Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाली आरोही भरिया मात्र होइनन्, मैले हिमाल चढ्न घर बिक्री गरे

0 568

१३ फाल्गुन, काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण दलको नेतृत्व गरेका निर्मल पूर्जा पुनमगरले नेपाली आरोही भरिया मात्र नभएको बताए ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा सम्मान ग्रहण गर्दै उनले हिमाल आरोहण गर्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।

आफूले ३० वर्षको उमेरमा हिमाल आरोहण आरम्भ गरेको उल्लेख गर्दै पुनमगरले सामूहिक भावनाका कारण कठिन आरोहण सम्भव भएको बताए ।

Subscribe to our newsletter

आफूहरु तीन वटा समूहमा गए पनि अन्तिममा सामूहिकरुपमा योजना बनाएर केटु हिमाल आरोहण गरेको उनको भनाइ छ । ब्रिटिश गोर्खा सेनामा १६ वर्ष जागीर गरी छाडेर हिमाल आरोहणको यात्रा थालेको पुनमगरले सुनाए ।

नेपालीले सधैँभरि हिमाल आरोहीको भरिया बन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालीले चाहे गर्न नसक्ने कुनै पनि काम नभएको आफूहरुले प्रमाणित गरेर देखाएको बताए ।

“विदेशी आरोहीले नेपाली भरिया मात्र हुन भनेर होच्याउने गरेका छन्, त्यो हामीलाई सह्य छैन”, पुनमगरले भने । उनले विश्वकै अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमानसमेत बनाएका छन् ।

“मैले हिमाल चढ्न घर बिक्री गरे, कतिपयले यो त बहुला रहेछ भने”, उनले विगत सम्झिँदै भने, “म आफ्नो लक्ष्यमा निरन्तर लागिरहेँ, आज सफलता मिलेको छ ।”

माइनस ६५ डिग्री सेन्टिग्रेटको तापक्रममा ३५ किलोग्राम भारी बोक्दै केटु हिमाल आरोहण गरेको उनले सुनाए ।

“लक्ष्य हिमाल आरोहण गरेरै छाड्ने थियो, इतिहास बनाउनबाट वञ्चित हुने मन थिएन, विश्वभर नेपालीको नाम उँचो राख्न सफल भयौँ”, उनले भने ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले केटु हिमाल आरोहण दलका नेता पुनमगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरे ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.