी सुरक्षाकर्मीले आफन्त बोलाएर शव बुझाउन थाले। सग्लो शरीर लिएर गएका मान्छेलाई सुरक्षाकर्मीले मारेर पठाएर प्रदर्शनकारीको मनोबल घटाउन खोजेको जानकारी मलाई सहकर्मीले दिन्थे। अहिले पनि दुई हजार भन्दा धेरैलाई सेनाले गिरफ्तार गरी विभिन्न जेलमा राखेको छ

इन्टरनेट काट्ने क्रम बढ्दै गयो। म्यानमारमा फोन डाटा अहिले पनि पूर्ण रूपमा बन्द गरिएको छ र इन्टरनेट सेवा प्रदायकले वाइफाइ मार्फत् दिने इन्टरनेटमात्र दिनको निश्चित घण्टा चलाउन दिइन्छ।

मेरो भिसाको म्याद मार्चमा सकिने भएकाले विगतमा झैँ यसपालि पनि फेब्रुअरीमा नै म्याद थप्न निवेदन हालेँ। तर सरकारी अधिकारीले न भिसा दिए न भिसा नदिनुको कारण बताए।

बिना भिसा बस्नु थप जोखिमपूर्ण हुने देखिएपछि मैले म्यानमार छाड्ने निधो गरेँ। श्रीमती र म अहिले काठमाण्डूमा छौँ। यहाँ आएपछि आत्मबल बलियो भएको र आफूलाई सुरक्षित महसुस गरेको छु। तै पनि अहिले पनि यहाँ केही ठूलो आवाज आउँदा कतै गोली नै चलेको जस्तो डर लाग्ने र प्रहरी सेना देख्दा मन भयभीत हुँदोरहेछ।

६ साता भयो, राम्रोसँग निन्द्रा परेको छैन। निदाउन कोसिस त गर्छु तर बर्मेली मित्रहरूको सम्झनाले बेस्मारी सताउँछ। हरेक रात पड्काइने बन्दुकको आवाजले मेरा मित्रहरू उता सुत्न सकेका छैनन्। कतिबेला को पक्राउ पर्ने हो भन्ने डरले उनीहरू उता छटपटाइरहेका छन्। रात रातभर जाग्राम बसेर आफ्नो समुदायको सुरक्षामा खटिरहेका छन्। यस्तो बेलामा म मात्र यता कसरी सुत्न सकुँला र ?



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.