Advertisement

उपत्यकामा उच्च सतर्कता, होली घरमै मनाउन आग्रह

0 488

Advertisement

१२ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ।

काठमाडौं उपत्यकामा केही दिनयता संक्रमितको संख्या वृद्धि भएपछि जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको हो। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार प्रेस विज्ञप्तिमार्फत संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएका छन्। पछिल्लो २४ घण्टामा बुधबार काठमाडौंमा ५३ जना नयाँ संक्रमित फेला परेका छन्। ललितपुरमा ८ र भक्तपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्न अनुरोध गरेका छन्। घरबाहिर तथा सार्वजनिक स्थान एवं सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोरोना संक्रमितको संख्या बिस्तारै बढ्न थालेको छ। ‘संक्रमितको संख्यामा केही कमी आएको भए पनि संक्रमणको जोखिम घटिसकेको अवस्था होइन’, डा. अधिकारीले भने, ‘जनस्वास्थ्य मापदण्ड नअपनाएका कारण संक्रमितको संख्या बढेको हो।’

लकडाउनको योजना नरहे पनि संक्रमितको संख्या उच्च हुन गए परिस्थितिअनुसारको नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नुपर्ने डा. अधिकारीले बताए। ‘संक्रमणलाई भयावह रूपमा फैलिन नदिन सबैजना सजग हुनुपर्छ’, उनले भने।

मुलुकभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये संस्थागत आइसोलेसनमा २ सय १३ जना छन्। होम आइसोलेसनमा ९ सय ६९ जना छन्। पछिल्लो २४घण्टामा १सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. अधिकारीले बताए। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजिस्ट डा. अर्चना श्रेष्ठका अनुसार भारतमा संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेकोले नेपालमा पनि केही सातामै संक्रमणको संख्या बढ्दै जाने सम्भावना देखिएको छ। ‘दोस्रो चरणको महामारी आउने सम्भावना देखिँदै छ। महामारी न्यूनीकरणको लागि सबैले सतर्क भएर जनस्वास्थ्यका नियमहरू पालना गर्नुपर्छ। विशेषगरी दीर्घ रोगीले बढी सतर्कता अपनाउनु पर्छ’, डा. श्रेष्ठले भनिन्।

होली घरमै मनाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकोले यस वर्षको होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा यसपालिको होली घरमै मनाउन र अनावश्यक भीडभाड नगर्न अनुरोध गरेका हुन्। चैत १५ गते पहाडमा र १६ गते तराईमा होली पर्व परेको छ।

गृह मन्त्रालयले पनि ७७ वटै जिल्लामा जनस्वास्थ्यको मापदण्ड अपनाउन र भीडभाड, भेला, सभा, सम्मेलन नगर्न पत्राचारसमेत गरेको छ। फागु पर्वको अवसरमा सार्वजनिक स्थलमा भीडभाड नगर्न र होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरी सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्न आग्रह गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.