अन्ततः एमाले एकजुट : नेपाल – खनाल एमालेमै फर्किए

0 420

२५ फाल्गुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् ।

सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् ।

उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् । दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ । दाहाल एकता अघि माओवादी केन्द्रको अध्यक्ष थिए भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत् अवस्थामा नै रहेकाले दाहाल स्वतहः सो पार्टीको अध्यक्ष हुनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सोमबार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णयअनुसार छुट्टाछुटै भएर अघि बढ्ने निष्कर्ष निकालेपछि उनीहरू आआफ्नै पुरानो पार्टीमा फर्किएका हुन् । उनीहरू आइतबार नेकपाको अन्तिम बैठक भन्दै बसेका थिए ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो । सोमबार बसेको दाहाल नेपाल समूहको नेकपा स्थायी कमिटी बैठकले अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै पार्टी एकताका लागि पुनः पुरानै पार्टीबाट सक्रिय हुने निष्कर्ष निकालेको छ ।

३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निर्वाचन आयोगमा अर्को नेपाल कम्युनिस्ट पार्टी दर्ता गराएका थिए ।

५ पुसमा विघटन गरिएको प्रतिनिधि सभालाई ११ फागुनमा सर्वोच्च अदालतले ब्युँताइदिएको थियो । तर, दाहाल–नेपाल समूहले सर्वोच्वको सो निर्णयलाई उत्सवकै रूपमा लिएर दीपावली नै गरेको भए पनि दाहाल–नेपालको सो खुसीसँगै सर्वोच्चको अर्को निर्णय दुःखका रूपमा परिणत भयो ।

आइतबार सर्वोच्च अदालतले नेकपालाई खारेज मात्रै नगरी एकता गर्ने भए अब नयाँ प्रक्रियाबाट यथाशक्य चाँडो निर्वाचन आयोगमा जान पनि भनेको छ । सर्वोच्चको यो निर्णयसँगै अब संसद्मा प्रधानमन्त्री ओली, नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एमालेका सांसद भएका छन् । ओलीतिर लागेका रामबहादुर थापालगायतका नेता माओवादी केन्द्रका सांसद भएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै ओलीसँग सम्बन्धविच्छेद गरेर दाहालतिर लागेका नेपाल कानुनी रूपमा अब एमालेका सांसद भएका छन् । उनीमाथि अब ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईको ह्वीप पनि लाग्नेछ । यदि ह्वीप उल्लंघन गरेमा उनले सांसद पद नै गुमाउनुपर्नेछ ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव हाल्दै दाहाललाई प्रधानमन्त्रीका रूपमा सारेका नेता नेपालसँग अब दुईवटा विकल्प देखिएका छन् । अहिले उनी यिनै दुई विकल्पमाथि आफ्ना सहयोगी र नेता कार्यकर्तासँग संवादमा जुटेका छन् । वरिष्ठ नेता खनालले अब पूर्वएमालेमै फर्किएर ओली प्रवृतिविरुद्धमा लड्ने निष्कर्ष आफूहरूको रहेको बताए ।

नेता नेपालले अझै पनि नेकपाको एकता जोगाउने गरी आफूनिकट र दाहाल पक्षसँग छलफल गरेका छन् । सोमबार मात्रै नेता नेपालले काठमाडौंको अर्याल होटलमा आफूपक्षीय नेताहरूसँग छलफल गरेको नेकपा स्रोतले जनाएको छ ।

सो छलफलमा पनि सर्वोच्चको निर्णयपछिको अवस्थालाई लिएर नेपालले पहिलो ‘नेकपाकै एकता बचाइराख्ने’ र दोस्रो ‘ओलीसँगै मिसिएर आन्तरिक संघर्षमार्फत अघि बढ्ने’ दुईवटा विकल्पमा कुरा गरेका थिए ।

आइतबार सर्वोच्चको निर्णयपछि नेता खनालले आफू एमाले नै भएको बताएका छन् । तर, दाहाल समूहका अध्यक्ष नेपालले भने अब ओलीतिर फर्किने कुनै सम्भावना नरहेको बताउँदै बरु सूर्य चिह्न पनि खोसेर आफूहरूले लिने तर्क गरेका थिए । उनले भनेजस्तो अवस्था देखिएन । त्यहीँ कारण उनी अहिले केन्द्रदेखि तलसम्म नै छलफलमा जुटेका छन् ।

ओलीलाई छाडेर पूर्वएमालेको ठूलो पंक्ति दाहालतिर लागेको थियो । नेपाल, खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहोरा अब पूर्व एमालेमै फर्किने भएका छन् ।

दाहाल–नेपाल समूहका एक जना नेता ठाकुर गैरे अहिलेलाई एकता बचाइ राख्ने विकल्प नै पहिलो प्राथमिकता हुने बताए । उनले पहिलो एकता बचाउने उपायबारेमा छलफल भइरहेको बताएका छन् ।

‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौं भन्ने विषयमा छलफल भयो, गैरेले भने, ‘अदालतको फैसला आए पनि एकतालाई अघि बढाउने सम्भावना छ भने अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ ।’

अर्कातिर तत्कालीन एमाले सचिव भीम आचार्यले अब एमालेमै फर्किएर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले सबै विकल्पमा अहिले संवाद भइरहेको बताउँदै पार्टी एकता नयाँ तरिकाले अघि बढाउनुपर्ने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.