भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि रुट परमिट नदिए के हुन्छ ? सरकारी अधिकारी भन्छन्– विकल्प छ
१६ फाल्गुन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतले अहिलेसम्म एयर रुट परमिटका लागि अनुमति दिएको छैन । ९५ प्रतिशत निर्माण सम्पन्न भएको यो आयोजना सञ्चालनको मिति नजिकिँदै गएको छ । तर, भारतले अनुमति नदिँदा थप अन्योलता बढेको छ ।
विमान अवतरण र उडानको क्रममा भारतको भूभागमा पर्ने भएकाले भारतको अनुमति आवश्यक छ । त्यसका लागि नेपालले कूटनीतिक माध्यमबाट भारतसँग कुरा गरिरहे पनि हालसम्म भारतले ‘ग्रीन सिग्नल’ भने दिइसकेको छैन । भारत एयर रुट परमिट दिन सकारात्मक नहुँदा विमानस्थल तयार भएर पनि सञ्चालनमा ल्याउन सबैभन्दा ठूलो समस्या हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल एयर रुट परमिटका लागि कूटनीतिक तबरबाट पहल भइरहेको बताउँछन् । “एयर रुट परमिटका लागि कूटनीतिक माध्यमबाट पहल भइरहेको छ । छिट्टै निर्णय आउँछ भन्ने विश्वासमा छौँ,” उनले बाह्रखरीसँग भने ।
तर, प्राधिकरणकै अधिकारीहरु भारतले एयर रुट परमिट दिन आनाकानी गरिरहेकाले विकल्प सोच्नुपर्ने बताउँछन् । “हालसम्मको प्रगति हेर्दा सकारात्मक देखिएको छैन,” एक अधिकारीले भने, “भातरले परमिट नदिए पनि विकल्प खोज्नुपर्छ ।”
प्राधिकरणकै अर्का अधिकारी भने भारतले अनुमति नदिए पनि अर्को विकल्प रहेको र सोहीअनुसार विमानस्थल सञ्चालन गरिने दाबी गर्छन् । “विमान उडान एवं अवतरणका लागि भारतले अनुमति नदिए पनि अर्को विकल्पमार्फत विमानस्थल सञ्चालन गर्छौँ,” ती अधिकारीले भने, “कुन विकल्प भन्ने कुरा पछि नै जानकारी गराउँछौँ ।”
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि कतार एयरवेज, फ्लाइ दुबई, श्रीलंकन एयरलाइन्स, म्यानमार एयरवेजलगायतका वायुसेवा कम्पनीले चासो देखाइरहेको प्राधिकरणले जनाएको छ ।