ग्राण्डी काण्डः व्यवस्थापनको सम्भावित परिवर्तनका बाँछिटा, लफडै-लफडाकाे भुमरीमा रुमालिएकाे ग्राण्डी…

0 762

२९ फागुन, काठमाडौं । हुने खानेहरुकाे उपचार गर्ने थलाे अर्थात, धापासी हाइटस्थित ३२ रोपनीमा जग्गामा फैलिएको १५ तले आलिशान भवन । देशकै नम्वर वान कर्पोरेट अस्पताल, झण्डै १ हजार कर्मचारी, देशकै गनेचुनेका चिकित्सकहरुको सशक्त टिम, आकर्षण सेवासुविधा सहितको भौतिक पूर्वाधार र उपकरण भएको सुविधासम्पन्नले भरीभराउ अस्पताल ।

यति हुँदाहुँदै पनि नेपाली हेल्थ सेक्टरमा बेञ्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यवस्थापनमा यतिखेर उकुसमुकुस छ । मुख्य दुई लगानीकर्ता लामो समयदेखि बाहिरै रहेर सञ्चालन भइरहेको यस अस्पतालको सम्भावित व्यवस्थापन टिममा हुने फेरबदलको नतिजा के हुने हो भन्ने कुराले नेपालको ‘कर्पोरेट हेल्थ सेक्टर’लाई धेरथोर प्रभावित गर्ने निश्चित छ ।

व्यवस्थापनको सम्भावित परिवर्तनका बाँछिटा

अस्पतालका परिकल्पनाकार एवं सेयरहोल्डर डा. चक्रराज पाण्डे र प्रमुख लगानीकर्तामध्येका एक व्यवसायिक समूह ज्योति समूहका डा. रुपज्योतिको तालमेल नहुँदा बढेको किचलो अदालतसम्म पुगेको थियो ।

डा. पाण्डे र ज्योति समूहको लगानीको लफडा अन्त्य गर्नका लागि सेयर धनीका रुपमा सन् २०१५ मा डा. उपेन्द्र महतो ग्राण्डीमा छिरेका थिए । ५१ प्रतिशत सेयर लिएर ग्राण्डी छिर्ने सहमति गरेर लगानी गर्न सुरु गरेका डा. महतोले कबोल गरेको पुँजी पूरै जुटाउन नसकेपछि फेरि अर्को किचलो थपिएको थियो । पूरा पैसा लगानी गर्न नसकेतापनि डा. महतो पनि ज्योति समूहकै हाराहारीको लगानीकर्ता हुन् ।

डा. महतो ग्राण्डीमा छिर्दै गर्दा व्यवस्थापनको विवाद समाधान हुने अपेक्षा गरिएकोमा उल्टो उल्झन थपिदैं गयो । डा. महतोसँगको किचलो लिएर दर्ता भएको मुद्धामा जिल्ला अदालत काठमाडौंले केही समयअघि फैसला गरेपछि उनी सेयर साझेदार बन्ने पक्का भएको छ । २५ प्रतिशत सेयरको लगानीकर्ताको रुपमा डा. महतोको लगानीले वैधानिकता पाएपछि व्यवस्थापन परिवर्तन लगभग पक्कापक्की भएको स्रोतको दावी छ ।

अहिले ग्राण्डी इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा दिपक कुँवर छन् । ७ सदस्सीय सञ्चालक समितिमा विजय राजभण्डारी, डा. चक्रराज पाण्डे, वीरेन्द्रबहादुर श्रेष्ठ, साधुराम पाण्डे, सुवर्णकृष्ण मल्ल र डा. सविना श्रेष्ठ विजुक्छे छन् । अस्पतालको कुल सेयरको लगानीका आधारमा झण्डै २५ प्रतिशत ज्योति समूह, २५ प्रतिशत डा. महतो र अहिलेको सञ्चालक समिति र अन्य ११७ जना सेयर होल्डरको ५० प्रतिशत सेयर हुन जान्छ । ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता रहेका छन् । अस्पतालको सञ्चालक समितिमा समेत रहेका मेडिकल डाइरेक्टर डा. पाण्डे व्यवस्थापन परिवर्तन हुनु कुनै पनि संस्थाको जीवनमा सामान्य भएको बताउँछन् ।

‘ठूला लगानीकर्ताहरु सञ्चालक समितिमा आएर आफ्नो प्रभाव खोज्नु स्वभाविक हो,’ डा. पाण्डे भन्छन्, ‘व्यवस्थापनमा आएर इथिकल रुपमा संस्था सञ्चालन गर्ने हो भने ग्राण्डीको भविष्य उज्जवल छ ।’ व्यवस्थापन परिवर्तन हुने सम्भावनालाई इगिंत गर्दै अर्का प्रमुख लगानीकर्ता ज्योति समूहका डा. रुपज्योति अस्पतालको सञ्चालक समिति परिवर्तन हुनैपर्ने अवस्थामा पुगेको बताउँछन् । संस्थापक अध्यक्ष समेत डा. रुपज्योति सञ्चालक समिति परिवर्तन हुँदा ज्योति समूहको सहभागिता प्रभावकारी रुपमा हुने बताउँछन् ।

‘ठूलो लगानीकर्ता ज्योति समूह

नयाँ सेयर पनि कायम हुने अवस्थामा छ । अब सञ्चालक समिति परिवर्तन हुन्छ र ज्योति समूह प्रभावकारी भूमिकामा व्यवस्थापनमा सहभागी हुन्छ,’ उनी भन्छन् । व्यवस्थापनको सम्भावित परिवर्तनका बाँछिटा व्यवस्थापन परिवर्तन भएमा हुन सक्ने सम्भावित असरहरु छिटफुट रुपमा देखिन थालिसकेका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई व्यवसायभन्दा पनि आफ्नो ‘फेलोसोपी’को रुपमा लिएका डा. पाण्डेले सम्भावित परिवर्तनलाई आँकलन गरेरै हुनुपर्छ एक महिनाअघिमात्रै लाजिम्पाटमा छुट्टै अनामिवा क्लिनिक सुरु गरिसकेका छन् । तर, हेल्थआवाजसँगको कुराकानीमा डा. पाण्डेले क्लिनिक र ग्राण्डीको व्यवस्थापन परिवर्तन फरक कुरा रहेको दावी गरे ।

‘स्पोर्टस क्लिनिक मेरो आफ्नो इन्टेष्टको विद्या हो । त्यहाँ यो कुरा अप्लाई गर्न सकिदैन् ।’ डा. पाण्डे ग्राण्डीको हरेक इट्टामा आफ्नो पसिना रहेको बताउँदैं अहिले आफूले ग्राण्डी छाड्ने कुरा हल्ला मात्रै भएको बताउँछन् । उनले नयाँ व्यवस्थापन आएर सञ्चालन गरेतापनि आफू पछाडि बसेर अस्पतालको समृद्धिमा सदैव टेवा पु¥याइरहने बताए । तर, डा. पाण्डे निकट स्रोतकाअनुसार ठूला लगानीकर्ताहरुले व्यवस्थापन प्रभाव पार्ने गरी इन्ट्रीको तयारी गरेपछि सेफ ल्याण्डिङका लागि सहज होस् भनेर नै क्लिनिक सुरुवात गरेका हुन् ।

‘उहाँ जतिको चिकित्सकले बदलिएको व्यवस्थापन आफू अनुकूल नभएमा छोडेर अर्को अस्पतालमा जाने कुरा भएन्,’ डा. पाण्डे निकट स्रोत भन्छ, ‘उहाँको नामै सुनेर बिरामीहरु ओइरिइहाल्छन् । त्यही भएर क्लिनिक सुरु गरेको हुनुपर्छ ।’ अस्पतालको परिकल्पना, स्रोत जुटाउनेदेखि अस्पताल स्थापना र सेटिङसम्म डा. पाण्डेको भूमिका प्रमुख रहेको एक सञ्चालक बताउँछन् । त्यो कुरा कसरी पनि पुष्टि हुन्छ भने डा. पाण्डेसँग अस्पतालको व्यवस्थापनको कसरी गर्ने भन्नेमा कुरा नमिलेपछि बाहिरिएका पूर्व अध्यक्ष रुपज्योतिले पनि आफ्नो अन्तर्वार्ता त्यो कुरा उल्लेख गरेका छन् ।

अनलाइनखबरमा प्रकाशित एक अन्तर्वार्तामा उनले आफूले थाइल्याण्डको समितिभेज अस्पतालको व्यवस्थापनलाई गुहारेर ग्राण्डीको व्यवस्थापनको जिम्मेवारी दिन खोजेको तर व्यवस्थापनका अन्यबाट सहयोग नभएपपछि बाहिरिएको उल्लेख गरेका छन् ।

ग्राण्डी अस्पताल स्रोतकाअनुसार व्यवस्थापनमा परिवर्तन आएर यदि डा. पाण्डे मेडिकल डाइरेक्टरबाट बाहिरिए भने त्यसको केही असर ग्राण्डी अस्पतालको सञ्चालनमा पनि देखिनेछ । ‘जे भएपनि अहिलेसम्म ग्राण्डीमा डा. पाण्डेको व्यवस्थापन मुख्य छ । मुख्य मान्छे नै बाहिरिएपछि केही समय सञ्चालनमा र व्यवस्थापनमा त समस्या आउने नै भयो,’ अस्पताल स्रोतले भन्यो ।

रुपज्योतिसँग डा. पाण्डेको सम्बन्ध चिसो भएपनि अर्का २५ प्रतिशत सेयर भएका डा. महतोसँग भने उनको सम्बन्ध सुमधुर छ । त्यसकारण रुपज्योति पुनः सञ्चालक समितिमा इन्ट्री हुँदा डा. पाण्डे तत्काल ग्राण्डीबाट नबाहिरिने सम्भावना पनि उतिकै छ ।

कसरी सुरु भयो ग्राण्डी इन्टरनेशल हस्पिटल ?

टर्कीबाट विशेषज्ञता हासिल गरेर फर्केपछि डा. पाण्डेले केही समय बीएण्डबी र मेडिकेयर अस्पतालमा हाडजोर्नी विशेषज्ञका रुपमा काम गरे । देशमा केही नयाँ गर्न फर्केको बताउने उनी केही समय जागिर गरेपछि ग्राण्डीको परिकल्पना जुटे । उपचारकै शिलशिलामा ज्योति समूहका डा. रुपज्योतिसँग उनको भेट भयो । त्यही बेला डा. पाण्डेले रुपज्योतिसँग अस्पताल खोल्न लागेको र लगानी गर्न प्रस्ताव गरे । त्यही प्रस्तावपछि डा. रुपज्योति अस्पतालमा लगानी गर्न तयार भए ।

विभिन्न व्यवसायीलाई आफूले कल्पना गरेको अस्पतालसँग जोड्ने काम डा. पाण्डेले गरे । उनले प्रमुख लगानीकर्ताका रुपमा ज्योति समूह र अन्य १ सय २४ जना लगानीकर्ता भेला पारेर ३ अर्ब प्रोजेक्टका रुपमा सन् २०१० मा ‘केयर टु क्योर’ भन्ने स्लोगन राखेर २ सय बेडको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल निर्माण प्रारम्भ गरे ।

ओपनिङ भने सन् २०१३ को जनवरीमा भएको हो । निर्माणका क्रममा प्रोजेक्टको रकम बढ्न गयो । अस्पताल सञ्चालनमा आएको दोस्रो वर्षमा नै अध्यक्ष डा. रुपज्योतिले अस्पताल घाटामा गएको भन्दै किचलो सुरु गरे । तर, उनको दावी भने फरक छ । यस सम्बन्धमा डा. रुपज्योति भने अस्पतालको व्यवस्थापनको अनुभव आफूमा नभएको, व्यवस्थापनमा आफू एक्लै परेको, अन्य व्यवस्थापनमा रहेकाले सहयोग नगरेकोजस्ता कारण आफू बाहिरिनु परेको बताउँदैं आएका छन् ।

विवादै—विवाद
अस्पताल निर्माणका क्रममा व्यवस्थापकीय कमजोरी भएर करिब ७० करोड बढी खर्च भएको गुनासो गर्दै सञ्चालक समितिमा रहेका डा. रुपज्योतिले थाइल्याण्डको बैककस्थित समितिभेज अस्पताललाई ग्राण्डीको व्यवस्थापनका लागि गुहारे । त्यहाँबाट ग्राण्डीको व्यवस्थापन हेर्ने गरी डा. जिरासद सिइओ बनेर आए । तर, उनी एक हप्ता पनि टिक्न सकेनन् ।

व्यवस्थापन र उनको कुरा नमिलेपछि उनी फर्किए । उनी फर्किनुमा ज्योति समूहले डा. पाण्डे प्रमुख जिम्मेवार रहेको निक्र्यौल ग¥यो । डा. जिरासद फर्किएपछि पुनः रुपज्योतिलाई अध्यक्ष बनाइयो । तर, मेडिकल निर्देशक रहेका डा. पाण्डे र अध्यक्ष डा. रुपज्योतिको काम गर्ने तरिका अलग—अलग भयो । जसले उनीहरु दुवैबीच विवाद चुलियो ।

यही विवादको परिणाम डा. रुपज्योति अध्यक्षबाट राजीनामा दिएर ग्राण्डीको सञ्चालक समितिबाट बाहिरिए । उनले त्यसबेला आफ्नो लगानी फिर्ता मागे तर भर्खरै सुरु भएको ग्राण्डीले उक्त लगानी फिर्ता गर्नका लागि थप लगानीकर्ता भित्र्याउने रणनीति अख्तियार ग¥यो ।

ज्योति समूह बाहिरिएपछि नयाँ लगानीकर्ताका रुपमा सन् २०१५ मा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ग्राण्डीको समग्र सेयरको आधा हिस्सा लिएर भित्रिने टुंगो लाग्यो । डा. महतोले १ अर्ब ८ करोड लगानी गरेर ५१ प्रतिशत सेयर लिने सहमति भएको थियो । तर, डा. महतोले ५१ करोड मात्र रकम जम्मा गर्न सकेपछि उनलाई सेयर धनीका रुपमा भित्र्याएर डा. रुपज्योतिलाई बिदाइ गर्ने योजना असफल भयो ।

डा. महतोले भनेजति पैसा लगानी गर्न नसकेपछि सञ्चालक समितिले उनलाई सेयर पनि दिने कि नदिने निक्र्यौल गर्न सकेन् । पैसा फिर्ता गर्दा ब्याजसहित गर्नुपर्ने अडान डा. महतो रह्यो । र, ग्राण्डीको व्यवस्थापनले कबुलेको पैसा ल्याएमात्र सेयर दिने अडानमा बस्यो । आफ्नो लगानी ब्याजसहित फिर्ता पनि नगर्ने र सेयर पनि नदिने भएपछि डा. महतो अदालत गए ।

अदालतमा मुद्धा दायर गरेर डा. महतो आफ्नो पुरानो प्रोजेक्ट (प्रस्तावित अश्विनी मेडिकल कलेज) हाल नेपाल मेडिसिटी अस्पताल निर्माणमा लागि परे । अहिले मेगा प्रोजेक्ट मानिएको मेडिसिटी पनि सञ्चालनमा आइसकेको छ । मेडिसिटी सञ्चालनमा आएको एक वर्षपछि उनको ग्राण्डीको सेयरबारेको मुद्धाको फैसला समेत भएको छ । अर्को लफडा पनि ग्राण्डीको कायमै छ ।

लफडै- लफडा
सञ्चालक समितिबाट बाहिरिएपछि ज्योति समूहले सेयर बापत लगानी गरेको भन्दा थप बैंकबाट जमानी बसेर ऋण लिएको १ अर्ब ५० करोडको ब्याज ग्राण्डीले तिर्नुपर्ने भन्दै अदालत गुहारेको थियो । ‘त्यो मुद्धामा ग्राण्डीले ब्याज तिर्नुपर्ने फैसला भइसकेको छ,’ डा. रुपज्योतिले हेल्थआवाजसँग भने, ‘तर, अहिलेसम्म तिरेको छैन् ।’ यो लफडा अझै किनारा लाग्न सकेको छैन । डा. महतोसँगै डा. रुपज्योति सञ्चालक समितिमा पुनः इन्ट्री हुँदा यो कुरालाई कसरी हल गरिन्छ भन्ने कुराले पनि नेपाली निजी स्वास्थ्य क्षेत्रको बेञ्चमार्क मानिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भविष्यका लागि महत्वको विषय हुनेछ । हेल्थआवाजकाे सहयाेगबाट तयार पारीएकाे रिपाेर्ट।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.