युगान्डाकी गायिका वियोन्से फाम्सीले गाइन ‘फूलबुट्टे सारी’ ?
०९ चैत, काठमाडौं । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले नेपाली गीत गाएकी छिन् । उनले राजनराज शिवाकोटीको गीत ‘फूलबुट्टे सारी’ कभर गरेकी छिन् ।
उनले गीतको भिडियो पनि निर्माण गरेकी छिन् । भिडियोमा उनी आफैं फिचर्ड छिन् । मदन कृष्ण श्रेष्ठले वियोन्सेको प्रशंसा गरेका छन् । “कति राम्रो, कति मिठो, राम्री पनि कति ।
सुहाएको पनि उस्तै,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “नेपाली गीत संगीतलाई यस्तरी मन पराइदिएको यी गायिकालाई एकपटक भेटेरै धन्यवाद दिन पाए हुन्थ्यो जस्तो लाग्यो । युगान्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कताबाट हो, केही थाहा छैन ।” यो गीतको लिजेन्ड भर्सन मदन कृष्णले गाएका छन् ।
यता, यो गीतका सर्जक राजनराज शिवाकोटीले भने आफूहरुसँग अनुमति नलिइ गाइएको भए पनि खुसी लागेकाे बताएका छन् ।
“अनुमति लिएर गाएको भए हुने थियो । तर, कसरी को सँग अनुमति लिएर गाइएको हो थाहा छैन,” राजनराज भन्छन्, “तर विदेशीले नेपाली गीत गाउँदा खुसी लागेकाे छ ।”
कभर भए पनि गीत स्टुडियोभित्रै रेकर्ड गरिएको छ । ओर्जिनल ट्रयाकमा गीत गाइएको छ ।
‘फूलबुट्टे सारी’ मदन कृष्णसँगै मार्मिक लामा, मिलन अमात्य र आरिष्मा शिवाकोटीले गाइसकेका छन् ।