भारतीय जेलबाट छुटेपछि दुर्गाप्रसाद तिम्सिनाले भने- ‘४० बर्षपछि छुटे बिनाकसुर जेल बस्नुपर्यो’
०७ चैत, झापा । पुष्टि नै नभएको कसुरमा ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना शनिबार दिउँसो छुटेका छन् । उनी आइतवार नेपाल आईपुग्नेछन् ।
भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिदै आफु निर्दोश रहेको बताए । उनले आफु बिना कसुर ४० बर्ष जेलमा बस्नुपरेको बताए ।
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर जेलमा रहेका तिम्सिना कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । दुर्गाप्रसादलाई लिन उनका काका का छोरा भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।
अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । हरेक ६ महिनामा तिम्सिनाको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ ।
महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ ।तस्बिरः पर्वत पोर्तेल(कान्तिपुर)