नाइजेरियामा अपहरणमा परेका २७९ स्कुले बालिका छुटेका छन्
१४ फागुन, एजेन्सी । नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फाराबाट अपहरणमा परेका २७९ स्कुले बालिकाहरु छुटेका छन् ।
गत शुक्रबार अपहरणमा परेका उनीहरु सोमबार सकुशल छुटेका जम्फाराका गभर्नर बेल्लो माटावालेले बताए ।
माटावालेले उनीहरुलाई अपहरण मुक्त गराउन कुनै फिरौती रकम नबुझाइएको दाबी गरेका छन् ।

अपहरणबाट मुक्त गराइएका बालिकाहरुलाई जम्फाराको राजधानी सहरमा राखिएको छ ।
पछिल्लो समय नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र र मध्य क्षेत्रमा आपराधिक संगठनहरु तथा आतंकवादी संगठनको आक्रमण बढ्दो क्रममा छ ।
साथै ठूलो संख्यामा मानिसहरुलाई पक्राउ गरी फिरौती माग्ने, बलात्कार र लुटपाटका घटना पनि उल्लेख्यरुपमा बढेका छन् ।
यसअघि गत डिसेम्बरमा नाइजेरियाको कात्सिनाबाट तीनसयभन्दा धेरै स्कुले बालबालिकाहरु अपहरणमा परेका थिए ।
पछि उनीहरु छुटेका थिए तर उनीहरुलाई अपहरणमुक्त गराउन फिरौती बुझाइएको वा कैदीबन्दी रिहा गरिएको विषयमा भने कुनै जानकारी दिइएको छैन ।