Advertisement

आज महाशिवरात्रीः तीन लाख भक्तजनले दर्शन गर्ने अपेक्षा

0 543

Advertisement

२७ फाल्गुन, काठमाडौँ । शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोरोना संक्रमणको जोखिमका कारण भक्तजन कम आउने भएकाले तयारी पनि त्यसै अनुसार गरिएको कोषका सदस्यसचिव प्रदीप ढकालले बताए। उनका अनुसार शिवरात्री लक्षित सुरक्षासम्बन्धी तयारी पूरा भएको छ।

यसपटक ३ लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने लक्ष्य राखिएको छ। दर्शनका लागि सयभन्दा बढी साधुसन्त आएका छन्। केही साधु बिहीबार बिहानसम्म आउने कोषले जनाएको छ।

भक्तजनलाई व्यवस्थित तरीकाले दर्शन गर्न पाउने व्यवस्था मिलाइएको कोषले जनाएको छ। तीनवटा गेटबाट प्रवेश गर्न पाउने व्यवस्था पनि गरिएको छ। कोषले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरी ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाएको छ। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले सुरक्षा व्यवस्था पर्याप्त मिलाइएको जानकारी दिए। उनले भने, ‘सधैं झैं यसपालि पनि हामीले सुरक्षा व्यवस्था सहज र चुस्त पारेका छौं।’ उनले लुटपाट तथा पकेटमारीका घटना हुने भएकाले भक्तजन पनि चनाखो हुनुपर्ने बताए।

पशुपति क्षेत्रमा सहज आवतजावतको प्रबन्ध मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ। भिड बढी भएमा भक्तजनबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए। उनले भने, ‘हामीले गर्नुपर्ने सुरक्षा र ट्राफिक व्यवस्थापनको तयारी पुरा गरेका छौं, अन्य वर्षमा भन्दा यसपालि व्यवस्थित हुने अनुमान छ।’

उनका अनुसार चक्रपथमा चल्ने गाडी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ। त्यस्तै मालवाहक सवारीसाधन तीनकुनेबाट सिनामंगल हुँदै तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारीसाधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ। भक्तजनका सवारीसाधन वनकाली खुला चौर, सिफलचौर, गुह्येश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोष र सेवाप्रदायक संस्थानका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरी र वनकालीभित्र राखिनेछ। वाग्मती करिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरीपारि पार्किङ स्थान तोकिएको छ।

गौशाला चोकमा भिडभाड सवारीसाधन चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयवागेश्वरीतर्फको रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ। चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न महाशाखाले अनुरोध गरेको छ।

बिहान ४ः०० बजेदेखि पशुपतिका चार ढोका खुला

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने उनले बताए ।

महाशिवरात्रिका अवसरमा बिहीबार बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिने कोषले जनाएको छ । यस वष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।

पशुपति दर्शनका तीन बाहिरी लाइन

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको जनाएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.