Advertisement

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको सरुवा

0 501

Advertisement

०३ चैत, काठमाडौं । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको व्यापक सरुवा भएको छ । विभागीय प्रमुखको हैसियत हुने कार्यकारी निर्देशकको जिम्मेवारीमा गभर्नर महाप्रसाद अधिकारीले सोमबार व्यापक हेरफेर गरेका हुन् । डा. निलम ढुंगाना र बमबहादुर मिश्र कार्यकारी निर्देशक डेपुटी गभर्नरमा नियुक्त भएसँगै रिक्त स्थान मिलाउँदै २ जना निर्देशकलाई कायम मुकायमको जिम्मेवारी समेत दिएका छन् । उनीहरुसँगै ११ जनाको जिम्मेवारी परिवर्तन भएको छ ।

गभर्नरले तोकेको नयाँ कार्यविभाजन अनुसार हाल बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको रिक्त ठाउँमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई लगिएको छ ।

त्यस्तै, हाल विकास बैंक सुपरिवेक्षण विभागमा रहेका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सरुवा गरिएको छ ।

बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभागमा पठाइएको छ । डा. निलम ढुंगाना डेपुटी गभर्नर भएपछि यो विभाग कार्यकारी निर्देशकविहीन थियो । शाक्यलाई राष्ट्र ऋणमा पठाएसँगै रिक्त भएको बैंकिङ विभागमा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरलाई पठाइएको छ ।

त्यस्तै, सम्पत्ति सेवा विभागमा रहेका सुमनकुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाइएको छ । लघुवित्त सुपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारका रुपमा काजमा अर्थ मन्त्रालयमा खटिएका उनलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको हो ।

अहिले जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई विदेशी विनिमय विभागमा पठाइएको छ । बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएसँगै यो विभाग रिक्त थियो । सोही विभागमा निर्देशक रहेका तुल्सीप्रसाद घिमिरेलाई कामु कार्यकारी निर्देशक बनाएर जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

उता, रामबहादुर मानन्धर बैंकिङ विभागमा सरुवा भएपछि खाली रहेको संस्थागत योजना विभागमा हाल मुद्रा व्यवस्थापन विभाग निर्देशक रहेका दयाराम शर्मा पंगेनीलाई पठाएर कामु मुकर्रर गरिएको छ ।

कार्यकारी निर्देशकको व्यापक सरुवाबाट निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ पुरस्कृत भएका छन् । हाल कनिष्ठ निर्देशक रहेका खरेललाई अप्रत्यक्ष रुपमा अनुसन्धान विभागको कायम मुकायम हुनेगरी व्यवस्था मिलाइएको छ ।

अहिले अनुसन्धान विभागमा सरुवा गरिएका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ काजमा छन् । अर्थमन्त्रीमा विष्णु पौडेल रहेसम्म उनी फिर्ता हुने छैनन् । डा. श्रेष्ठले तत्कालै मन्त्रालयबाट फिर्ता हुने योजना नभएको बताए । ‘यहाँबाट बिदा भएपछि मेरो जाने ठाउँ त राष्ट्र बैंक नै हो । तर, अहिले नै फर्किन लागेको भने होइन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने ।

श्रेष्ठ राष्ट्र बैंकमा नफर्केसम्म अनुसन्धान विभागमा रामशरण खरेल नै वरिष्ठ निर्देशक हुनेछन् । सो अवस्थामा यो विभागको कायम मुकायमको जिम्मेवारी उनैले पाउनेछन् । खरेललाई कामु बनाउनकै लागि काजमा रहेका श्रेष्ठलाई सो विभागमा सरुवा गरिएको आरोप समेत कर्मचारीहरु लगाउँछन् । ज्वाइँलाई नयाँ जिम्मेवारी दिएर गभर्नर अधिकारीले आफूलाई गभर्नर बनाउने खतिवडाको गुन तिरेको आरोप समेत राष्ट्र बैंकका कर्मचारीहरु लगाउँछन् ।

उता, अर्को शक्तिशाली विभागको रुपमा रहेको जनशक्ति व्यवस्थापन विभाग समेत अहिले सबैभन्दा कनिष्ठ कायम मुकायमलाई सुम्पिएको छ । कामु कार्यकारी निर्देशक भएर सो विभागको जिम्मेवारी पाएका घिमिरे डा. युवराज खतिवडाका छिमेकी समेत हुन् । उनलाई समेत खतिवडाकै इच्छाअनुसार शक्तिशाली बनाइएको दाबी राष्ट्र बैंक स्रोतको छ ।

त्यसो त, राष्ट्र बैंकका केही अधिकारीहरु कायम मुकायमलाई शक्तिशाली विभाग दिनुको अर्थ विभागीय नियन्त्रण गभर्नरले आफ्नो हातमा लिनुको अर्थमा समेत लिन्छन् । कनिष्ठलाई विभाग दिँदा उनीहरुले आफैं निर्णय लिनसक्ने क्षमता नहुने भएकोले यसमा आफ्नो नियन्त्रण हुने बुझाइले गभर्नर अधिकारीले यस्तो गरेको स्रोतको दाबी छ ।

यसअघि डा. खतिवडा गभर्नर हुँदा पनि यस्तै अभ्यास गरेका थिए । त्यतिबेला कायम मुकायम रहेका जनक बहादुर अधिकारी र शम्भु थापालाई शक्तिशाली विभाग दिएर खतिवडाले त्यस्तो विभागमा आफ्नो नियन्त्रण स्थापित गरेका थिए । अहिले गभर्नर अधिकारी त्यही पथमा अघि बढेको कर्मचारीहरुको आरोप छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.