कोकाकोलामा पनि एनसेलमा जस्तै पूँजीगत लाभकर छलीको आशंका

0 459

२८ फागुन काठमाडौं । कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल कम्पनीको स्वामित्व परिवर्तन गर्दा पूँजीगत लाभकर नतिरेको विषय बाहिरीएकाे छ ।

६ वर्ष अगाडि नै विदेशमा भएको यस्तो कारोबारको विषयमा कम्पनीले लुकाउँदै आएपनि स्वामित्व परिवर्तन भइसकेको खुलेकाले कागजात कब्जा गरी अनुसन्धान अघि बढाइएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए। विभागले केहि महिना अगाडि छापा मारेर कम्पनीको कागजात, कम्प्युटर, ल्यापटपसहितका सामाग्री अनुसन्धानका लागि कब्जामा लिएको थियाे।

थप कागजात र विवरण पनि मगाइएको ती अधिकारीले बताए स्राेतका अनुसार यसलाई पुष्टि गर्दै शेयर किनबेचमा पूँजीगत लाभकरसहितका विषयमा शंका लागेर अनुसन्धान भइरहेको बताएका छन्। 

सन् २०१४ मै बोटलर्स नेपालको करीब तीन चौंथाई शेयर कोकाकोला साब्को (एशिया) लिमिटेडबाट बोटलिङ इन्भेस्टमेन्ट्स ग्रुपलाई बिक्री गरेको र यसको कारोबार विदेशमै भएको भेटिएको विभागका एक अधिकारीले बताए।

कोकाकोला

बोटलर्स नेपालमा अहिले ७६.१६ प्रतिशत शेयर मुल कम्पनी कोकाकोला साउथवेस्ट एशिया होल्डिङ्सको छ। २२ प्रतिशत शेयर स्वामित्व गोर्खा ब्रुअरीको छ भने सर्वसाधारण लगानीकर्तासँग १.८४ प्रतिशत शेयर स्वामित्व छ।

सरकारी निकायहरूलाई थाहा नदिई गरिएको यस्तो किनबेच कति रकममा गरिएको हो भन्ने नखुलेको तर कम्तीमा पनि रू. १ अर्बभन्दा बढी पूँजीगत लाभकर छली भएको आशंका गरिएको विभागकाे दाबि छ। नेपालको कानून अनुसार, कम्पनीको शेयर किनबेच गर्दा भएको नाफामा पूँजीगत लाभकर तिर्नुपर्छ। 

बहुराष्ट्रिय कम्पनी कोकाकोलामा पनि सन् २०१४ मै उसैगरी विदेशमै स्वामित्व परिवर्तन गरिएको फेला परेको हो।

“स्वयंकर निर्धारण प्रणाली भएकाले यस्तो किनबेच भएपछि त्यसको जानकारी सरकारी निकायलाई गराउनुपर्ने दायित्व सम्बन्धित कम्पनीको नै हो। तर, उनीहरूले त्यसलाई लुकाउँदै आएको भेटियो, स्राेतकाे दाबि छ।”

बोटलर्स नेपालअन्तर्गत बोटलर्स नेपाल (तराई) र ट्रोइका ट्रेडर्स छन्। बोटलर्स नेपाल तराईले माउ कम्पनी बोटलर्स नेपालभन्दा धेरै मुनाफा कमाउँछ। यो कम्पनीमा बोटलर्स नेपालको ९०.७८ प्रतिशत शेयर स्वामित्व छ। 

बोटलर्स नेपालको माउ कम्पनीको शेयर किनबेच भएको वर्ष नेपालमा बोटलर्स नेपालको प्रति शेयरको औसत मूल्य रू. १ हजार ६६० थियो। बोटलर्स नेपालको चुक्ता पूँजी रू. १९ करोड ४८ लाख छ। बोटलर्स नेपालले वर्षेनी रू. ५ अर्बभन्दा बढीको कारोबार गर्छ। 

सन् २०१५ मा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व टेलियासोनेराबाट एक्जिएटामा परिवर्तन गर्दा पूँजीगत लाभकर नतिरेको विषयले ठूलो विवाद निम्त्याएको थियो। पछि, एनसेल पूँजीगत लाभकर तिर्न तयार भएपनि कानूनअनुसारको सम्पूर्ण रकम भने अझै तिरेको छैन। यो मुद्दा अझै टुंगिएको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.