हाम्रो धर्ममा शिवरात्रीको महिमा कस्तो रहेको छ!
२६ फागुन, काठमाडौं । मिति २०७७ साल फाल्गुन २७ गते विहीबार कृष्णपक्ष त्रयोदशी तिथी अपरान्ह २ / ५२ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएकोले बिशेष यो दिन भगवान शिवजीको पूजा अर्चना बेलपत्र द्वारा र विभिन्न फलफूलहरुको साथमा निलाहर व्रतबसी रात्रीमा शिवलिंगमा बिशेष पूजा र आरतीबाली जाग्राम बस्ने गर्नुपर्दछ। शिव भनेको कल्याणकारी हो। जसले सवैको कल्याणकोलागि कालकुट बिष समेत आफुले पान गर्नुभयो। फेरि शिवको शिरमा जटा, चन्द्रमा र गंगा बसेको हुनाले उहाँलाई आसुतोष भनिन्छ। त्यसैले महादेवलाई तुरुन्तै खुसिहुने देवताका रुपमा पूजा गरीन्छ ।

शिवरात्री पर्व फागुन कृष्ण चतुर्दशीमा मनाइन्छ । शिवरात्री पूजामा व्रतालुहरु भगवान शिवको ध्यान र जप गर्छन् । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रुपमा मनाउने गरेका छन् ।
शिवार्चनमा इशानमूर्तिलाई दूधले र अघोरमूर्तिलाई दहीले, वामदेवमूर्तिलाई ध्यूले स्नान गराइन्छ । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । सृष्टिको प्रारम्भमा यसै दिन मध्यराति भगवान शंकर ब्रह्माबाट रुद्ररुपी शिवको रुपमा अवतरण भएको र शिव पार्वतीको विवाहको दिन हो।प्रलयको बेलामा यसै दिन प्रदोषको समय भगवान शिव तांडव नृत्य गर्दै ब्रहृमण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् ।
यसैकारण उनलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ ।मल्लकालमा कलात्मक, मौलिक वास्तुकलाले भरिएको शैव सम्पदा निर्माण भएको पाइन्छ । यसरी नेपालमा शैवमतको बढ्दो प्रभावलाई निस्तेज पार्न नेस ४७० मा बंगालका सुल्तान समसुद्दिनले यहाँ आक्रमण गरी ठाउँ-ठाउँको देवमन्दिर नष्ट गर्ने क्रममा आराध्यदेव पशुपतिनाथको शिवलिंगलाई दुई टुक्रा पारिदिएको इतिहासमा उल्लेख छ ।
तत्कालीन भारदार जयसिंहराम बर्द्धनले मुसलमानहरूले बिगारेको पशुपतिको शिवलिंगको ठाउँमा नयाँशिवलिंगसहित अनेकौं ठाउँमा नयाँ शिवलिंगहरू समेत बनाउन लगाए ।
जसरी पशुपतिनाथ शैवमार्गी हिन्दुको एकमात्र शिवलोकका रूपमा प्रसिद्ध छ । प्रत्येक वर्ष फागुण कृष्ण चतुर्दशीका दिनलाई शैवरात्रिको नाम दिइएको छ । हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् । शिवरात्रि कै दिन भगवान् शिवको पार्वतीसँग विवाह भएको मानिन्छ । त्यस्तै यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्मग्रन्थहरूमा व्याख्या भएको पाइन्छ । इशान संहितामा यो दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ ।

अर्काे एक धर्मग्रन्थअनुसार निषादराज सुन्दर सेनकनले अन्जानमै यो दिन व्रत बस्न पुग्दा मृत्युपर्यन्त उनी शिवलोकमा पुगी भगवान् शिवको सेवक बन्न पुगेको उल्लेख छ ।
स्कन्द पुराणमा पनि शिवरात्रि को महत्त्व झल्काउने क्रममा चण्ड नामका एकजना दुष्ट र उनकी पत्नीले अन्जानमा यो दिन व्रत लिन पुग्दा भगवान् शिव प्रसन्न हुन पुगी उनीहरूले शिवलोकमा बास पाएको उल्लेख छ ।
स्कन्द पुराणमा यतिसम्म उल्लेख छ कि जो मनुष्यले यो दिन भगवान् शिवको आराधना गरी व्रत बस्दछ उसले जीवनमा दोस्रोपटक मनुष्य भई जन्म लिंदा आमाको दूध पिउनु पर्दैन ।
अन्त्यमा एकजना ब्याधाले पनि अन्जानमा यो कथा सुनेर वेलपत्र शिवजीलाई चढाएको प्रवाभ र मृगहरुको सत्यता देखेर आफ्नु शिकारीपनलाई छोडी उसलाई धर्म ,अर्थ ,काम ,मोक्ष प्राप्तभई शिवलोक, कैलाशमा गएर आनन्दसँग बिहारगर्न पाएको कथा छ।
त्यसैले हिन्दुधर्मालम्विहरुले यो व्रत जानेर वा अन्जानमा भएपनि अवस्य गर्नुपर्दछ।