हराएको ४० बर्षपछि भारतको कोलकाताको जेलमा भेटिए दीपक जैसी तिम्सिना

0 637

२८ फाल्गुन, बीबीसी । घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ । तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन्।

इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले केही दिन अघि भेटेका छन्। तर कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसकेको हुँदा घर फर्कन भने पाएका छैनन्।

मार्च १५ सोमवारको दिन अदालतमा पेशी तोकिएको र उनी निर्दोष प्रमाणित भएका उनी नेपाल फर्कन पाउने बताइएको छ।

कसरी हराएका थिए दीपक?

परिवारका सदस्यहरूका अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्थे। सानोतिनो काम गर्दै गरेका दीपकको घरको आर्थिक अवस्था निकै नाजुक थियो।

एक दिन उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडे। तर त्यसपछि कहिले पनि घर फर्केर आएनन्। हराएको धेरै वर्षसम्म घर नआएपछि परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरे।

हराएको केही वर्षपछि भारतको दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्क्यो। उनीहरूले आन्दोलनमा दीपकको मृत्यु भयो भन्ने पनि सोचे।

पश्चिम बंगाल एमेचर रेडियो क्लब
कारागारमा उनलाई भेट्न गएका वकिललाई आफ्नो घर परिवारबारे यसरी लेखेर बुझाउने प्रयत्न गरेका थिए दीपकले

दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाका अनुसार नेपालका कैयौँ स्थानमा उनलाई खोजियो। व्रतबन्ध पनि नभएका दीपक बाँचेको आस मारेको उनले सुनाए।

उनले भने, “देश बाहिर खोज्ने हाम्रो हैसियत पनि थिएन। नेपालमा खोज्दा नभेटिएपछि दाजुको मृत्यु भइसक्यो भन्ने लागेको थियो।”

दीपकको अवस्था कस्तो छ?

दीपक कोलकाताको दमदम कारागारमा छन् भन्ने कुरा थाहा पाएपछि गत फागुन ८ गते काँकडभिट्टामा रहेको विश्व सेवा विस्तार मञ्च नाम गरेको संस्थाको सहयोगमा प्रकाशचन्द्र कोलकाता पुगे।

फागुन १० गते भेट्दा ‘सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो’ अवस्थामा आफ्नो दाजुलाई भेटेको प्रकाशचन्द्रले बताए। उनले भने, “शरीर कामेको, डर र त्रासले बाँचेको जस्तो अवस्थामा उहाँलाई भेटेँ।”

आफ्नो दाजु हो वा होइन भनेर प्रकाशचन्द्रले दीपकलाई परिवारका सदस्य तथा गाउँका बारेमा सोधे। उनले तिनका बारेमा बताएपछि दाजुसँग हात मिलाएको र अङ्कमाल गरेको प्रकाशचन्द्रले बताए।

दीपकसँग भेटघाटका क्रममा सुरुमा मानसिक रूपमा विचलित देखिए पनि करिब तीन घण्टाको संवादपछि उनको अवस्था केही हदसम्म सामान्य बनेको प्रकाशचन्द्रले बताए।

उनले भने, “अदालतले दाजुको मानसिक स्वास्थ्यको जाँच गर्न आदेश दिए पनि कहिले पनि स्वास्थ्य जाँचको रिपोर्ट अदालतमा पेस गरिएको रहेनछ।”

४० वर्षसम्म मुद्दा किनारा लागेन

रोजगारीको खोजीमा उनी भारतको दार्जिलिङ गएका रहेछन्। दार्जिलिङमा बस्दै जाँदा उनलाई प्रहरीले पक्राउ गर्‍यो र उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेको प्रकाशचन्द्रले बताए।

सोही मुद्दामा उनी विभिन्न जेल हुँदै अहिले कोलकाताको दमदम कारागारमा पुगेका बताइएको छ।

उनको मुद्दा ४० वर्षसम्म पनि किनारा नलागेको र सोही मुद्दाको सुनुवाइ यही सोमबार हुने बताइएको छ।

पश्चिम बंगाल एमेचर रेडियो क्लब
दीपककी आमा धनमाया र कान्छो भाइ धर्मानन्द

२०७० सालमा दीपकको नामबाट परिवारले एउटा चिठ्ठी पाएका थिए। त्यसपछि कानुन व्यवसायी सतिशकृष्ण खरेल र अरुण सिंह लगायतले प्रकाशचन्द्रलाई सम्पर्क गरे।

कारागारमा रहेका दीपक उनका दाजु हो वा होइन भनेर निर्क्योल गर्न कोलाकातास्थित महावाणिज्य दूतावासबाट पनि फोन आयो। त्यसपछि उनी कोलकाता पुगेका थिए।

परिवारका सदस्य तरङ्गित

लामो समयदेखि हराएको घरको सदस्य बाँचिरहेका छन् भन्ने खबरले इलामको माई नगरपालिका वार्ड नं १० मा बसोबास गर्ने उनका परिवारका सदस्य तरङ्गित भएका दीपकका भान्जा डा. डिएन फुँयालले बताए।

दीपककी वृद्ध आमा धनमायाको दाहिने हात काटिएको छ। अहिले कान राम्ररी सुन्दिनन् तर छोरो आउने खबरले उनी उत्साहित बनेकी छन्।

फुँयालले भने, “छोरो जिउँदो छ भन्ने खबरले हजुरआमाको मुहारमा हाँसो देखिन थालेको छ।”

दीपक भेटिएको खबरले परिवारमा खुसीयाली छाएको दीपकका भाइका छोरा गोपाल तिम्सिनाले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.