सर्वोत्तम सिमेन्टको प्रतिकित्ता आईपीओ मूल्य ७५० किन ?
०४ चैत, काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न बिक्री गर्न बुधबार प्रबन्धक नियुक्त गर्यो । कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकसँगै प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोक्यो ।
कम्पनीले प्रतिकित्ता ७५० मूल्य तोकेको छ । त्यसका लागि कम्पनीले १५ वटा आधार प्रस्तुत गरेको छ । कम्पनीका अनुसार दैनिक क्लिंकर उत्पादन क्षमता तीन हजार टन तथा वार्षिक दुई करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्तापुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत ३ वर्षको औसत मुनाफा (करपछिको) वार्षिक १०४ करोड बढी भएको आधार प्रस्तुत गरेको छ ।
विगत तीन वर्षको औसत ईपीएस ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षको औसत ईपीएस ४५ बढी प्रक्षेपण गरिएको अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । कम्पनीको रिजर्भ माघ मसान्तसम्म २ अर्ब ३१ करोड बढी रहेको, आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशतले बैंकको ऋण भुक्तान गरी सत्प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर बनाउने कम्पनीको लक्ष्य छ । ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशत बढी हुन जाने कम्पनीको दाबी छ ।
कम्पनीले आईपीओ जारीपछि पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएको जनाएको छ । सो बापत झन्डै सय प्रतिसेयरको आम्दानी तत्कालै हुने कम्पनीको दाबी छ । सेयरधनीले तिरेको ६५० को प्रिमियमको १५ प्रतिशतले हुन आउने प्रति सेयर ९७.५० रुपैयाँ कम्पनीको रिजर्भमा रहने भएका सोबापत थप बोनस सेयर जारी हुने सम्भावनालाई पनि आधार मानेको छ ।
आईसीआरएबाट आईपीओ रेटिङ ट्रिपल बी प्लस पाएकाले कम्पनी लगानीकर्ताका लागि औसतभन्दा बढी राम्रो रहेको, आईसीआरए रेटिङअनुसार कम्पनीको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्योगको भन्दा कम रहेकाले कम्पनीले बढी प्रतिफल दिन सक्ने अर्को आधार प्रस्तुत गरेको छ ।
संस्थागत लगानीकर्ताले प्रतिकित्ता ७५० मूल्य तोकेकामा सर्वसाराणले त्यसमा १० प्रतिशत घटाई ६७५ मा पाउने भएकाले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको पनि कम्पनीले जनाएको छ । तर, १० प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिएपछि सर्वसाधारण लगानीकर्ताको सेयर मूलय ५७५ मात्रै पर्न जाने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालन लागत न्यून रहेको, डेनमार्कबाट आयातित अत्याधुनिक भीआरएम तथा रोटोस्केल प्रविधिबाट सिमेन्ट उत्पादन गर्दा विद्युत्मा ३० प्रतिशत तथा कोइला खपतमा २० प्रतिशशतसम्म बचत हुने भएकाले लागत कम पर्ने आधार कम्पनीको छ ।
कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङ्गा खानी रहेकाले हालको क्षमता वृद्धि एवं भविष्यमा प्रक्षेपण गरेको दोब्बर क्षमता वृद्धिलाई पनि पुग्ने हुनाले आम्दानीको प्रचुर सम्भावना रहेको जनाएको छ । हाल कम्पनीको सम्पत्ति दुई सय करोड रहेका पनि जनाइएको छ ।
कम्पनीले ७५० मूल्यका लागि यी आधार प्रस्तुत गरे पनि योग्य संस्थागत लगानीकर्ताले यही मूल्य कायम गर्छन् भन्ने छैन । धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको योग्यता पाएका ७४ कम्पनीले बोलकबोल विधिबाट मूल्य निर्धारण गर्नेछन् ।
कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाका बासिन्दालाई आठ लाख कित्ता, कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आईपीओ जारी गर्ने लागेको हो । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।