Advertisement

सेयरबजारमा नयाँ नियम आउँदै : अब एकै दिन धेरैपटक खरिद–बिक्री गर्न पाइने

0 377

Advertisement

२८ फागुन, काठमाडौं । सेयरबजारमा सर्वसाधारणको आकर्षण बढेसँगै लगानीकर्ताको माग र समयको आवश्यकताअनुरूप द्वितीय बजारमा सुधारको क्रम जारी छ । यतिवेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नियामक निकाय धितोपत्र बोर्ड बजारमा गतिविधि बढाउन विद्यमान व्यवस्थामा सुधार र नयाँ प्रयोगका सम्भावनाको खोजी गरिरहेका छन् ।

बजारको विकासका लागि लगानीकर्ताका संघ–संगठन तथा बजार विश्लेषकहरूले निरन्तर आवाज उठाउँदै आएका छन् । यस क्रममा बजार सञ्चालक नेप्सेले अन्तरदिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) लागू गर्ने तयारी गरिरहेको छ । यसका लागि नेप्सेका अधिकारीको संयोजकत्वमा अध्ययन समितिसमेत बनाइएको छ ।

समितिले नयाँ प्रयोगका सम्भावना र तिनको कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत परिवर्तनको आवश्यकताबारे अध्ययन गरिरहेको नेप्सेले जनाएको छ । विदेशका धेरै मुलुकका बजारमा अभ्यासमा रहेको यो प्रणाली कार्यान्वयनको माग लगानीकर्ताले लामो समयदेखि गर्दै आएका छन् । यसको कार्यान्वयनले बजारको आकारमा बढोत्तरी हुने विश्वास लिइएको छ ।

के हो अन्तरदिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) ?

एकै दिनको कारोबारमा एउटा व्यक्तिले एउटै कम्पनीको सेयर धेरैपटक किनबेच गर्न सक्ने व्यवस्था नै अन्तरदिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) हो । हालसम्म नेपाली सेयरबजारमा औपचारिक रूपमा आफूले किनेको सेयर खातामा आएपछि मात्र बेच्न सकिने व्यवस्था प्रचलनमा छ । यद्यपि, ब्रोकर कम्पनीहरूले दिएको सहुलियतअनुसार लगानीकर्ताले इन्ट्रा डे कारोबार गर्दै आएका छन् । यो सुविधा आमलगानीकर्तालाई नभई ब्रोकरले पत्याएका केही विशेष लगानीकर्तालाई मात्र उपलब्ध छ । त्यस्ता लगानीकर्तालाई आज सेयर बिक्री गरेर त्यही पैसाले अर्को सेयर किन्ने सुविधा ब्रोकर कम्पनीहरूले दिँदै आएका छन् । यो विधि पछिल्लो समय अत्यधिक प्रयोग गरिएकाले पनि केही साताअघिसम्म दैनिक कारोबार रकममा वृद्धि आएको विश्लेषकहरूको भनाइ छ । अब भने इन्ट्रा डे कारोबार सबैको पहुँचमा पुर्‍याउने तयारी थालिएको हो ।

पछिल्लो समय दोस्रो बजारमा अनलाइनबाट धितोपत्र कारोबार गर्न थालिएकाले इन्ट्रा डे कारोबार सुरु गर्न सकिने नेप्सेको विश्वास छ । अहिले नेप्सेको टिएमएस प्रणलीमार्फत अनलाइन कारोबार गर्नेको संख्या दिनहुँ बढिरहेको छ । बहुसंख्यक लगानीकर्ता यो सुविधा उपयोग गरिरहेका छन् । तर, यसको बढ्दो माग र प्रयोगका बीच दिनहुँजसो यसमार्फत गरिने अनलाइन कारोबारमा प्राविधिक जटिलताहरू आउने गरेका छन् । कहिले टिएमएस नै नचल्ने त कहिले तथ्यहरू गलत देखाउने समस्या लगानीकर्ताले झेलिरहेका छन् । यद्यपि, सुरुवाती चरणमा देखिएका यस्ता समस्या प्राविधिक सुधारको माध्यमबाट हल गरिँदै जाने र विस्तारै प्रविधि स्थायित्व आउने विश्वास नेप्सेको छ । प्रविधिमा स्थायित्व आएसँगै इन्ट्रा डे कारोबार सुरु गर्न सकिने देखेरै समिति बनाएर अध्ययन थालेको नेप्सेको भनाइ छ ।

आफूसँग नभएको सेयर पनि बेच्न सकिने
इन्ट्रा डे कारोबार लगानीकर्ताभन्दा पनि कारोबारी ट्रेडर्सले उपयोग गर्छन् । यसरी गरिने कारोबारको उद्देश्य सेयरको मूल्यमा दैनिक रूपमा आउने अन्तरबाट लाभ लिनु हो, न कि सेयरको स्वामित्व लिनु । यस्तो कारोबार आफ्नो खातामा सेयर नभएका लगानीकर्ताले पनि गर्न पाउने व्यवस्थातर्फ अध्ययन भइरहेको छ । यसमा लगानीकर्ताले कुनै दिन बजार घट्न लागेमा अझै घटेर केही समयपछि बढ्ने आकलन गरेमा सुरुमै बढी मूल्यमा आफ्नो साथमा नभएको सेयर बेचिदिन्छन् । अनुमानअनुसार नै त्यही दिन बजार घटेपछि फेरि त्यही सेयर किनेर पहिले बिक्री गरेको सेयर फिर्ता दिन्छन् । यस्तो कारोबार एकै दिनमा पटक–पटक गर्न सकिन्छ, तर बजार बन्द हुँदा किनबेचको हिसाब बराबरी बनाउनुपर्ने हुन्छ । यसरी कारोबारीले एकै दिन बजार घट्दा किन्ने र बढेपछि बेच्ने गरेर मूल्यअन्तरको लाभ लिन सक्छन् ।

यो प्रक्रियामा लगानीकर्ताको अनुमान विपरीत दिशामा गएमा भने केही जटिलता सिर्जना हुन सक्छ । घट्ने अनुमानका साथ आफूसँग नभएको सेयर बिक्री गरिसकेपछि बजरा बढिदिएमा लगानीकर्ताले महँगोमा सेयर किनेर दिन सक्ने अवस्था हुँदैन वा ठूलो घाटा खानुपर्ने हुन्छ । यस्तोमा यदि उधारोमा बेचिदिएको सेयर तोकिएको समयमा दिन नसकेमा के हुन्छ त भन्ने प्रश्न उब्जिन्छ । यसको समाधानका निम्ति सेयर सापटीको सुविधासमेत दिनुपर्ने हुन्छ वा अक्सन बजारको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले नेप्सेले यो प्रणाली लागू गर्नुअघि सापटीमा सेयर लेनदेन गर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउनेपर्ने हुन्छ ।

यसका निम्ति मध्यस्थकर्ताको आवश्यकता पर्छ, जुन धितोपत्र बोर्डको नियमनमा रहने गरी बोर्डको स्वीकृतिमा निर्माण हुन्छन् । यस प्रक्रियामा दीर्घकालीन लगानीकर्ताले आफूसित निष्क्रय रहने सेयर मध्यस्थकर्तामार्फत सापटी दिन्छन् र सोबापत पैसा ब्याजमा लगाएजस्तै तोकिएको निश्चित रकम आर्जन गर्छन् । यसमा दाताले मध्यस्थकर्तासित सम्झौता गर्छ र निश्चित अवधिपछि सेयर फिर्ता लिन्छ । सापटीमा सेयर नपाएको खण्डमा उधारोमा सेयर बेचेर भुक्तानी दिन नसक्ने लगानीकर्तासित अक्सन बजारमार्फत सेयर लिएर दिने मात्र विकल्प रहन्छ, जुन बजारको सञ्चालन स्टक एक्सचेन्जहरूले गर्छन् ।

नेपाली बजारमा इन्ट्रा डे कारोबार भित्र्याउनुपूर्व सेयर सापटी, अक्सन बजारलगायत पूर्वाधारको विकास गर्नुपर्ने भएकाले त्यसको अध्ययन भइरहेको नेप्सेले जनाएको छ । यसबाहेक केही नीतिगत परिवर्तन तथा विद्यमान व्यवस्थामा हेरफेर तथा सुधारको पनि आवश्यकता छ । यसका लागि कारोबार गर्न पाइने धितोपत्रको न्यूनतम संख्यामा समेत परिवर्तन गर्नुपर्ने आवश्यकताबारे अध्ययन भइरहेको बताइएको छ ।

‘टी प्लस टु’ नै कार्यान्वयनमा नआएको लगानीकर्ताको गुनासो
अहिले सामान्यतया आज किनेको सेयर खातामा आउन कम्तीमा २ दिन लाग्ने गरेको छ । यसका कारण लगानीकर्ताले आज खरिद गरेको सेयर बेच्न केही दिन कुर्नुपर्ने अवस्था छ । यो समस्यालाई न्यूनीकरण गर्न केही समयअघि मात्र नेप्सेले टी प्लस टु प्रणाली लागू गरेको छ, तर यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

टी प्लस टुको अर्थ कारोबार धितोपत्र कारोबारपछिको दोस्रो कार्यदिनभित्र धितोपत्रको राफसाफ तथा फर्स्यौट गरिसक्नुपर्छ भन्ने हो । अर्थात्, कारोबार गरेपछिका कार्यालय खुल्ला रहने २ दिनभित्र खरिदकर्ताले सेयर र बिक्रीकर्ताले पैसा पाइसक्नु नै टी प्लस टु प्रणाली हो । यसअनुरूप तोकिएको सीमाभित्र राफसाफ तथा फर्स्यौट नभएमा दोषी क्लोजआउमा पर्ने र सोबापत कारोबार रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने प्रावधान छ । तर, व्यवहारमा भने यो प्रणालीको एकतर्फी मात्र कार्यान्वयन भएको लगानीकर्ताको गुनासो छ ।

लगानीकर्ताले किनेको सेयरको पैसा निर्धारित समयमा नबुझाएमा वा बेचेको सेयर ट्रान्स्फर नगरिदिएमा उनीहरू क्लोजआउटमा पर्ने गरेको तर ब्रोकर कम्पनीले भने गलानीकर्तालाई तोकिएको समयमा सेवा दिने नगरेको अनुभव लगानीकर्ताको छ । यो व्यवस्था लागू भइसकेपछि पनि सेयर बेचेको हप्ता, दुई हप्तासम्म पनि खातामा पैसा नआएका घटना प्रशस्तै भेटिएका छन् ।

सेयरबजारमा पछिल्लो समय चालिँदै आएका सुधारका कदमहरू स्वागतयोग्य हुँदाहुँदै पनि तिनको कार्यान्वयनमा समस्या आउँदा तिनले अपेक्षित रूपमा लाभ दिन सकिरहेका छैनन् । त्यसैले सुधारका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गराउन नियामक निकायहरूको निरन्तर अनुगमनको आवश्यकता टड्कारो रूपमा देखिएको छ ।

बजारको दीर्घकालीन विकासका लागि लगानीकर्ताबाट उठ्दै आएका कतिपय माग पूरा भइसकेका छन्, कतिपय सैद्धान्तिक रूपमा मात्र पूरा भएका छन् त कतिपय सम्बोधन भएका छैनन् । बजारको दिगो विकासका लागि ब्रोकर संख्या थपिनुपर्ने, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कमिसन अझै घटाउनुपर्नेलगायत लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका मागबारे पनि छिटो अध्ययन गरी तिनको न्यायोचित सम्बोधन गर्ने दायित्व मुख्यतः नेप्से र धितोपत्र बोर्डकै काँधमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.