Advertisement

आङ सान सुचीविरुद्ध थप दुई मुद्दा

0 540

Advertisement

१८ फाल्गुन, म्यान्मार।  म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीविरुद्ध नयाँ मुद्दा लगाइएको छ । उनीविरुद्ध थप दुइटा मुद्दा लगाइएसँगै उनी सैनिक ‘कु’ पछि पहिलोपटक देखापरेकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई भिडियोमार्फत राजधानी नेइपिडअस्थित अदालतमा पेस गरिएको छ ।

फेब्रुअरी १ को ‘कु’ सँगै सुचीलाई सैनिक सरकारले बन्धक बनाएको थियो । उनका एक वकिलले सुचीको स्वास्थ्य अवस्था राम्रो देखिएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । ‘

मैले उहाँलाई भिडियोमा देखें । उहाँको स्वास्थ्य अवस्था राम्रो देखिन्थ्यो,’ उनका वकिल मिन मिन सोइले भने । त्यस क्रममा सुचीले वकिलसँग भेट्न आग्रह गरेकी थिइन् ।

सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने प्रकारको सूचना प्रकाशन रोक्नेसम्बन्धी उपनिवेशकालीन कानुनअनुसार मुद्दा चलाइएको हो । त्यसैगरी दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको हो ।

यसअघि सुचीलाई गैरकानुनी रूपमा वाकीटकी राखेको र प्राकृतिक विपद्सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ ।

म्यान्मारमा फेब्रअरी १ को सैनिक ‘कु’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सुची, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरुको रिहाइ र जननिर्वाचित सरकारको पुन:स्थापनाको माग गर्दै आएका छन् । प्रदर्शनका क्रममा प्रहरीको दमनका कारण हालसम्म २१ जनाको ज्यान गइसकेको छ । आइतबार प्रहरीले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार कम्तीमा ३० जना घाइते भएका थिए ।

कार्यालयले शान्तिपूर्ण प्रदर्शनका क्रममा दमन गरिएको भन्दै सैनिक सरकारको भत्र्सना गरेको थियो । ‘शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जनतामाथि घातक हतियारको प्रयोग कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न । यो मानवअधिकारको अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल छ,’ कार्यालयका प्रवक्ता रभिना सम्दासनीले भनेकी थिइन् ।

लोकतन्त्र पक्षधरहरूले सोमबार पनि यांगुन, दावेई, म्यान्डलेलगायत प्रमुख सहरहरूमा विरोध प्रदर्शन जारी राखेका जनाइएको छ । तर तुलनात्मक रूपमा सोमबारका प्रदर्शन केही शान्तिपूर्ण देखिएका बीबीसीले उल्लेख गरेको छ ।

सेना प्रमुख ह्लाइङले फरक मत राख्नेहरूप्रति सुरक्षाकर्मीले लोकतान्त्रिक व्यवहार गरिरहेको दाबी गर्दै आएका छन् । त्यस्तै सरकारले न्यून संख्यामा सुरक्षा फौज परिचालन गरेको उनको भनाइ छ । ह्लाइङले ‘संविधानअनुसार नै शासनसत्ता नियन्त्रणमा लिइएको’ दाबी गर्दै ‘देशलाई एक वर्षभित्र सही मार्गमा लैजाने’ बताउँदै आएका छन् ।

नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरिएको र सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सेनाले सत्ता हातमा लिएको हो । उक्त चुनावमा सुचीको दल एनएलडी करिब ८० प्रतिशत मतसहित विजयी भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.