Advertisement

४० वर्षपछि ‘आमा’ भन्दै घरको आँगनमा दुर्गाप्रसाद

0 370

Advertisement

०८ चैत, इलाम । भारतको कोलकातास्थित दमदम जेलमा चालीस वर्ष जेल जीवन बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाले आइतबार आफ्नो घरको आँगन टेकेका छन् ।

आइतबार बिहान काँकडभिट्टा नाका हुँदै नेपाल आएका उनी भाइहरु प्रकास र धीरेन्द्रको साथमा घर पुगेका हुन् । घर पुग्दा उनलाई हेर्नको भीड थियो । उनले घर पुगेपछि आमालाई हात जोडेर नमस्कार गरे तर केही बोलेनन् ।

लामो जेल जीवन र यात्राको थकानले उनी भीडमा डराएजस्तो गरी आमाको नजिकै बसेका थिए । घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मिठाइ ख्वाउन लाग्दा मात्रै उनले गुलियो खान मन नलागेको प्रतिक्रिया दिएका थिए । भाइ प्रकाश र विश्व सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत उनलाई लिएर घर पुगेका हुन् ।

घर आइपुगेपछि भाइ प्रकाश तिम्सिनाले बिना सुनुवाइ ४० बर्ष जेल बसेका दाजुको क्षतिपूर्तिका लागि फेरि भारतीय अदालत जाने बताएका छन् । यसका लागि नेपाल सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उहाँको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उनी कम बोल्छन् एकोहोरिन्छन्।

अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा छ/छ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उनका भाइ प्रकाशचन्द्रले बताए । उनको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिए।

बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिए। हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी छन् ।

भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ गएका थिए।

दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन ।

२०६९ सालमा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो । जेलमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ । तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो । चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्य भारत जान सकिरहेका थिएनन् ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए। दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्याएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको छ।

दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए। त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्‍याइएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए। घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा छिन्। उनी सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.