मिसिलमा भुलवश फोटो फरक पर्‍यो, हत्या आरोपमै मुद्दा चल्छ – प्रहरीले

0 432

१२ फाल्गुन, विराटनगर । मोरङको उर्लाबारीका युवा प्रविन बास्तोला मृत्यु प्रकरणमा स्थानीय र आफन्तले उठाएको जिज्ञासा र आशंका निरूपण गर्न प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी घटनाको अनुसन्धान र  प्रहरीले हालसम्म प्राप्त गरेका उपलब्धिबारे जानकारी गराएका हुन् । एसपी खड्काले मिसिलमा भुलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्न नमिल्ने बताए ।

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोला गएको पुस ५ गते मृत फेला परेका थिए । सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो ।

एसपी खड्काले भने, “तस्बिर फरक परे पनि मृतकको परिचय फेरिएको छैन । हामीले कर्तव्य ज्यानसम्बन्धी अपराधमै मुद्दा चलाउछौँ । मुद्दा किनारा लागेको होइन, थप दुई आशंकितलाई पक्राउ गर्दै छौँ ।“ एसपी खड्काले प्रहरीबाट कमजोरी भए/नभएको अनुसन्धान गर्न डीएसपी नेतृत्वको छानबिन समितिले काम थालिसकेको जानकारी दिए ।

मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । पक्राउ परेका उनी माघ २ गते सरकारी वकिल कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटेका छन् । आफन्तले भने तस्बिर फरक परेकोले सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाएको बताउँदै आएका छन् ।

प्रविन मृत्यु प्रकरणमा मिसिलमा फरक तस्बिर परेको र अनुसन्धानमा कमजोरी भएको भन्दै आफन्त तथा स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । यसैगरी, न्याय माग्दै आफन्त र स्थानीयले विराटनगरस्थित सरकारी वकिलको कार्यालय र मोरङ जिल्ला प्रशासन कार्यालयमा समेत प्रदर्शन गरेका छन् ।

उर्लाबारीको अस्पतालमा मृत अवस्थामा फेला परेका प्रविनको मृत्यु सम्बन्धमा प्रहरीले मिहीन ढंगले अनुसन्धान भइरहेको दाबी गरेको छ । उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षकसहितलाई अनुसन्धानमा तानिएको बताइएको छ ।

एसपी खड्काले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण ‘भायोलेन्ट एसपाइसिया’ भन्ने रिपोर्ट आएको जानकारी दिए । तर, भिसेरा रिपोर्टको प्रतीक्षा रहेको मोरङ प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.