Advertisement

भारत र अमेरिकाले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड

0 423

Advertisement

०७ चैत्र, नयाँ दिल्ली । भारत र अमेरिकाले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रमा जोड दिएका छन् । भारत भ्रमणमा रहेका अमेरिकाका रक्षामन्त्री लायड अस्टिन र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीचको भेटमा दुवै पक्षले स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमा जोड दिएका हुन् । अस्टिन र सिंहबीच सैन्य र रक्षा साझेदारीलाई थप फराकिलो गर्दै जाने समझदारी पनि बनेको छ ।

तीन दिने भारत भ्रमणका क्रममा दोस्रो दिन शनिबार अस्टिन र भारतीय समकक्षी सिंहबीच एक घन्टा लामो भेटवार्ता भएको थियो । दुई देशका उच्च अधिकारीसहितको उक्त भेट विशेषगरी सैन्य साझेदारी विस्तार र हिन्द–प्रशान्त रणनीति, सैन्य साझेदारी र चीनका विषयमा केन्द्रित रहेको बताइएको छ । ‘बैठक निकै बृहत् र उपलब्धिमूलक भयो ।

बैठक विशेषगरी सैन्य साझेदारीमा केन्द्रित रह्यो । बहुपक्षीय अभ्यासहरुको समीक्षा भयो । साथै भारतीय सेना र अमेरिकी सेनाको इन्डो–प्याासिफिक कमाण्ड, सेन्ट्रल कमाण्ड र अफ्रिका कमाण्डबीच साझेदारी बढाउने सहमति पनि भयो’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय रक्षामन्त्री सिंहले भने ।

त्यसैगरी भारत–अमेरिका बृहत् विश्वव्यापी रणनीतिक साझेदारीलाई पूर्ण कार्यान्वयनमा लैजान पनि दुवै पक्षले प्रतिबद्धता गरेको सिंहले बताएका छन् । भारत र अमेरिकाले गत वर्ष बृहत् विश्वव्यापी रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । बैठक दुई देशबीचका लेमोआ, कोमकासा, बेकालगायत सैन्य सम्झौताको कार्यान्वयनमा समेत केन्द्रित भएको सिंहले जानकारी दिएका छन् ।

साथै उनले अघिल्लो साता सम्पन्न भारत, अमेरिका, जापान र अस्ट्रेलियाबीच भएको क्वाड शिखर वार्तामा पनि स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रमै जोड दिएको जनाएका छन् । गत १२ मार्चमा भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरुबीच भर्चुअल सम्वाद भएको थियो । चीनले क्वाडलाई ‘मिनि नेटो’ भन्दै विरोध गर्दै आएको छ । यद्यपि क्वाड सदस्य मुलुकहरुले भने यो साझेदारी कुनै मुलुकको विरुद्ध नभएको दाबी गर्दै आएका छन् ।

त्यसैगरी अमेरिकी रक्षामन्त्री अस्टिनले विश्वको तीव्ररुपमा बद्लिँदो परिस्थितिका अमेरिकाका लागि भारत महत्वपूर्ण साझेदार भएको उल्लेख गरेका छन् । ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका लागि भारत र अमेरिकाबीचको सम्बन्ध निकै महत्वपूर्ण छ’ अस्टिनले पत्रकार सम्मेलनमा भने । साथै उनले अमेरिका भारतसँग बृहत् र दीर्घकालिन रक्षा साझेदारीका लागि अमेरिकाको प्रतिबद्धता समेत दोहोर्‍याएका छन् ।

क्वाड साझेदारी, अमेरिका र भारतको चीनसँगको सम्बन्धका कारण अस्टिनको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । हिन्द–प्रशान्त रणनीतिलाई चीनको विश्वशक्ति बन्ने आकांक्षालाई ‘अंकुश’ लगाउने अमेरिकी रणनीतिका रुपमा अर्थ्याउने गरिएको छ । यद्यपि अमेरिकी उच्च अधिकारीहरुले यो कुनै मुलुक लक्षित नभएर हिन्द–प्रशान्त क्षेत्रमा स्थिरता कायम गर्नु रहेको बताउँदै आएका छन् ।

विशेषगरी चीनले अगाडि सारेको बेल्ट एण्ड रोड (बिआरआई) एसियाली मुलुकहरुको बढ्दो आबद्धता अमेरिकाका लागि पछिल्लो समय टाउको दुखाई बन्दै गएको छ । त्यसका लागि पनि हिन्द–प्रशान्त रणनीति (आईपीएस) मा भारतको सक्रिय सहभागिता अपरिहार्य हुने अमेरिकाको बुझाई छ । त्यही भएर नै विगत केही वर्षयता अमेरिकाले भारतसँगको साझेदारीलाई विशेष जोड दिँदै आएको विश्लेषकहरुको बुझाई छ । अस्टिनको भारत भ्रमणलाई पनि अमेरिकाको त्यही रणनीतिको निरन्तरता ठानिएको छ ।

अस्टिन तीन दिने भ्रमणका लागि शुक्रबार दिल्ली आइपुगेका हुन् । उनले शुक्रबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग समेत भेटेका थिए । जोय बाइडन अमेरिकाको राष्ट्रपति निर्वाचित भएयता भारत भ्रमणमा आउने अस्टिन पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.