Advertisement

नाटकीय जितसँगै बार्सिलोना फाइनलमा

0 192

Advertisement

२० फाल्गुन, एजेन्सी । स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इन्ज्युरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले एन्टोइन ग्रिजमनको क्रसमा हेडर गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

पहिलो लेगको खेलमा सेभियाले २-० को जित दर्ता गरेपछि बार्सिलोना घरेलु मैदानमा निकै दबाबमा रहेको थियो । कम्तिमा २-० को जित निकाल्नुपर्ने खेलमा बार्सिलोनाले सुखद सुरुवात पनि गर्यो । खेलको ११ औं मिनेटमा ओस्मान डेम्बेलेले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । डिफेन्सले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रबाट बाहिर ल्याएर उनले गरेको प्रहार गोलरक्षक भाच्लिक्ले ठम्याउन नसक्दा सिधै गोल भएको थियो ।

खेलको दोस्रो हाफमा सेभियाले फाइनलमा स्थान पक्का गर्ने सुवर्ण अवसर खेर फालेको थियो । ७१ औं मिनेटमा ओस्कार मिन्गुएजाले पेनाल्टी क्षेत्रभित्र लुकास ओकाम्पसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर ओकाम्पसको प्रहरलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पार्दै बार्सिलोनाको सम्भावना जीवित राखे ।

इन्ज्युरी समयको पहिलो मिनेटमा फर्नान्डोले ट्रीनकाओलाई लडाएपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड दिए । १० खेलाडीमा समेटिएको सेभियाले इन्ज्युरी समयमा प्राप्त कर्नर क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा ग्रिजमनको क्रसमा पिकेको हेडरमार्फत बार्सिलोना खेलमा फर्किएको थियो ।

खेल समग्रमा २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा बार्सिलोनाले सुरुवातदेखि नै दबाब बनायो । १० खेलाडीमा सिमित सेभिया चौथो मिनेटमा नै १ गोलले पनि पछि पर्यो । जोर्डी अल्बाको क्रसमा मार्टिन ब्रेथवेटको हेडर गोलरक्षक भाच्लिकलाई लाग्दै गोलमा परिणत भयो । सेभियाले त्यसपछि एक गोल गरेको भएपनि अवे गोलको आधारमा फाइनल पुग्ने थियो, तर त्यसो हुन सकेन ।

खेलको ९९ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले ह्यान्ड गरेको भन्दै सेभियाले पेनाल्टीको अपिल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई नकारेको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा जुल्स कोउन्डेको प्रहारलाई टेर स्टेगनले विफल पार्दै बार्सिलोनालाई फाइनलमा पुर्याए ।

कप्तान लिओनेल मेस्सीले खेलमा गोल वा असिस्ट प्रत्यक्ष प्रदान नगरेपनि खेलमा प्रभाव भने जमाएका थिए । बार्सिलोनाको आक्रमणमा सामेल उनले डेम्बेलेको पहिलो गोलको मुभ तथा दोस्रो गोलमा पनि सामेल थिए । यस जितसँगै बार्सिलोना पछिल्लो ११ संस्करणमध्य १० पटक प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कोपा डेल रे को दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभानते भिड्दैछन् । पहिलो लेगको खेलमा बिल्बाओ घरेलु मैदानमा १-१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेग बिहीबार हुँदैछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.