सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’, लयमा आउँदै पर्वतारोहण

0 727

१४ फागुन, काठमाडौँ । कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

नेपालको पर्वतारोहणमा मुख्य सिजन मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय जना आरोहीहरूले बुकिङ गरिसकेका छन् ।

पर्वतारोहणका लागि तुलनात्मक रूपमा लामो समय खर्चिनुपर्ने भएकाले क्वारेन्टिनको प्रावधान यसका लागि त्यति बाधक नहुँदा पनि आकर्षण बढेको शेर्पाको भनाइ छ । सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको चासो रहेको उहाँले बताउनुभयो ।
सरकारले कोरोना सङ्क्रमणकै अवस्थामा मन्त्रिपरिषद्बाटै बहराइनका राजकुमारसहितको टोलीलाई मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लु हिमालको सफल आरोहण गरेको थियो । कोरोना सङ्क्रमणयता भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । राजपरिवार सदस्यकै चासोले पनि कोरोनाकै अवस्थामा पर्वतारोहणका गतिविधि सुरु भएको थियो ।
मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँदयामका लागि भने अनुमति खुला गरेको थियो । विभागको पछिल्लो तथ्याङ्क अनुसार हिउँदयामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन् । यसबीचमा लुजा पिक, क्युङ्ग्या रीप् टु, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

पर्वतीय पर्यटनका लागि आरोहीले एक महिनाभन्दा बढी नै समय बिताउने भएकोले पाँच दिन क्वारेन्टिन बस्नुपरे पनि पर्वतारोहण भने चालू रहेको शेर्पा बताउनुहुन्छ । तर सीमित अवधिका लागि मात्र नेपाल आउने पर्यटकलाई क्वारेन्टिन प्रावधानका कारण पदमार्ग तथा घुमघामका लागि भने पर्यटक आउन सकेका छैनन् ।
पर्यटन व्यवसायीहरूले तत्काल यस्तो प्रावधान हटाएर कोरोना परीक्षणको आधारमा नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई घुमघामका लागि खुला गर्नुपर्ने माग राखेका छन् । देशभित्रै ठूला आमसभाहरू आयोजना हुँदा पर्यटकलाई क्वारेन्टिनकै कारण नेपाल भित्रिन रोक्न नहुने उनीहरूको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.