१४ फागुन, काठमाडौं । नेपालमा ४ मिटरभन्दा ठूलो साइजमा आउने कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोस बीच प्रतिस्पर्धा भइरहेको छ । कोरियन ब्राण्डका यी दुबै एसयूभी एउटै प्ल्याटर्फममा तयार भएको हो भने इन्जिन पनि एउटै रहेको छ ।
कोरियन अटो जाइन्ट हुन्डाईको स्वामित्वमा रहेको हुन्डाई र किया एउटै छाता संगठबाट संचालन रहेका दुई छुट्टाटुट्टै ब्राण्ड हुन् । भारतमा सन् १९९८ बाट हुन्डाईले गाडी उत्पादन गर्दै आएको छ भने कियाले सन् २०१९ बाट मात्रै उत्पादन थालेको हो ।
कियाको भारतीय पहिलो उत्पादनको रुपमा नेपाल आएको सेल्टोस नेपाली बजारमा राम्रै संख्यामा विक्री हुँदै आएको छ ।
हुन्डाईले क्रेटा सन् २०१६ मा भारतमा पहिलो पटक उत्पादन गरेको कम्प्याक्ट एसयूभी हो । यसलाई कम्पनीले नेपालमा पनि विगत ५ वर्षदेखि नै विक्री गर्दै आएको छ । सन् २०१८ मा फेसलिफ्ट क्रेटा बजारमा ल्याएको हुन्डाईले २०२० मा नयाँ जेनेरेशन क्रेटा बजारमा ल्याएको थियो ।

अहिले हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङले आफ्ना दुई उत्पादन नेपालमा विक्री गर्दै आएका छन् । यी दुबै गाडीमा धेरै फिचर समान रहेका छन् भने डिजाइनमा भने धेरै परिवर्तन रहेको छ ।
दुबै गाडीमा एउटै इन्जिन उपलब्ध रहेको छ । हुन्डाई मोटर्स कम्पनीको अधिनमा रहेका यी दुबै ब्राण्डको बीचमा हुने प्रतिस्पर्धा निकै रोचक रहेको छ ।
बजारमा उपस्थितिका हिसावले क्रेटा पुरानो मोडल हो भने, किया सेल्टोस नयाँ मोडल हो । अहिले धेरैलाई कुन गाडी किन्ने भन्ने अन्योलता समेत रहेको पाइन्छ । यस्तोमा यी दुई कारमा रहेको तुलनात्मक भिन्नता हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।
एउटै इन्जिन
किया सेल्टोस र हुन्डाई क्रेटा एउटै इन्जिनमा उपलब्ध रहेको छ । कम्पनीले यी एसयूभीमा समान १.५ लिटर पेट्रोल, १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध गराएको छ । यी गाडीले प्रदान गर्ने पावर र टर्क पनि समान रहेको छ । गियरबक्सपनि दुबैमा एउटै प्रदान गरिएको छ ।
इन्जिनको हिसावले यी दुई एसयूभी किन्नेले दुबैमा समान पावर, माइलेज र पर्फमेन्स पाउने छन् ।
लुक्स
दुबै एसयूभी निकै स्पोर्टी डिजाइनमा तयार भएका छन् । दुबैमा थ्रि पिस एलइडी हेडल्याम्प र डेटाइम रनिङ लाइट दिइएको छ । तर, दुबैमा हेडल्याम्पको डिजाइन भने फरक पाउन सकिन्छ ।
हुन्डाई क्रेटामा बम्परमा फगल्याम्प, कर्भि क्यासगेडिङ ग्रिल, अलोय ह्वील, एलइडी टेल ल्याम्प क्लष्टर दिइएको छ ।
सेल्टोसमा टाइगर नोज ग्रिल, बम्परमा आल्मुनियम बोर्डर, एलइडी टेल ल्याम्प, क्रोम फिनिस जस्ता विशेषता पाउन सकिन्छ ।
साइज
सेल्टोसको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६४५ एमएम रहेको छ । हुन्डाई क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम र उचाई १६३५ एमएम रहेको छ । यी दुबै एसयूभीमा समान २६१० एमएमको ह्वीलवेस र ४३३ लिटरको बुटस्पेश पाउन सकिन्छ । साइजमा किया सेल्टोस १० देखि १५ मिलिमिटर ठूलो रहेको छ ।

ड्यासबोर्ड
कियाले भारतमा उत्पादन गरेको पहिलो एसयूभी सेल्टोसको ड्यासबोर्डमा स्टाइलिस फिचरहरु दिएको छ । सेल्टोसको ड्यासबोर्डमा सिल्भर र पियानो व्ल्याक फिनिस पाउन सकिन्छ भने सफ्टटच मेटेरियलको प्रयोग गरिएको छ । यसको डोर प्यानल र ड्यासबोडमा डबल स्टेचिङ लेदरको प्रयोग गरिएको छ । यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको थियो ।
क्रेटाको ड्यासबोर्डमा हार्ड साइनिङ प्लास्टीकको प्रयोग गरिएको छ । पूर्णत व्याक कलर प्रयोग गरिएको ड्यासबोर्ड सफा देखिन्छ भने यसमा प्रयोग गरिएको १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले एसयूभीको ड्यासबोर्ड आकर्षक देखाएको छ ।
अन्य समान फिचर
दुबै एसयूभीमा एयर प्यूरिफायर, रियर विन्डो व्लाइन्ट, टायर प्रेसर मोनिटर, ड्राइभिङ मोड अप्सन, अटो हेडल्याम्प, स्टेरिङ एड्जस्ट, कनेक्ट फिचर, पानारोनीक सनरुफ, पार्किङ क्यामेरा, पार्किङ सेन्सर, ६ वटासम्म एयरव्याग, एबीएस, इबीडी र इएससी जस्ता फिचर रहेका छन् ।
मूल्य
तत्काल डिजेल इन्जिनमा क्रेटा उपलब्ध रहेको छैन । पेट्रोल इन्जिनयुक्त क्रेटा ३ भेरियन्टमा उपलब्ध रहेको छ । क्रेटा एस भेरियन्टको मूल्य ५३ लाख ९६ हजार, क्रेटा एसएक्स भेरियन्टको ६१ लाख ५६ हजार र एसएक्स अटोमेटिक भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीले सुरुवाती भेरियन्ट एक्सइ भने नेपाल ल्याएको छैन ।
सेल्टोसको पेट्रोल इन्जिनमा दुई भेरियन्ट उपलब्ध रहेको छ । यसको सुरुवाति भेरियन्ट एचटीकेको मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ । त्यस्तै एचटीके प्लस भेरियन्टको ५३ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले डिजेल इन्जिनमा एचटीके प्लस भेरियन्टको ५७ लाख ९० हजार, एचटीएक्स भेरियन्टको ५९ लाख ९० हजार, एचटीएक्स प्लसको ६६ लाख ९० हजार, एचटीके प्लस अटोमेटिकको ६० लाख ९० हजार, र जिटीएक्स प्लस भेरियन्टको ७६ लाख ९० हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
#हुन्डाई #क्रेटा #किया_सेल्टोस #डिजेल #पेट्रोल