ग्रेटर नेपालको आवरणमा फणिन्द्र नेपालको ‘ठगीधन्दा’
१५ फागुन, काठमाडौँ । ग्रेटर नेपालका अभियान्ता बताउने फणिन्द्र नेपाल राष्ट्रवादी नेपालीका लागि चर्चित नाम हो । तर, राष्ट्रवादको आवरणमा नेपालले गरेको एउटा डरलाग्दो ठगीकाण्डबारे भने सायदै कसैलाई थाहा नहुन सक्छ ।
उनै फणिन्द्र नेपालका कारण एक व्यक्ति विभिन्न निकाय धाउन बाध्य छन् । तर, न्याय पाएका छैनन् । फणिन्द्र नेपालबाट पीडित बनेका व्यक्ति हुन्— राजधानीको चावेल निवासी नरेश न्यौपाने । उनी फणिन्द्र नेपालका घरवेटी हुन् ।
तर, घरबेटी न्यौपाने घर बहालमा बस्ने फणिन्द्र नेपालका कारण अन्यायमा परेको भन्दै अड्डा अदालत धाउँदैमा हैरान छन् । उनीमात्रै होइन वडादेखि काठमाडौं महानगरपालिका सम्म नेपालका कारण हैरानीमा छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबेल गणेस्थानबाट धोबिखोला तर्फ ओरालो झर्दै गर्दा बायाँ तर्फ साँढे २ तलाको घरमा चाइनिज इट्टा लगाइएको छ । करिब डेढ रोपनी क्षेत्रफलमा फैलिएको यो घर नरेश न्यौपानेको पैतृक सम्पत्ति हो ।
तर, उनलाई आफ्नै घरमा जान समेत प्रतिबन्ध जस्तै लगाइएको छ । उनको यही घरमा ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपालले इडेन पब्लिक स्कुल सञ्चालन गरेका छन् । तर, नेपालले न भाडा तिर्छन् न घर खाली गरिदिन्छन् । यतिसम्मकी उनलाई घर भाडा तिराउने विषयमा जिल्ला अदालतले दिएको आदेश समेत नेपालले अवज्ञा गर्दै आएका छन् ।
न्यौपानेले आफ्नो घर २०५४ सालमै स्यामकृष्ण क्षेत्रीलाई विद्यालय सञ्चालनका लागि भाडामा दिएका थिए । तर, सामान्य चिनजान नेपालसँग पनि थियो । नेपाल र क्षेत्रीको साझेदारीमा इडेन पब्लिक स्कुल सञ्चालनमा रहेको बताइन्थ्यो ।
उनीहरुबीच साझेदारीमा विवाद भएपछि क्षेत्रीले विद्यालय छाडे । २०६७ साउन १ न्यौपानेको घर भाडा सम्झौता भयो । सम्झौताको साक्षीमा उनै फणिन्द्र नेपाल थिए ।
सम्झौताको म्याद सकिएपछि २०७२ सालमा घर धनी न्यौपानेले घर खाली गरिदिन इडेन पब्लिक स्कुललाई आग्रह गरे तर, विद्यालय सञ्चालकहरुले भाडा बढाएर (१ लाख ५० हजार) मासिक भाडा दिन्छु भनेपछि उनले फेरी एक वर्षका लागि घर भाडामा दिए ।
उक्त करारनामामा घर धनीका तर्फबाट न्यौपाने र विद्यालयको तर्फबाट फणिन्द्र नेपालकी पत्नि तथा इडेन पब्लिक स्कुलका निर्देशक प्रिन्सिपल रोहीका नेपालले सहिछाप गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा भने उनै फणिन्द्र नेपाल थिए । तर, सम्झौता बमोजिमको भाडा नदिएपछि न्यौपानेले फोन गरे तर फोन उठेन । भाडा पनि नतिर्ने घर पनि खाली नगरेपछि न्यौपानेले २०७५ असोज १८ गते मित्रपार्कमा रहेको वडा कार्यालयमा निवेदन दिए ।
‘करार बमोजिमको भाडा उठाई जग्गा, र कम्पाउन्ड तथा घर खाली गराई पाउँ’ भन्ने उनको माग थियो । वडा कार्यालयले मंसिर १३ गते नेपालद्वारा सञ्चालिन इडेन पब्लिक इस्कुललाई छलफलमा बोलायो । वडा कार्यालयले मिलापत्र गरायो ।
४ बुँदे सहमतिमा २०७५ साल वैशाखदेखि चैत्रसम्मको भाडा एकमुष्ठ १२ लाख रुपैयाँ इडेन पब्लिक स्कुलले घरधनीलाई बुझाउने पहिलो बुँदामा उल्लेख थियो । करार बमोजिम नेपालद्वारा सञ्चालित इडेन पब्लिक स्कुलले पुरानो बुझाउनु पर्ने ९ लाख ५० हजार बाँकी नै थियो ।
सो रकमसहित गरेर जम्मा २१ लाख ५० हजार घरधनीलाई बुझाएर २०७५ चैत्र मसान्तमा घर खाली गरिदिने सम्झौता थियो । सम्झौतामा घर धनीका तर्फबाट न्यौपाने र इडेन पब्लिक स्कुलका तर्फबाट फणिन्द्रकी श्रीमती रोहिका नेपालले हस्ताक्षर गरेकी थिइन् ।
घर धनीलाई दिएको चेक नै बाउन्स !
नेपालले यतिसम्म ढाँटेका छन् की घरधनीलाई भाडाबापत दिएको चेक समेत बाउन्स भएर उनी पक्राउ मात्रै परेनन् अदालतबाट दोषी समेत ठहर भएका छन् । घरबेटी न्यौपानेलाई बुझाउनुपर्ने रकम मध्ये केही रकम उनले चेक मार्फत दिए ।
२०७५ मंसिर २१ गते नेपालले आफ्नै नामको ६ लाखको चेक न्यौपानेलाई दिए । तर, घरबेटी न्यौपाने बैंकमा चेक भूक्तानीको लागी जाँदा खातामा पैसा नरहेको खुल्यो ।
चेक बाउन्स गरेपछि उनी विरुद्ध पीडित न्यौपानले महानगरीय प्रहरी बृत्त गौसालामा जाहेरी दिए । प्रहरीले पीडितको जाहेरीको आधारमा नेपाललाई बैशाख १० मा पक्राउ गर्यो । पक्राउ पछि १७ दिन अनुसन्धानका लागि हिरासतमा राखेपछि अदालतमा पेश गर्यो ।
‘कानुन बमोजिम चेक रहेको र बदर समेत नभएको अवस्थामा चेक बाउन्स भएको अवस्थामा प्रतिवादीले कानुन बमोजिमको दायित्व बहन गर्नुपर्ने नै देखियो,’ जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुलप्रसाद शर्माले नेपाल विरुद्धको बैंकिङ कसुर मुद्दाको ठहरखण्डमा भनेका छन्,‘यसरी प्रतिवादी फणिन्द्र नेपालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी अर्थात थाहा हुने प्रयाप्त आधार र कारण हुँदा हुँदै जाहेरवालालाई रु. ६,००००० ।– (६ लाख) चेक काटि दिइ सोको भुक्तान हुन नसकेकोबाट निजले अभियोग दाबी बमोजिम बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर गरेको निर्विवाद रुपमा पुष्टि हुन आयो ।’
अदालतको फैसला अनुसार नेपालले २ लाख रुपैयाँ धरौटी बुझाए भने बाँकी रकम हालसम्म बुझाएका छैनन् । अदालतले बाँकी रहेको ३ लाख ९५ हजार ८ सय रुपैयाँ असुल उपर गर्न समेत आदेश दिएको थियो । आदेशको ६ महिना वितिसक्दा पनि नेपालले आदेश अनुसारको रकम बुझाएका छैनन् । गत भदौमा जिल्ला अदालतले आदेश दिएपनि नेपालले पुनरावेदन गरेका छैनन् ।
घर खाली गराउन वडादेखि नगरपालिकासम्मको निर्देशन !
पीडित घरबेटीको निवेदन उपर वडा कार्यालयले पटक पटक घर खाली गर्न निर्देशन दिएको छ । निर्देशन विपरित इडेन पब्लिक इस्कुलले न्यौपानेको पैतृक सम्पत्तिमा बिना अनुमति नक्सा पास बिना विभिन्न संरचना निर्माण गरेको खुलेको थियो । गत माघ २९ मा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।
गत साउन १५ गते वडा कार्यालयले काठमाडौं महानगरपालिका न्यायिक समितिलाई पत्राचार गर्दै ‘इडेन पब्लिक स्कुलले १५ वर्षदेखि न्यौपानेको घर भाडामा लिएको र घर भाडाको लेनदेन सम्ब्न्धमा विवाद उत्पन्न भई पटक पटक छलफल गराउँना सहमति गराएकोमा निज रोहिका नेपालले सहमतिको उलंघन गरि घर जग्गा नछाडेको र घर भाडा बापतको रकम समेत नदिएको’ उल्लेख छ ।
त्यस्तै घर खाली गराउनका लागि काठमाडौं महानगरपालिकाले २०७६ पुस २३ गते इडेन पब्लिक स्कुलका प्रिन्सिपल रोहिका नेपालको नाममा पत्राचार गरेको छ ।
पत्रमा ३५ दिन भित्र घर खाली गर्न र भुक्तानी हुँन बाँकी रहेको घाडाबापतको १५ लाख ५० हजार भूक्तानी गर्न साथै नेपाल प्रहरीको सहयोगमा घर खाली गर्न निर्देशन दिएको छ । तर महानगरपालिकाको निर्देशन समेत पालना नभएको पाइएको छ ।
फणिन्द्रले वडाको आदेश नमान्दा कार्यालयलाई हैरानी !
काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोललाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले वडा सदस्य कृष्ण मणी भट्टराईलाई फोन दिए ।
महानगरपालिकामा चलेको मुद्दा पनि पीडित न्यौपानेले जितेका हुन्,’ भट्टराईले भने,‘अहिले इडेन पब्लिक स्कुल अदालतमा गएको भन्ने सुनेको छु । तर, अदालतको कुनै आधिकारीक पत्र हामीलाई आएको छैन ।’
फणिन्द्र नेपालको मोबाइल स्विच अफ ! न्यौपानेको घर भाडाको नाममा ‘कब्जा’ गरिएको विषयमा नेपालको मोबाइल नम्बर ९८६९३३९४६८ मा सम्पर्क हुनसकेन । तर, उनको मोबाइल अफ छ । स्राेतःदियाेपाेष्टबाट