Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना भाइरस अर्थतन्त्र: बाइडनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

0 57

२७ फाल्गुन, बीबीसी । अमेरिकी कङ्ग्रेसको तल्लो सदनले पनि राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ।

हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ।

राष्ट्रपति जो बाइडनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ।

तीव्र ध्रुवीकरण

बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो। यसअघि माथिल्लो सदनले पनि बहुमतबाट यसलाई पारित गरेको थियो।

अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुन्छ। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीका अनुसार राष्ट्रपति बाइडनले शुक्रवार यसमा हस्ताक्षर गर्नेछन्।

प्रतिनिधिसभामा मतदान हुँदा एकजना बाहेक सबै डेमोक्र्याट सांसदले यसको समर्थन गरेका थिए। प्याकेजलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए।

बीबीसीका उत्तर अमेरिका संवाददाता निक ब्र्यान्ट भन्छन्, “यसले अमेरिकी कङ्ग्रेसमा व्याप्त ध्रुवीकरण छताछुल्ल भएको छ। यो प्याकेजको समर्थनमा न त माथिल्लो सदन सिनेटमा, न त तल्लो सदन प्रतिनिधिसभामा, एकजना पनि विपक्षी रिपब्लिकनका सदस्यले भोट हालेनन्। जबकि आमअमेरिकीमाझ यसप्रति समर्थन पाइन्छ।”

के छ प्याकेजमा?

प्याकेजमा अधिकांश अमेरिकीहरूले पाउने गरि एकमुष्ट प्रतिव्यक्ति १४ सय डलरको सहयोग सामेल छ। यसले बेरोजगारहरूलाई दिने गरिएको साप्ताहिक ३ सय डलरको सुविधा सेप्टेम्बरसम्म जारी राख्नेछ।

साथै यो प्याकेजले राज्य तथा स्थानीय सरकारहरूलाई ३५० अर्ब डलर उपलब्ध गराउनेछ, विद्यालयहरू खुलाउन १३० अर्ब डलर गराउनेछ, कोभिड-१९ को परीक्षण र अनुसन्धानमा ४९ अर्ब डलर उपलब्ध गराउनेछ तथा खोप वितरणमा १४ अर्ब डलर छुट्ट्याउनेछ।

राष्ट्रिय न्यूनतम ज्यालादर प्रति घण्टा ७.२५ डलरबाट १५ डलर पुर्‍याउने प्रस्ताव भने सिनेटमा विवादग्रस्त बनेपछि अन्तिम प्याकेजमा पारिएन ।

कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

यो प्याकेजप्रति आमअमेरिकीहरूको समर्थन रहेको देखिएको छ।

मार्चमा प्यू रिसर्च सेन्टरले गरेको मत सर्वेक्षणमा ७० प्रतिशत वयस्क अमेरिकीहरूले यसको समर्थन गरे जसमा ४१ प्रतिशत रिपब्लिकन पनि थिए।

राष्ट्रपति बाइडनले यो प्याकेजले देशको मेरुदण्ड- आवश्यक सेवाका कर्मचारी, देश निर्माण गर्ने श्रमिक अनि यो देश चलाउने आम मानिस- हरूलाई महामारीको प्रभावसँग जुझ्न सघाउ पुग्ने बताएका छन्।

यसबीच उनले अमेरिकीहरूलाई दिलाइसकेपछि उब्रने कोभिड-१९ का खोपहरू विश्वसँग बाँड्ने पनि बताएका छन्।

“यदि हामीसँग खोप उब्रियो भने त्यसलाई हामी बाँकी विश्वसँग बाँड्नेछौँ,” उनले भने।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.