म्यान्मार प्रदर्शन: बीबीसीका पत्रकार आङ् थुरा पक्राउ
०७ चैत, बीबीसी । म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ।
राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार सङ्कलन गरिरहेका बेला उनलाई सादा पोशाकमा आएका पुरुषहरूले लिएर गएका हुन्।
बीबीसीद्वारा चिन्ता व्यक्त
उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई उनको खोजखबरमा सहयोग गर्न आग्रह गरेको छ।
देशका कैयन् भागमा भइरहेका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ ।
आङ् थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ।
नम्बर नखुलेको भ्यानमा सवार मानिसहरूले स्थानीय समयअनुसार दिउँसो उनीहरूलाई खोज्दै आएका थिए। त्यसपछि आङ् थुरासँग बीबीसीले सम्पर्क गर्न सकेको छैन।
“बीबीसीले म्यान्मारस्थित आफ्ना सबै कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिएको छ र आङ् थुरालाई खोज्न हरसम्भव प्रयास गरिरहेको छ,” बीबीसीले एक वक्तव्यमा भनेको छ।

“हामी अधिकारीहरूलाई उनको खोजीमा सघाउन र उनी सकुशल रहेको पुष्टि गर्न आग्रह गर्छौँ।”
म्यान्मारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन्।
१६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको छ।
यसबीच शुक्रवार सुरक्षा फौजको गोली लागी आङ्गबान शहरमा आठजनाको ज्यान गएको छ।
“सुरक्षा फौजले तगाराहरू हटाउन खोजेको थियो तर मानिसहरूले प्रतिवाद गरेपछि उनीहरूले गोली चलाए,” एकजना प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई बताएका छन्।
४० पत्रकार पक्राउ
म्यानमारमा सेनाले सत्ता कब्जा गरेदेखि ४० जना पत्रकार पक्राउ परिसकेका छन्। पक्राउ गरिएकामध्ये १६ जना अझै हिरासतमा छन्। सेनाले पाँच वटा मिडियाको लाइसेन्स रद्द गरेको छ।
एक आंदोलनकारी संस्था असिस्टेंस एसोसिएशन फ़ॉर पॉलिटिकल प्रिज़नरकव् दावी अनुसार हालसम्म म्यानमारमा २ सय ३२ जनाको ज्यान गइसकेको छ।