Advertisement

यातायातकाे रेखदेख गर्ने कम्पनीकाे हातमा कसरी पुग्याे परिक्षण ल्याब! करोडौं रुपैयाँकाे घाेटला मन्त्री देखि स्वकीय सचिव सम्मकाे हात

0 1,123

Advertisement

०३ चैत, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदार हुन् युवराज शर्मा । उनै शर्माले उपप्रधानमन्त्री ईश्वर पोखरेलको छोरो स्वराज पोखरेलको संयोजनमा पृथक् पात्रको नाममा ओम्नी समूह बनाएर कोरोनासम्बन्धी परीक्षण गर्न झिकाएको आरडीटी किट गुणस्तरहीन भनी सेनाले जिम्मा लिन नमानेपछि उसैलाई फिर्ता गरेर सो समूहको धरौटी जफत गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस समेत गरेको थियो ।

तलबमान निकै कम भएको र परिवार समेत पाल्न धौ–धौ हुने गरेको भन्दै कर्मचारीहरुले बेला बेला तलबबृद्धिको माग गर्दै आएका छन् । तर त्यही तलब खाने एकजना नायव सुब्बा सरहका सरकारी कर्मचारीले भने करोडौं रुपैयाँको शंकाष्पद लगानीमा ल्याब सञ्चालन गरेको खुलेको छ । ती पात्र हुन् हुन्– भिमकान्त भण्डारी उर्फ बिके । नेपालका सबैजसो नाम चलेका र पहुँचवाला मिडियामा पैसा तिरेर चर्को विज्ञापन गरेर प्रचार गरिरहेको बिध ल्याबका सञ्चालक र अध्यक्ष उनै भण्डारी हुन् ।

भण्डारी विकास समिति ऐन अन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नियुक्त भएका थिए । त्यसयता गएको वैशाखसम्म ३ वर्ष ७ महिनाक जागिर खाएका उनले गत साउन १ गते राजिनामा दिएका थिए ।

एक वर्षअघि अचकाली हल्लाखल्ला भएको उक्त काण्डमा हल्ला गर्ने गराउने तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनको स्वकीय सचिवालयको संलग्नता उजागर भएको छ । करोडौँ मूल्यमा आरडीटी किट सरकारले फिर्ता गरेपछि ओम्नी समूहले उक्त किट प्रयोग गर्न मिल्ने ल्याब मेसिन झिकाएर राजधानीको ललितपुरको यूएन पार्कअगाडि बिध ल्याब स्थापना गरेर सञ्चालन गरेको थियो । उक्त ल्याब सञ्चालन गर्ने कम्पनी बिध म्यानेजमेन्ट प्रालि भने कम्पनी रजिष्ट्रार कार्यालयमा यातायातसम्बन्धी पूर्वाधार निर्माण गर्ने उद्देश्यले स्थापित भएको पाइएको छ ।

सोही ल्याबलाई सरकारले गत फागुन ५ गते थाइराइड, सुगरलगायत रोग परीक्षण गर्ने ए लेभलको ल्याबको अनुमति दिएको छ । बिध ल्याबले उतिबेला ओम्नीले झिकाएको आरडीटी किट प्रयोग गरेर प्रतिव्यक्ति सुरुमा चार हजार रुपैयाँ र पछि दुई हजार रुपैयाँमा कोरोना भाइरस संक्रमणको परीक्षण गरेको थियो । कतिपयले बिध ल्याबले आरडीटी किटको सदुपयोग गरेको भनिए पनि वास्तवमा त्यसबाट बिधले करोडौं रुपैयाँ कमाएको थियो ।

ह्वाइट हाउस कलेज र अल्फाबिटा कलेजका सञ्चालक समेत रहेका प्रधानमन्त्री केपी ओलीका नातेदार युवराज शर्मा र मेडिकल माफियाको रुपमा परिचित विशाल पण्डित पर्दापछाडि रहेर आरडीटी किट झिकाउने उक्त ओम्नी समूहको वास्तविक मालिक भए पनि कागजी रुपमा भने गुल्मीका सामान्य नागरिक तथा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयमा कार्यरत भीमकान्त भण्डारी र दिपेश न्यौपानेलाई देखाइएको छ ।

उक्त कम्पनी सुरुमा भण्डारीका भाइ विवश भण्डारी र जग्गा दलाल ध्रुव मैनालीको नाममा थियो । सुरुमा अधिकृत पुँजी २५ लाख रुपैयाँ रहेको बिध म्यानेजमेन्ट प्रालिको सेयर नामसारी भएपछि भने पुँजी घटाएर २० लाख बनाइएको छ । नयाँ सेयर सदस्य रहेका भीमकान्त र दिपेश न्यौपानेको नाममा आधा आधा सेयर बाँडफाँट भएको कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा देखिन्छ । भीमकान्तले १० लाख रुपैयाँ र दिपेश न्यौपानेले १० लाख रुपैयाँ चुक्ता पुँजी जम्मा गरेको समेत रेकर्डमा देखिन्छ ।

भण्डारी विकास समिति ऐनअन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र।

झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नायब सुब्बा (पाँचौँ) नियुक्त भएका थिए । त्यसयता गएको वैशाखसम्म तीन वर्ष सात महिनाका जागिर खाएका उनले गत साउन १ गते राजीनामा दिएका थिए । तर, उनलाई तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बल मिच्याइँ गरेर कर्मचारी प्रशासनमा सरुवा गरिदिएका थिए । आफ्नो स्वकीय सचिवालयमा राख्नकै लागि उनलाई सिंहदरबार सरुवा गरिएको थियो । प्रतिष्ठान ऐनअनुसार जागिर खाएका यस्ता कर्मचारीले प्रशासनमा सरुवा हुन पाउने नियम नै छैन ।

पुनको सचिवालयमा रहँदा भण्डारीले आर्थिक स्रोत संकलन गर्न संयोजन गर्ने गरेका थिए । त्यसपछि स्थानीय विकासमन्त्री बनेका हितराज पाण्डेले समेत भण्डारीलाई नै स्वकीय सचिव राखेका थिए । त्यहाँ रहँदा जिल्लाहरुमा योजना पठाउने नाममा उनले कमिसनको धन्दा चलाएका थिए । एलडीओ सरुवामा समेत उनले कमिसन लिने गरेको उनी निकट स्रोतले बताएको छ ।

त्यसपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी आशा कोइरालाले पनि भण्डारीलाई नै स्वकीय सचिवालयमा राखेकी थिइन् । ओली सरकारबाट राजीनामा दिनुअघि लामो समय ऊर्जामन्त्री बनेका वर्षमान पुन मगरले फेरि भण्डारीलाई नै स्वकीय सचिवालयमा ल्याएका थिए । पुनको सचिवालयमा रहँदा भण्डारीले पुरानो तरिकाले काम थालेका थिए । वर्षमान पुन ऊर्जामन्त्री भएकै समयमा नेपालसहित विश्वभर कोरोना महामारी आएको थियो । त्यसको परीक्षणका लागि सरकारले ओम्नी समूहसँग आरडीटी किट किनेर परीक्षण गर्ने निर्णय गरेको थियो । यसरी ओम्नी समूहसँग किट खरिद गर्दा मूल्य बढाएर करोडौँ घोटाला गरेको भनी तत्कालीन सत्तारुढ नेकपाकै प्रचण्ड पक्षले प्रधानमन्त्री ओली पक्षको धूवाँधार विरोध गरेको थियो ।

ठूला नेतासँग साँठगाँठ
तर उक्त विरोधका बाबजुद पनि अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसमाथि छानबिन थालेको छैन । त्यतिबेलाका अख्तियार प्रमुख नवीन घिमिरे उपप्रधानमन्त्री पोखरेलका नातेदार थिए । घिमिरेको सालीको छोरी उपप्रधानमन्त्री पोखरेलको छोरो स्वराज पोखरेलकी श्रीमती हुन् । उनी उपेन्द्र कोइरालाकी छोरी हुन् । त्यही नाताको कारण अख्तियारले उक्त काण्डको छानबिन नगरेको धेरैले आशंका गर्दैै आएका छन् ।

समय बित्दै जाँदा उक्त ओम्नी घोटालामा माओवादी पक्षका ऊर्जामन्त्री वर्षमान पुनकै स्वकीय सचिवालय सदस्यको प्रत्यक्ष संलग्नता रहेको उजागर भएपछि सरोकारवाला सबै आश्चर्यचकित भएका छन् । ‘देखिँदा भीमकान्त भण्डारी भए पनि ४० करोडभन्दा बढी लगानी वर्षमान पुनकै हो ।

भीमकान्तको त्यतिको लगानी गर्ने हैसियत नै छैन । २८ हजार रुपैयाँ तलब खाने सुब्बाले त्यतिका करोड रकम कहाँबाट ल्याए ?’, पुनकै सचिवालयमा कुनै समय काम गरेका एक व्यक्ति भन्छन्, ‘हामीसँगै काम गरेका भीमकान्त त देखिएका पात्र मात्रै हुन् । उनीसँगै सेयर साझेदार रहेका दिपेश न्यौपाने देखिएका पात्र हुन् । उनका छद्म लगानीकर्ता मेडिकलमाफिया विशाल पण्डित हुन् ।’

विशेष स्रोतका अनुसार विध ल्याब स्थापनाका केही गोप्य बैठकहरुमा मेडिकल माफिया पण्डित उपस्थित हुने गरेका थिए । कागजी रुपमा भण्डारीको स्वामित्व रहेको बिध ल्याबले ओम्नीकै २२ करोड ८५ लाख ६१ हजार पाँच सय ६० रुपैयाँको आरडीटी किट खरिद गरेर सरकारलाई बिक्री गरेको नाटकीय रेकर्ड भेटिएको थियो । उक्त ल्याबमा निर्माणमा मात्रै १५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको ल्याबकै एक प्राविधिक बताउँछन् ।

शाखाको रुपमा पोखरामा समेत बिध ल्याब सञ्चालन हुँदै छ । उक्त ल्याबलाई समेत रातारात नाटकीय रुपमा अनुमति दिइएको पाइएको छ ।‘भण्डारीको नाममा ४० करोडभन्दा धेरै लगानी देखिन्छ’, उनीसँग निकट एक व्यक्ति भन्छन्, ‘त्यसबाहेक उनले काठमाडौंमै तीन करोडभन्दा धेरै मूल्य पर्ने घर समेत खरिद गरेको तस्बिर भेटिएको छ ।’गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत छैन ।

२०७१ माघ २२ गतेसम्मको सम्पत्ति विवरणअनुसार उनको परिवारसँग २० रोपनी १२ आना जग्गा तथा नगद र गरगहना समेत बढीमा पाँच लाख ४० हजारबराबरको जिन्सी रहेको देखिन्छ । त्यसयता छ वर्षको अवधिमा व्यापारमा उनको करोडौँ लगानी गर्ने हैसियत कसरी बन्यो, सम्बन्धित निकायले छानबिन गरे सत्यतथ्य पत्ता लाग्न सक्छ ।

निजामती सेवामा खरिदार तहको कर्मचारी उनकी श्रीमती विमला भण्डारी पन्थी २०७१ माघ २२ गते बुझाएको सम्पत्ति विवरणअनुसार भीमकान्तका बुबाको नाममा एक रोपनी बारी, दुई रोपनी खरबारीसहित तीन रोपनी जग्गा छ । हजुरबुबा बालु भण्डारीको नाममा १४ रोपनी पुख्र्यौली बारी थियो ।

सबै परिवारको जम्मा गर्दा उनको परिवारसँग २० रोपनी १२ आना जग्गा रहेको देखिन्छ । स्रोतका अनुसार उनले ती जग्गा बैंकमा राखेर ऋण समेत लिएका छैनन् । त्यति मात्रै होइन २० लाख चुक्ता पुँजी भएको उक्त कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण नै लिए पनि केही लाख मात्रै पाउनसक्छ । प्राप्त जानकारीअनुसार भण्डारी त्यस्ता सरकारी कर्मचारी हुन् जो नियुक्त भएपछि साढे ३ वर्षमा जम्मा १० दिनमात्र आफ्नो कार्यालयमा हाजिर भए र बाँकी समय सिंहदरबारभित्रै बिताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.