Advertisement

कोरोनाविरुद्धको खोप आउन ढिला, दोस्रो डोज प्रभावित त हुँदैन ?

0 840

Advertisement

खोप सेवा विस्तार नगरी दोस्रो डोजका लागि सुरक्षित राख्न विज्ञको सुझाव

०१ चैत, काठमाडौं । कोरोनाविरुद्धको खोप आउन ढिला हुने भएसँगै नेपालमा खोप अभियान प्रभावित हुने सम्भावना बढेको छ । माघ १४ देखि सुुरु भएको खोप अभियानअन्तर्गत पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिन र उमेर समूहका आधारमा खोप सेवाको दायरा बढाउन पर्याप्त खोप नभएसँगै खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।

भारतीय खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटले नेपाल सरकारका लागि सशुल्क उपलब्ध गराउने खोपअन्तर्गत दोस्रो लट पठाउन आनाकानी गरेपछि अन्योल बढेको हो । सरकारले सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेकोमा १० लाख डोज पठाइसकेको छ भने बाँकी १० लाख डोज कहिले आउने हो भन्ने अझै टुंगो लाग्न सकेको छैन ।

पर्याप्त खोप नहुँदा खोप अभियाननै प्रभावित हुन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । तत्काल खोप आउने सम्भावना कम भए खोप अभियान विस्तार गर्न छाडेर दोस्रो डोजका लागि सुरक्षित राख्नुपर्ने उनीहरुको भनाइ छ ।

सरकारले पहिलो डोजको खोप लगाएकाहरुलाई ८ देखि १२ हप्ताभित्र दोस्रो डोजको खोप लगाउने योजना बनाएको छ ।

अभियानको सुरुवातमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, कारागारका कर्मचारी, एम्बुलेन्स, शववाहन चालक, कैदीलाई खोप लगाइएको थियो । सरकारको लक्ष्यअनुसार खोप लगाउनेको संख्या नपुगेपछि दायरा बढाएर पहिलो चरण अन्तर्गत पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई समेत खोप लगाइएको थियो ।

भारत सरकारको अनुदान सहयोगमा नेपाललाई दिएको १० लाख खोपमध्ये पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई खोप लगाइएको थियो । जसअनुसार मन्त्रालयसँग ५ लाख ६१ हजार १ सय २१ डोज खोप बाँकी थियो ।

त्यसपछि सरकारले ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरेको थियो । यसअघि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा ५५ वर्षदेखि ७४ वर्षसम्मका नागरिक, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये विभिन्न दीर्घ रोग भएका व्यक्तिलाई खोप दिने योजना बनाएको थियो । तर, सरकारले भारत सरकारसँग सम्झौता गरेअनुसार खोप नआएपछि ६५ वर्षभन्दा माथिका नागरिकलाई मात्र खोप दिन सुरु गरिएको हो । चैत ४ गतेपछि ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोप लगाइदिने सरकारको योजना भए पनि खरिद गरेको खोप समयमै नआइपुग्दा अभियान प्रभावित हुने अवस्था आएको हो ।

कोभिशिल्ड खोप दुई डोज लगाउनुपर्छ । खोप अभियानको पहिलो चरणमै खोप लगाउनेहरूले ढिलोमा अबको ६ हप्ता अर्थात् डेढ महिनाभित्र दोस्रो डोज लगाइसक्नुपर्छ । कोभिड खोप सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाइदिन सरकारलाई सुझाव दिएको थियो । तर, सरकारले पहिलो डोज लगाएको १० देखि १२ हप्ताको अवधिमा दोस्रो डोज खोप लगाइदिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

पहिलो डोज खोप लगाएकाहरुका लागि १२ हप्ताभित्र दोस्रो डोजको खोप लगाउने योजना बनाएको सरकारसँग दोस्रो डोजका लागि पर्याप्त खोप मौज्दात छैन । खोप निर्माता कम्पनीले समयमै खोप उपलब्ध नगराएमा दोस्रो डोज खोप लगाउने प्रतीक्षा सूचीमा रहेकाहरु नराम्ररी प्रभावित हुन सक्छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार चैत ४ गतेबाट सञ्चालन हुने खोप अभियानलाई निरन्तरता दिन र दोस्रो डोज लगाउनुपर्नेका लागि आवश्यक खोप समयमै भित्र्याउन सरकारले प्रयास गरिरहेको छ । दोस्रो चरणको खोप लगाउने समयसम्म नेपालले खोप प्राप्त गरिसक्ने उनको विश्वास छ ।

नेपालले खरिद गरेको २० लाख डोज कोभिशिल्ड खोपमध्ये बाँकी १० लाख डोज खोप कहिलेसम्म आइपुग्छ भन्नेबारे भारतको सिरम इन्स्टिच्युटले कुनै जवाफ नै नदिएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी बताउँछन् ।

भारत सरकारको अनुदान सहयोगमा कोरोनाविरुद्धको खोप १० लाख डोज, सरकारले खरिद गरेको १० लाख डोज र कोभ्यासमार्फत ३ लाख ४८ हजार डोज गरी २३ लाख ४८ हजार डोज खोप नेपालमा भित्रिएको छ ।

बिहीबारसम्ममा १३ लाख ४८ हजार ८८ जनाले खोप लगाइसकेका छन् । अब सरकारसँग समग्रमा ९ लाख ८८ हजार १ सय १२ डोज खोप बाँकी छ । हाल ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि खोप अभियान सञ्चालन भइरहेको छ । सरकारको ६५ वर्षभन्दा माथिका १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।

खोप अभियानमा ज्येष्ठ नागरिकहरूको राम्रो सहभागिता भएको सरकारको भनाइ छ । हालसम्म ९ लाख ११ हजार ९ जनाले खोप लगाएका छन् भने लक्ष्यअनुसार अझै ७ लाख ८८ हजार ९ सय ९१ जनालाई खोप दिन बाँकी छ ।

‘दोस्रो डोज प्रभावित हुँदैन’

भारतबाट कहिलेसम्म खोप आइपुग्न भन्ने ठेगान नभए पनि सरकारले दोस्रो डोज खोप लगाउने कार्यक्रम प्रभावित नहुने र निर्धारित समयभित्रै सबैले दोस्रो डोज लगाउन पाउने दावी गरेको छ ।

महाशाखा प्रमुख डा. तिंकरीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धकोे दोस्रो डोज १० हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेअनुसार नै उक्त समयभित्रै सबैले दोस्रो डोजको खोप प्राप्त गरिसक्ने छन् ।

यसअघि सरकारले पहिलो डोज खोप लगाएको २८ दिनपछि दोस्रो डोज दिने बताए पनि पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो डोज लगाउँदा झन् प्रभावकारी हुने देखिएकाले सोहीअनुसार नेपालमा पनि दोस्रो डोज लगाउने समयावधि परिवर्तन गरिएको बताइन्छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार खोपको दोस्रो मात्रा ढिलो लगाउँदा शरीरमा एन्टिबडी प्रभावकारी हुने अध्ययनले देखाएको हो ।

चीनबाट ८ लाख डोज खोप अनुदानमा आउँदै

चीन सरकारले नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने भएको छ । चीन सरकारले अनुदानमा खोप दिए पनि चीनबाट नेपालकै खर्चमा खोप ल्याउनुपर्ने भएको छ ।

त्यसका लागि सरकारले प्रक्रिया अगाडि बढाएको प्रमुख डा. तिंकरीको भनाइ छ । ‘नेपाल आफैले खोप चाइनाबाट ल्याउँदा करिब दुई करोड लाग्छ,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनले चाइनाबाट स्वास्थ्यसम्बन्धी सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको छ, त्यही विमानमा चीनले दिने खोप ल्याउँदा सरकारलाई फाइदा हुने भएकाले हामी त्यसबारे पनि छलफल गरिहेका छौँ ।’

विश्व स्वास्थ्य संगठनको विमानमा ल्याउन नमिलेको अवस्थामा भने नेपाल एरलाइन्समार्फत खोप ल्याउने प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.