जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप

0 643

श्यामल कुमार गिरी

०५ चैत्र, बारा ।
बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाईते भएको प्रहरीले जनाएको छ ।स्थानीय तर्फ केहि सामान्य घाईते छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ उक्त झडपमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्की, नर्मता कार्की र अर्की एकजना महिलालाई नियन्त्रणमा लिएर छोडेको छ ।

स्थिति सामान्य भएपछि तीन घण्टादेखि बन्द रहेको वीरगञ्ज पथलैया सडकखण्डमा सवारी आवागमन सुचारु भएको छ गोदाम भनी बनाएर मेसिन चलाएर रातमा समेत ध्वनी प्रदुषण गरेको भन्दै स्थानीयले जगदम्बा स्टिलको गोदाममा ताल्चा लगाएका थिए । उद्योगले फलामको रडलाई सोझ्याउने मेसिन चलाउने गरेको थियो ।

दुई दिन अघि मात्रै उद्योग प्रशासनले गोदाममा कुनै मेसिन नराख्ने प्रतिबद्धता जनाएपछि सहमतिमा ताल्चा खोलिएको थियो तर आज दिउँसो गोदाममा मेसिन चलाउन थालेको अनुभूति गाउँलेले गरेपछि ढुंगा हानेका थिए । ढुंगा लागेर गोदाममा रहेको गाडीको सिसा समेत फुटेको छ भने उद्योगका तीन जना कर्मचारी घाईते भएका छन् ।

स्थानीयले ढुंगामुढा गरेको सूचना पाएपछि पुगेको प्रहरीलाई समेत स्थानीयले ढुंगाले हानेका थिए । दोहोरो झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थानीयलाई लखेटेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष तीलक श्रेष्ठले स्थानीयको मागलाई वेवास्ता गरेका कारण स्थिति विग्रिएको बताउँछन् । ‘ गोदाम घरमा मेसिन जडान गरेर उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गरेको छ । त्यसैको विरोधमा स्थानीयले गोदाममा ताल्चा पनि लगाएका हुन् ।

दुई दिन अघि मात्रै मेसिन नचलाउने सहमतिमा खोलिएको हो ।’ उनले भने ‘ सहमति विपरित उद्योगले मेसिन चलाउन खोजेको भनेर स्थानीयले ढुंगा हानेछन् । त्यसपछि झडप भयो ।’

उद्योगले स्थानीयसँग गरेको सहमतिलाई तोडेर अघि बढ्न खोज्नु र स्थानीय ढुंगामुढामा उत्रनु दुवै गलत कदम भएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले स्थिति सामान्य भईसकेको जानकारी दिए ।

उद्योगको गोदाममा स्थानीयले ताला लगाउने, खोल्ने चलिरहेको थियो । आज अचानक बाहिरबाट ढुंगामुढा गरेकाछन् । उद्योग भित्रको गाडीका सिसाहरु फुटेका छन् ।’उनले भने ‘ सुरक्षा गार्ड, सवारी चालकहरुलाई पनि चोट लागेछ । खबर पाएर पुगेका प्रहरीमाथि पनि ढुंगामुढा भयो ।

तर अहिले स्थिति सामान्य भईसकेको छ ।उद्योग र स्थानीयबीचको द्वन्द्व समाधानका लागि जिल्ला प्रशासन कार्यालय बारामा शुक्रबार बिहान ११ बजे दुवै पक्ष बसेर छलफल गर्ने सहमति भएको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.