आजको खेलकुद गतिविधी

0 1,314

२१ फागुन, काठमाडौं ।

रेगनलाई चक्र लामा÷किसन लामा स्मृति स्नुकर उपाधि
अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ (अंकितमान श्रेष्ठ) ले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।


बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८–६ ले पराजित गरे । रेगनले खेल ९१–३४,२६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जिते । उपाधिसंगै रेगनले २ लाख ११ हजार ५ सय नगद पुरस्कार जिते ।

सोमले ९१ हजार ५ नगदमा चित्त बुझाए । सेमिफाइनलमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय नगद पुरस्कार हात पारे ।


त्यस्तै क्वाटरफाइनलमा पराजितले जनही १० हजार ५ सय नगद पुरस्कार पाए भने प्रिक्वाटरफाइनलमा पराजितले गिफ्ट ह्याम्पर वापत क्यु एन्ड क्यु बक्स हात पारे ।


बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीको संयुक्त आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए । ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए । चारै समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे ।


प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने । सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो । कुनैपनि खेलाडीले उक्त उपलब्धी हासिल गर्न सकेनन् । नेपाली स्नुकरको इतिहासमै यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो ।


विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका स्नुकरका चारपटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, प्रतियोगिता संयोजक राजेन लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


माघ २४ गतेदेखि सुरु प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए । खेलाडी सहभागिताका आधारमा पनि यो प्रतियोगिता ठूलो हो ।

चन्द्र र रमिसा उत्कृष्ट
बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् ।

चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे । शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरी र महिला ४८ केजीमा रमिसाले नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण जितेका थिए ।


महिला ५१ केजीमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै पहिलो स्थान हात पारिन् ।

५७ केजीमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठ, ६० केजीमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरी र ६४ केजीमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण जिते ।


पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए । ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाउँदा पुरुषकै ५६ केजीमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामा र ६० केजीमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण जिते ।


यसैगरी पुरुषको ६४ केजीमा ललितपुरका सनिल शाही पहिलो भए । उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे । पुरुषकै ७५ केजीमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपाली तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण जिते ।


प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायतले पुरस्कार प्रदान गरे ।

बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात
काठमाडौं । बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल(पाकिस्तान फ्रेन्डसिप टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।


धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गर्यो ।


मैदान ओसिलो भएको कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाईएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको बलपार्कले १० ओभरमा २ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।


बलपार्कका लागि निर्भिकले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले । सचिनले २५ रन जोडे ।
बालुवाटारक विरेन्द्र र अविनासले १र१ विकेट लिए । बलपार्कले दिएको १ सय ९ रनको लक्ष्य बालुवाटारले ८ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।


बालुवाटारको जितमा इन्द्र कमलले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । सुरेन्द्रले ३३ रन जोडे ।बलपार्कका संगमले १ विकेट लिए ।


यस्तै दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियर क्याम्पसलाई ६ विकेटले पराजित गर्यो ।


पहिले ब्याटिङ गरेको पुल्चोकले अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । उसका चिरन्जीवीले ५० रन जोड्दा विशालले ४५ रन बनाए ।


ग्रेट हिमालयका बिज्ञान राई, मोहमद हुसेन, सुसान्त, सन्दीप र नभिनले २र२ विकेट लिए ।
पुल्चोकले दिएको लक्ष्य ग्रेट हिमालयले ४ विकेट गुमाएर पुरा गर्यो ।
ग्रेट हिमालयको जितमा आयुसले ६३ रन जोड्दा संगीतले ४४ रन बनाए । सुसान्तले २२ रन जोडे ।पुल्चोकका सागरले २ विकेट लिए ।


पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.