Advertisement

चिनकाे कठोर परिश्रम पछि गरीबीविरुद्ध लडाइँ सफल र अन्त्य

0 626

Advertisement

१५ फागुन, एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो देशबाट गरीबी उन्मूलन गरेको घोषणा गरेका छन्। विगत आठ वर्षमा करीब १० करोड नागरिकलाई गरीबीबाट मुक्त गरेको चीनको दाबी छ। तर, चीनले गरीबी मापदण्डका लागि बनाएको आधारमा कतिपय विश्लेषकले शंका गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिक

बेइजिङस्थित ‘ग्रेट हल अफ दी पिपुल्स’ मा बिहीबार आयोजित भव्य कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरीबीविरुद्धको लडाइँमा देशले पूर्ण सफलता पाएको उद्घोष गरे। एक घण्टाभन्दा लामो भाषणमा उनले करीब १० करोड चिनियाँ नागरिकलाई चरम गरीबीको भासबाट निकालेको बताए। चिनियाँ आधिकारिक समाचार संस्था सिन्ह्वाले यो ‘सहस्राब्दीकै महत्त्वपूर्ण उपलब्धि’ भएको उल्लेख गरेको छ। 

राष्ट्रपति सीले ‘गरीबीविरुद्धको विशाल जनयुद्ध’ मा जित भएको पनि दाबी गरे। “यो चिनियाँ जनताको गौरव र सम्मान हो,” सभामा उनले भने, “यो इतिहासमा एक शानदार चमत्कार पनि हो।” कोरोना भाइरसका कारण संसारभरिका करोडौं नागरिक संकटमा पर्ने जोखिम बढेका वेला चीनले भने त्यस्तो दुष्परिणामसँग जुधेर गरीबी उन्मूलन गरेको उनको दाबी थियो। 

राष्ट्रपति सीको नेतृत्वमा विगत आठ वर्षमा चीनले ग्रामीण क्षेत्रका ८३२ जिल्ला र एक लाख २८ हजार गाउँका करीब १० करोड नागरिकलाई गरीबीको रेखामाथि उकाल्न सफलता पाएको छ। यो अवधिमा गरीबी उन्मूलन कार्यक्रममा मात्रै झन्डै २५० खर्ब डलर खर्च गरिएको थियो। 

कार्यकालको शुरूआतदेखि नै गरीबी निवारणलाई मुख्य लक्ष्य मान्दै आएका राष्ट्रपति सीले हरेक वर्ष विभिन्न दुर्गम क्षेत्रको भ्रमण गर्दै आएका थिए। भ्रमणमा उनले नागरिकको जीवनस्तर सुधार्ने नीति अघि सार्न निर्देशन पनि दिँदै आएका थिए। स्थानीय अधिकारीहरूले जनताको घरमा पुगेर गरीब पहिचान गरेपछि उनीहरूको आम्दानी बढाउन सहुलियत ऋणदेखि घरपालुवा जनावर अनुदान पनि दिएका थिए। 

विश्लेषकहरूले गरीबी उन्मूलनको नीतिले राष्ट्रपति सीलाई चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्से तोङपछिको शक्तिशाली नेताका रूपमा उभ्याउन मद्दत गर्नेछ। गरीबीविरुद्धको लडाइँको नेतृत्व गरेर सी आफ्नो शक्ति अन्तर्राष्ट्रिय मञ्चमा समेत पुष्टि गर्न चाहन्थे भनी विश्लेषकहरूले बताउँदै आएका छन्। “राष्ट्रपति सीले यसअघि कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता पाएको घोषणा गरिसकेका छन्, अहिले गरीबी उन्मूलनमा सफलता पाएको उद्घोष गरेका छन्। चीनले भोगिरहेका ठूला दुई समस्याको समाधानमा पाएको सफलता माओजस्तै स्थानमा उभिने राष्ट्रपति सीको कोशिशका लागि महत्त्वपूर्ण छ,” चीनको विषयमा पुस्तक लेखेका अमेरिकी प्राध्यापक कार्ल मिन्जनरले वाशिङ्टन पोस्टसँगको कुराकानीमा भनेका छन्।

चीनले सन् २०१२ यता करीब ११ लाख किमि ग्रामीण सडकको निर्माण तथा स्तरोन्नति, ग्रामीण क्षेत्रमा विश्वसनीय विद्युत आपूर्ति तथा ९८ प्रतिशतभन्दा धेरै गाम्रीण क्षेत्रमा फोरजी इन्टरनेटको पहुँच पुर्‍याएको चिनियाँ आधिकारिक सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।

चीनले सन् २०१२ यता करीब ११ लाख किमि ग्रामीण सडकको निर्माण तथा स्तरोन्नति, ग्रामीण क्षेत्रमा विश्वसनीय विद्युत आपूर्ति तथा ९८ प्रतिशतभन्दा धेरै गाम्रीण क्षेत्रमा फोरजी इन्टरनेटको पहुँच पुर्‍याएको चिनियाँ आधिकारिक सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। यो अवधिमा ७९ लाख परिवारको जीर्ण घर पुनःनिर्माण गरिएको र ९६ लाख नागरिकलाई नयाँ क्षेत्रमा पुनःस्थापित गरिएको थियो। 

यद्यपि, कतिपयले भने चीनको गरीबीविरुद्धको लडाइँको सफलतामा शंका जनाउने गरेका छन्। चीनले कसरी गरीबीको रेखामाथि उक्लिएका नागरिकको गणना गरेको हो वा कुन मापदण्डलाई आधार बनाइएको हो भन्ने राष्ट्रपति सी र आधिकारिक मिडियाले उल्लेख नगरेको वाशिङ्टन पोस्टले जनाएको छ। सन् २०१९ मा चीनको तथ्यांक ब्यूरोले ३५६ डलरभन्दा कम प्रतिव्यक्ति वार्षिक आम्दानी भएका नागरिकलाई गरीबीको रेखाभन्दा मुनि रहेको मापदण्ड उल्लेख गरेको थियो।

यसअघि चिनियाँ अधिकारीहरूले प्रतिव्यक्ति वार्षिक आय ६२० डलर अर्थात् प्रतिदिन १.६९ डलरभन्दा कम आम्दानी गर्ने नागरिक गरीबीको रेखामुनि पर्ने बताउँदै आएका थिए। विश्व ब्यांकको मापदण्डले दैनिक १.९ डलरभन्दा कम कमाउनेलाई गरीब मान्छ भने उच्च मध्यम देशले भने दैनिक ५.५० डलरभन्दा थोरै कमाउनेलाई गरीबको परिभाषामा समेट्दै आएका छन्। 

चीनको अर्थतन्त्र यो वर्ष ८ प्रतिशतले विस्तार हुने आकलनका बावजूद उपभोक्ताले गर्ने खर्च पूर्ण रूपमा लयमा नफर्किइसकेको तथ्यांकले देखाएको छ। विश्लेषकहरूले बेरोजगारी दर पनि सरकारले देखाउने भन्दा धेरै रहेको तथा विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीले कामको अवसर पाउन संघर्ष गर्नुपरेको उल्लेख गर्दै आएका छन्। 

कतिपय विश्लेषकहरूले भने, गरीबीको रेखामाथि रहेका भनिएका परिवारले जीविकाका लागि गहिरो संघर्ष गरिरहनुपरेको बताउने गरेका छन्। गत वर्ष चिनियाँ प्रधानमन्त्री ली खच्याङले चीनका करीब ६० करोड जनता (कुल जनसंख्याको ४० प्रतिशत) ले मासिक १५५ डलरमा जीवन निर्वाह गर्ने गरेको बताएका थिए, जसले राष्ट्रिय बहस निम्त्याएको थियो। 

चीनको आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तर उकास्ने लडाइँमा उदारवादी आर्थिक नीतिलाई महत्त्वपूर्ण फड्को मानिन्छ। चीनले तङ स्याओ फिङको उदार अर्थनीतिको बाटो अँगालेपछिका चार दशकमा ७७ करोड नागरिकलाई गरीबीको भासबाट बाहिर निकाल्ने सफलता पाएको सिन्ह्वाले जनाएको छ। 

गरीबी निवारणका लागि चीनले सन् १९९६ मै ‘पूर्वपश्चिम युगल सहयोग अभियान’ शुरु गरेको थियो, जसअन्तर्गतका चीनका दक्षिणपूर्वी क्षेत्रका सम्पन्न प्रान्त र पश्चिमी क्षेत्रका विपन्न प्रदेशबीच सहकार्यलाई जोड दिइएको थियो। चीनको आर्थिक उत्थानको नेतृत्व गरेका शाङतोङ, जिआन्सु, शाङहाई, चच्याङ, क्वाङतोङ लगायतका क्षेत्र बढी सम्पन्न र पश्चिमी क्षेत्रका सिन्चियाङ, तिब्बत लगायत केही प्रदेश तुलनात्मक रूपमा विपन्न मानिन्छन्। सम्पन्न प्रदेशले गरीब प्रदेशको गरीबी निवारणका लागि औद्योगिक सहयोग, मानव स्रोतको साटासाट तथा वित्तीय सहयोग गरेका थिए। 

सन् १९८६ मा चीन सरकारले शुरु गरेको बृहद् स्तरको गरीबी निवारण परियोजनाले पनि नागरिकको जीवनस्तर उकास्न ठूलो मद्दत पुर्‍याएको मानिन्छ। यो परियोजनाले विभिन्न क्षेत्रको आर्थिक उत्थानको मार्गचित्र तय गर्न सघाएको थियो। 

जस्तै, यसै परियोजनाअन्तर्गत कृषि तथा ग्रामीण मामिला मन्त्रालयले मध्य चीनको हुनान प्रान्तको याङ्गशुन जिल्लामा माटो परीक्षण गरी चिया खेतीको सम्भावना पत्ता लगाएको थियो, जसले त्यहाँका नागरिकको आय बढाउन मद्दत गरेको थियो। ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेटको विस्तारसँगै अनलाइन माध्यमबाट ग्रामीण किसानहरूले आफ्ना उत्पादन बिक्रीको अवसर पाएकाले पनि चीनको गरीबी निवारणमा ठूलो सफलता मिलेको चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले जनाएको छ। 

स्राेतः अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु वाशिङ्टनपोस्ट, फाइनान्सियल टाइम्स, सिन्ह्वा र सीजीटीएनको सहयोगमा तयार पारीएकाे फिचर रिपाेर्ट।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.