Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘दुई रुपैयाँ पाथी धान बेचेर पढेँ’ – पूर्वसचिव बाबुराम आचार्य

0 43

०३ माघ, कास्की । कास्कीको पोखरा– १९ लामाचौरमा जन्मेका बाबुराम आचार्य नेपाल सरकारका पूर्वसचिव (सन् २००७–२०१०) हुन्। उनले ३० वर्षभन्दा बढी नापनक्सा, भूमिलगत, जग्गा प्रशासन र व्यवस्थापनका क्षेत्रमा काम गरे। सरकारी सेवाको दौरानमा उनी ६ वर्ष नापी विभागको महानिर्देशक भए।

त्यस्तै, सुशील कोइराला प्रधानमन्त्री (सन् २०१४–२०१५) हुँदा प्रशासनिक सल्लाहकार रहेका थिए। उनै आचार्यको संघर्ष र जागिरे जीवनबारे ‘काठमाडौं प्रेस’ को ‘अवकाश जीवन’ श्रृंखलामा प्रस्तुत गरिएको छ।

दिदी एसएसली फेल हुँदा…

बाबुरामका बुवा खिमलाल आचार्यले कुनै विद्यालय स्तरको शिक्षा लिएका थिएनन्। घरमै पढेका आधारमा वेदसँगै संस्कृत साहित्य पाठ गर्न सक्थे। बाबुरामकी आमा हिमकुमारी साधारण गृहणी थिइन्।

बाबुरामलाई लाउन–खानको कुनै दुःख थिएन। घरको उब्जनीले खान मात्रै होइन, बेच्न पुग्थ्यो। २०१३ सालमा उनका बुवाले पोखरा लामाचौरमा ‘अकला प्राइमरी स्कुल’ खोल्न दुई रोपनी जग्गा दिएका थिए। उक्त विद्यालय स्थापना हुनुले बाबुरामसँगै उनका दिदीबहिनीले पढ्ने मौका पाएका थिए।

२०२२ सालमा दुई विषय लागे पनि एसएलसी पास हुने प्रावधान थियो। उनकी दिदी चन्द्रकुमारीलाई दुई विषय लाग्दा फेल भएको नतिजा प्रकाशित गरियो। किनभने, त्यतिबेला दुई मात्र छात्राले अध्ययन गर्दथे। अर्की छात्रा चारवटा विषय लागेर फेल भएकी थिइन्। ‘एक छात्रा पास हुने, अर्को फेल किन हुने !’ भनी कक्षा शिक्षक र विशेष गरी राजनीतिज्ञ शिक्षकले आफ्नी दिदीलाई फेल गराएको बाबुराम सुनाउँछन्।

उक्त घटनापछि चन्द्रकुमारीले उक्त विद्यालय नै छाडिदिइन् र ‘मल्टिपल पर्पोज नेसनल हाइस्कुल’मा १० कक्षामा भर्ना भइन्। बाबुराम पनि दिदीको साथीका रूपमा सोही विद्यालमा ९ कक्षामा भर्ना भए। उनका चार दिदी, एक बहिनी र एकजना भाइ छन्।

पूर्वसचिव बाबुराम आचार्य

‘छोरीले पनि पढ्नुपर्छ भन्ने बुवाको विचार थियो,’ बाबुराम भन्छन्, ‘त्यसैले मेरा सबै दिदीबहिनी साक्षर छन्। उनका दुई दिदीले कक्षा १० मा असफल भएपछि पढेनन्। साइँली दिदीले भने एसएलसी दिएर शिक्षिका समेत भइन्। बाबुराम अध्ययनमा अब्बल नै थिए, कक्षामा सधैँ पहिलो श्रेणीमा नआए पनि पहिलो, दोस्रो र तेस्रोको श्रेणीमा उनको नाम छुट्दैनथ्यो।

उनले मल्टीपर्पस नेसनल हाइस्कुल पोखराबाट एसएलसी दिए। बिएससी गरेपछि पोखराको हेम्जास्थित गौरीशंकर माविमा दुई वर्ष पढाएर उनी पहिला पढ्दापढ्दै छाड्नुपरेको विन्ध्यवासिनी माविमा गणित र विज्ञान शिक्षक हुन पुगे। यहाँ डेढ वर्ष पढाएपछि सरकारी सेवामा लागेका हुन्।

‘गणितको कोर्स परिमार्जन गर्न आवाज’

२०२८ सालमा भर्खर नयाँ शिक्षा योजना लागू भएको थियो। २०२९ सालमा उनी गौरीशंकर मावि हेम्जामा गणित र विज्ञान शिक्षक थिए। ७ कक्षाको गणित विषयको किताब वा कोर्स यति कठिन थियो कि बिएससी गणित गरेका उनीजस्ता शिक्षकलाई पनि पढाउन गाह्रो थियो। राष्ट्रिय शिक्षा समितिको अध्यक्ष र सदस्यहरूमा ठाकुरमान शाक्य, मोहमद महसिन र वीरबहादुर गुरुङहरू थिए।

पश्चिमाञ्चल क्षेत्रमा सञ्चालन गरेको गोष्ठीमा उनी लगायत गणित शिक्षकहरू ७ कक्षाको गणितको कोर्सका बारेमा असहमत भए। फलस्वरुप उनी र अर्का एकजना गणित शिक्षकलाई अनुशासन नभएका शिक्षकका रुपमा शिक्षा कार्यालयमा दर्ज गरियो। ‘सायद हामीलाई नयाँ शिक्षा योजनाको विरोधीका रूपमा राखिएको होला भन्ठानेर हामी झन् उत्साहित भयौं,’ बाबुराम भन्छन्, ‘आखिर, अर्को वर्ष सो कोर्सलाई परिमार्जन गरी हामीले भनेजस्तै सरल बनाइयो। हामी खुसी भयौं।’

स्कुल पढाउँदा उनका प्रिय विद्यार्थी थिए– कृष्ण थापा। जो पछि फुटबलमा स्थापित भए, राष्ट्रिय टोलीका स्ट्राइकर भएर थुप्रै अन्तर्राष्ट्रिय खेल खेले।

कृष्ण पढाइमा त्यति अब्बल विद्यार्थी त थिएनन्। बाबुरामले कृष्णलाई एसएलसी पास गराउन पाए सेनामा सेकेन्ड लेफ्टिनेन्ट बन्न सक्ने देखेका थिए। त्यसैले बाबुराम कृष्णको घरमै पुगेर पढ्नलाई बोलाउँथे। ट्युसन पढाउन लगाएर हुन्छ कि कक्षामा बाहेक थप पढाउन जोड गरिराख्थे। ‘एसएलसीमा कृष्ण पास भएको दिन मेरो छाती गर्वले चौडा भएको थियो,’ बाबुराम भन्छन्, ‘कृष्ण एसएलसी परीक्षा पास हुन साथ आर्मीमा भर्ना भए। नेपालको राणा शासनको अन्तिम प्रधानमन्त्री मोहनशमशेर राणाको एडिसीका छोरा हुन् कृष्ण।’

बाबुरामको सोचमा विद्यार्थी फेल हुनु भनेको शिक्षक फेल हुनु हो।

‘दुई रुपैयाँ पाथी धान बेचेर पढेँ’

आइएसीपछि बाबुरामले पढ्न मन गरेका थिएनन्। बिएससी पढेर शिक्षक बन्ने सोच बनाएका थिए। उनलाई बुवाले भने, ‘अरुले पढ्न खोजेर पनि पढ्न पाउँदैनन्। तँलाई मैले दुःख गरी धान बेचेर पढाउँछु भन्दा पनि नपढ्ने !’

बुवाले यसो भनेपछि बाबुराम पुुनः थप अध्ययनमा अग्रसर भए। त्यतिबेला पढ्नका लागि मासिक पाँच–दश रुपैयाँ फी तिर्नुपथ्र्यो। ‘२०२५ सालमा पोखरामा एक पाथी धानको त्यस्तै एक वा दुई रुपैयाँ पथ्र्यो,’ बाबुराम सम्झन्छन्, ‘धान बेचेरै मैले बिएससी सकाएँ।’ त्यसपछि उनले प्राइभेट विद्यार्थीको रूपमा त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा एमएससी र बिएलको डिग्री पनि हासिल गरे।

उनको बुवाको इच्छा थियो – छोराले एमएससी गरेर पोखरा पृथ्वीनारायण कलेजमा पढाओस्, सामाजिक काम गरोस् र साथै प्रेस सञ्चालन गरी व्यवसाय गरेर पत्रिका पनि चलाओस्। उनका बुवा स्थानीय स्तरमा गन्नेमान्ने व्यक्ति थिए।

बुवाले उनलाई २०३३ सालको दशैंतिर प्रेससम्बन्धी बुझ्न काठमाडौं बालाजुस्थित जोरगणेश प्रेसमा पठाए। ‘त्यसै समयमा प्रेसका कुरा अलिकति बुझेर बुवालाई नभनी म नापीसम्बन्धी तालिममा छिरेँ,’ बाबुराम भन्छन्, ‘मलाई सरकारी जागिर खुवाउन बुवालाई त्यति रुचि थिएन। पछि बेलाबेला मलाई जागिरे जीवनमा परेका अप्ठेरा सुनेपछि भन्नुहुन्थ्यो– मैले त तेरो बानी देखेर सरकारी जागिर खान गाह्रो होला भनेकै थिएँ।’

गणितको कोर्स बदल्न छोराले आवाज उठाएका जस्ता विषयमा उनका बुवा जानकार थिए।

‘नापी र मालपोत एउटै हुनुपर्छ’

बाबुराम २०३४ कात्तिकदेखि निजामती क्षेत्रमा प्रवेश गरेका हुन्, नापी अधिकृतको पदबाट। २०३३ सालमा काभ्रेको धुलिखेलस्थित ‘नापी तालिम केन्द्र’ अन्तर्गत ‘सिनियर सर्भेअर कोर्स’ गरेपछि उनको निजामती सेवा सुरु भएको हो। उनको समयमा जागिर खान त्यति प्रतिस्पर्धा हुँदैनथ्यो। कुनै सरकारी संस्थामा १० जना कर्मचारी मागेको ठाउँमा २० जना जतिले मात्र आवेदन दिने उनी सुनाउँछन्।

नापी विभागबाट जागिर सुरु गरेका उनी पछि नापी विभागमै ६ वर्ष महानिर्देशक भए। महानिर्देशकको कार्यकालमै २०५६ को आमनिर्वाचनका लागि उनले निर्वाचन क्षेत्र निर्धारण आयोगको सचिव भएर काम गरे।

महानिर्देशकमा लामो समय काम गरेपछि सरुवा हुनु स्वाभाविकै थियो। तर आफूलाई मन्त्रालयमा पनि नराखीकन टाढा सरुवा गराइएकामा उनी गुनासो गर्छन्। नापीपछि उनले क्षेत्रीय प्रशासक कार्यालय दिपायलमा कानुन क्षेत्रीय प्रशासकका रुपमा पाँच महिना कार्य गरे। सरुवाका सम्बन्धमा एक–दुई कर्मचारीले आफूलाई दुःख दिएको उनको गुनासो छ।

मन्त्रालयमा राख्दा खुरुखुरु निर्देशन मान्नेभन्दा पनि नीतिगत विषय उठाएर अड्डी लिन्छ भन्ने अड्कल सोचेरै आफूलाई सरुवा गरिएको उनी बताउँछन्। किनकि उनले नापी र मालपोत कार्यालय एउटै हुनुपर्छ भन्ने कुरा उठाउँदै आएका थिए।

नापी गोश्वाराले तयार गरेको श्रेस्ता–लालपुर्जाको डुब्लिकेट (अफिस कपी) नै मालपोत कार्यालयले सञ्चालन गर्ने हो। श्रेस्ता र नक्सा तयार पार्ने, अध्यावधिक गर्ने काम नापीले गर्छ। नापीले बुझाएको श्रेस्ता र लालपुर्जाको अध्यावधिक मालपोतले गर्छ। यसरी एउटै काम गर्न दुईवटा कार्यालय आवश्यक नभएको उनको निक्र्योल छ।

२०६३ सालमा भूमिसुधार मन्त्रालयमा सचिव भई काम गर्दा नापी र मालपोत कार्यालय एउटै बनाउनुपर्ने, जग्गासम्बन्धी मुद्दाहरू अदालतमा धेरै भएकाले समयमा निरुपण गर्नका लागि भूमि न्यायाधिकरण बनाउनुपर्ने, अमिन पद खारेज गरी नापी गर्ने प्राविधिकको योग्यता ३ वर्षको नापी इन्जिनियरिङमा डिप्लोमा भएको हुनुपर्ने व्यवस्था गरे। नापी इन्जिनियरहरूलाई निजी क्षेत्रमा काम गर्न नापजाँच ऐन बमोजिम ‘लाइसेन्स सर्भेयर’को व्यवस्था हुनुपर्ने, जग्गाको नापी ‘स्थिर सीमा सिद्धान्त’का आधारमा हुनुपर्ने, गुठी–नापी–मालपोतको काम समायोजन गर्नुपर्ने, स्थानीय निकायहरू नगर र गाउँपालिकामा नापी पेसाकर्मीको दरबन्दी राखी घरदैलोमै जनतालाई सेवा दिनुपर्ने उनकै पहलमा भयाे।

जग्गासम्बन्धी कानुन व्यवसायीको योग्यता कानुनमा स्नातक वा नोटरी पब्लिकसरह हुनुपर्ने, नक्साको ज्ञान विद्यालयसम्म दिनुपर्ने र जग्गाको वैज्ञानिक मूल्यांकनको व्यवस्थापन हुनुपर्ने आदिका लागि बाबुरामले आफ्नो जागिरे जीवनभरि पहल गरे। उनी भन्छन्, ‘तर, सफल हुन सकिनँ। मलाई तत्कालै सरुवा गरियो र वन मन्त्रालयका प्राविधिक सह–सचिवलाई कामु गरी भूमिसुधार सचिवको जिम्मेवारी दिइयो।’ अझै पनि यी कामहरू गर्नुपर्छ भने मान्यता उनी राख्छन्।

यस विषयमा पूर्व र वर्तमान कर्मचारी कसैले पनि आवाज नउठाएकाले उनी दुःखी छन्।

महानिर्देशक बन्न अवरोध

२०३६ सालको जनमत संग्रहमा नापी विभागका केही अधिकृतलाई बहुदलीय पक्षको भनेर चुनावपछि काठमाडौंबाट बाहिर सरुवा गरियो। त्यो घानमा बाबुराम पनि परे। बाबुरामले जागिरे जीवनमा यस्ता थुप्रै समस्यासँग जुध्नुपर्यो।

युएनअन्तर्गत कम्बोडियामा बिदा लिएर स्वयंसेवक भई काम गर्दागर्दै बाबुराम प्रथम क्षेणीमा बढुवा भए। त्यहाँबाट फर्केर नापी विभागमा हाजिर भएपछि मात्रै उनको बेतलबी र असाधारण बिदा स्वीकृत भएको थियो। प्रथम क्षेणीमा बढुवा भएपछि नापी विभागमा उनी नै सिनियर थिए। ‘तर, त्यतिबेला द्वितीय क्षेणीको मान्छे अनेक प्रपञ्च गरी कामु महानिर्देशक थिए। पछि मैले फेरि कम्बोडिया नै जाने सोच बनाएँ,’ बाबुराम भन्छन्, ‘घरमा सबै खुसी भए। तर बुवाले किन पीर मानेको, महानिर्देशक नभएर के हुन्छ र ? फेरि बाहिर जा। नभए घरमै शिक्षक भएर बस्। खान पुगिहाल्छ।’

बुवाको यस कुराले बाबुरामलाई ऊर्जा मिल्यो। बुवासँग कुरा भएको एक घन्टापछि उनी आफ्नी सासूलाई भेट्न पुगे। सासू आमाले पनि बुवाकै कुरा दोहोर्याइन्। कस्तो अचम्म ! त्यतिबेला फोन थिएन, कस्तो टेलिप्याथी !

काठमाडौं आएपछि उनले आफ्नो कुरा राखे। त्यतिबेला चिरञ्जीवी वाग्ले मन्त्री थिए, उनको कुराको सुनुवाइ भएन। यसैबीच उनको सम्पर्क भयो, २०४८ सालमा माथिल्लो सदनका सांसद् भएका विदुर गुरुसँग। जोसँग उनको २०२८ सालमा गुरु पद्मप्रसादको घरमा सामान्य परिचय भएको थियो। बाबुरामले विदुर गुरुसँग कुरा राखे। ‘उहाँले हुनेवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भन्नुभएछ क्यारे, तत्काल त्यसै दिन मलाई महानिर्देशकको पत्र दिइयो,’ बाबुराम भन्छन्, ‘न्याय पाइयो र ६ वर्षसम्म सो पदमा रहियो।’

आफन्तबाटै चलखेल

नेदरल्यान्डबाट मास्टर्स डिग्री सकेर फर्केपछि (२०४९, असोजमा) उनको जिम्मेवारी नापी विभागको योजना शाखामा थियो। त्यतिबेला बुद्धिनारायण श्रेष्ठ महानिर्देशक, बेखालाल श्रेष्ठ उपमहानिर्देशक र राजेन्द्र मराठा योजना शाखा प्रमुख थिए। २०४९ कात्तिक २१ गते महानिर्देशक र योजना प्रमुखलाई सरकारबाट अनिवार्य अवकाश दिइयो। त्यसपछि रामनरेश सिंह महानिर्देशक भए। ‘त्यसताका म एक्लैले योजना शाखा र एक प्रकारले विभाग नै धानेको थिएँ,’ उनी भन्छन्, ‘रामनरेश हकी र कडा स्वभावको हुनुहुन्थ्यो।’

नापीबाट बाबुरामको सरुवा सरकारी तथा सार्वजनिक जग्गा छानबिन आयोगमा भयो। त्यहाँ हुँदा द्वितीय श्रेणीमा बढुवा भएपछि उनले बिदा लिएर सेरालियोनको युएन भोलेन्टिअरमा जाने निधो गरे। त्यसपछि बिदा माग्न तत्कालीन भूमिसुधार सचिव विष्णु खत्रीको कार्यकक्षमा पुगे। ‘सचिवले तुरुन्तै सह–सचिव हेममेहर श्रेष्ठलाई बोलाएर भन्नुभयो– बाबुरामलाई बिदा नछोड्नु र बिदा नलिई गएमा कारबाही अगाडि बढाउनू,’ बाबुराम भन्छन्, ‘म असमञ्जस्यमा परेँ।’

त्यस बेला सचिवले बाबुरामलाई भनेछन्, ‘तिमी होनहार छौ, सचिव हुन्छौ, किन अहिल्यै जानुप¥यो ? रिटायर्ड भएपछि पनि जान पाइन्छ। तिमीलाई राम्रो भनेर मन्त्रीज्यू र मैले ६ नम्बर नापी गोश्वारा काठमाडौंमा पठाएका हौं। राम्रो काम गर। तिम्रो ‘आफन्त अधिकृत’ले त्यहाँ जान अनेक प्रपञ्च गरेका थिए। हामीले भुस बनाइदियौं।’

एक्लै काम गर्न गाह्रो भएपछि आचार्यले आफूसरहका एक ‘आफन्त अधिकृत’लाई योजना शाखामा ल्याउन रामनरेशलाई मनाएका थिए। ‘तर, ती आफन्त अधिकृतकै कारण तीन–चार महिनामै त्यो कार्यालय दुर्योधन र सकुनीको घरजस्तो लाग्न थाल्यो,’ बाबुराम भन्छन्, ‘फलस्वरुप मेरो सरुवा सरकारी तथा सार्वजनिक जग्गा छानबिन आयोगमा भएको थियो।’

सचिव हुँदा

सचिव विष्णु खत्रीको भविष्यवाणी बमोजिम नै पछि बाबुराम सचिव भए। बाबुरामलाई आफू सचिव हुन्छु भन्ने लागेको थिएन। किनभने उनले काम गरेका केही मानिस औधि होनहार थिए।

‘मैले कञ्चनपुरमा बसोबास आयोगमा न्यायाधीश सर्वज्ञराज पण्डित र सदस्यसचिव अमृतमान श्रेष्ठ, धनगढीमा न्यायाधीश ब्रह्मदत्त तिवारी, सहकारी जग्गा छानबिन आयोगमा रामबहादुर रावल, मोहियानी आयोगमा झपटसिंह रावल, निर्वाचन क्षेत्र निर्धारण आयोगमा न्यायाधीश केदारनाथ आचार्य र वीरबहादुर शाही, सचिवहरूमा विश्वमान श्रेष्ठ, विष्णु खत्री, माधवलाल तावेदार, नारायणविक्रम शाह, सह–सचिव हेममेहर श्रेष्ठ र उपमहानिर्देशक बेखालाल श्रेष्ठजस्ता मूर्धन्य र क्षमतावान व्यक्तित्वसँग काम गरेको थिएँ,’ बाबुराम भन्छन्, ‘आफू उहाँहरू जस्तो प्रतिभाशाली नभएकाले कसरी सचिव भइएला भन्ने लाग्थ्यो।’

सचिव हुन सहसचिव हुँदा मूल्यांकन राम्रो हुनुपर्छ। नापी पेसाबाटै सचिव भएका योद्धा साहले दुई वर्षसम्म असर पार्ने गरी आफ्नो मूल्यांकन गरिदिएको बाबुराम सुनाउँछन्। उनी भन्छन्, ‘नापी र मालपोतका केही कर्मचारीको सल्लाहमा मेरो मूल्यांकन बिगारिएको थियो।’ तर त्यसको केही समयपछि उनी सचिव भए।

उनको पोस्टिङ श्रम तथा यातायात मन्त्रालयमा परेको थियो। सचिव भएको पहिलो दिन घर फर्कंदै गर्दा चालक बुद्धिकुमार महर्जनले भनेछन्, ‘सर, तपाईंलाई नापी र मालपोतका केही नराम्रा व्यक्तिले खेदेको हामीलाई पनि थाहा छ। तपाईं दुई महिना मात्र भए पनि भूमिसुधार मन्त्रालयको सचिव हुनुपर्छ।’ बाबुराम थप्छन्, ‘मलाई उनको कुरा चित्त बुझ्यो। भोलिपल्ट बिहानै बालुवाटार गएर प्रधानमन्त्रीलाई अनुरोध गरेर भूमिसुधारकै सचिव भएँ। मलाई भूमिसुधारमा आउन नदिने ग्रुपले थाहै पाएन।’

सचिव भएपछि पहिले आफूलाई खेद्ने केही अधिकृतलाई साथमा लिएर काम गरेको बाबुराम बताउँछन्।

‘नापीसम्बन्धी डिग्री कोर्स’

विभिन्न ठाउँमा सरुवा हुँदै उनी नापी तालिम केन्द्रमै कार्यकारी निर्देशक हुन पुगेका थिए। यस अवधिमा आफूले नापीसम्बन्धी डिग्री कोर्सका लागि पहल गरेको र सफल भएको उनी बताउँछन्।

जागिरकै क्रममा जियोडेसी र कार्टोग्राफी डिप्लोमा गर्न उनी सन् १९८३ मा चकोस्लोभाकिया पुगेका थिए। त्यहाँ उनलाई अध्ययनका क्रममा शिक्षकले सोधेका थिए, ‘तिम्रो देशमा ल्यान्ड सर्भेइङ पढ्ने कतिवटा कलेज छ ? तिमी कुन युनिभर्सिटीमा पढेको ?’

उनले अन्य शिक्षा त युनिभर्सिटीबाटै लिएका थिए। नापीबारे भने इन्स्टिच्युटबाट तालिम लिएर त्यहाँ पढ्न गएका थिए। ‘त्यहाँ मैले नापीको डिग्री कोर्स नेपालमा रहेनछ भन्ने थाहा पाएँ,’ बाबुराम भन्छन्, ‘नेपाल फर्किएपछि विभिन्न सेमिनारमा इन्जिनियर कलेज खोल्नुपर्छ भनेर बोल्न थालेँ। लेखमार्फत पनि यही विषयलाई महत्त्व दिएर लेख्न थालेँ।’

तालिम केन्द्रमा कार्यकारी निर्देशक भएका बेला उनले काठमाडौं युनिभर्सिटीका भिसी डा. सुरेशराज शर्मा र तत्कालीन रजिस्ट्रार भोला थापासँग छलफल गरे, उक्त कलेजमा नापीसम्बन्धी डिग्री कोर्स राख्नेबारे। छलफल सफल भएर काठमाडौं विश्व विद्यालयले सन् २००७ देखि नापी विषयको स्नातक पढाइ सुरु गर्‍याे।

सन् २०१८ देखि उक्त विषयमा मास्टर्स डिग्री पनि सुरु गरिसकेको छ। त्यस्तै, उनकै पहलमा सन् २०१३ देखि त्रिवि इन्जिनियरिङ क्याम्पस पुल्चोक अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा पनि जियोम्याटिक्स इन्जिनियरिङको पढाइ सुरु भएको छ।

असल कर्मचारी

बाबुरामले असल कर्मचारी सम्झनुपर्दा श्रम तथा यातायात विभागका महानिर्देशक शरदचन्द्र पौडेललाई सम्झन्छन्। उनको कामबाट बाबुराम निकै प्रभावित थिए। भन्छन्, ‘उहाँ स्पष्ट र स्वच्छ आचरण भएका व्यक्ति हुनाले उहाँलाई आफ्नो कामबाहेक केहीसँग पनि मतलब हुँदैनथ्यो। आफूभन्दा सिनियर कर्मचारीलाई नमस्ते गर्नुपर्छ भन्नेमा पनि उहाँलाई मतलब हुँदैनथ्यो।’

बाबुरामका अनुसार, पछि पौडेल सचिव पदमा बढुवा भई वन मन्त्रालयमा कार्यरत रहे। विडम्बना, त्यस्तो राम्रो कर्मचारीलाई पर्यटन बोर्डको एउटा मिटिङमा प्रतिनिधि भई सही गरेबापत अख्तियारले कारबाही गर्‍यो। अवकाश हुनुभन्दा ४÷५ महिनाअगाडि मात्र उनले मुद्दा जिते र फेरि सचिव पदमा बहाल भई अवकाश लिए।

‘मैले सम्झनुपर्ने असल कर्मचारी थुप्रै छन्,’ बाबुराम भन्छन्, ‘नापी विभाग र भूमिसुधार मन्त्रालयमा काम गर्दाका मैले सम्झनुपर्ने नाम हुन्– महेश्वर भट्टराई, दुगेन्द्रमान कायस्थ, सुरेशमान श्रेष्ठ, रविनकाजी शर्मा, राजाराम छत्कुली, गणेश भट्ट, जनक जोशी, सुशील डंगोल, कमलनाथ मिश्र, समरबहादुर सिंह, अनिल मरासिनी, सरोज चालिसे, पुष्कर शाह, दानबहादुर मर्हजन, लिलाप्रसाद दाहाल, प्रेमबहादुर दैत्याल, कृष्णप्रसाद जोशी, श्रीहरि पुडासैनी, काजी विष्ट आदि।’

कर्मचारी आफ्नो काममा कटिबद्ध हुनुपर्छ भन्ने सोच बाबुराममा सुरुदेखि नै थियो। सरकारी कर्मचारी भन्नेबित्तिकै आज हुने काम महिनौं लगाइदिने आम मानिसको बुझाइ छ। यस बुझाइभन्दा विपरीत रहेर आफूले काम गरेको उनी बताउँछन्।

‘१० बजेदेखि अफिस सुरु हुने भए पनि म बिहान ८ देखि ९ बजेभित्र कार्यालय पुगिसकेको हुन्थेँ,’ उनी भन्छन्, ‘आफूले गर्नुपर्ने कामको फाइल तथा कागजपत्र हाजिर हुनुभन्दा अगाडि नै मिलाएर राख्थेँ। अफिस मिटिङ बसिरहेको समयमा कुनै सेवाग्राही भेट्न आएको छ भने एकछिन बाहिर निस्किएर उसको कुरा सुन्न समय मिलाइहाल्थेँ।’ उनको सोचमा मिटिङको बहानामा सेवाग्राहीलाई कुराएर राख्नु भनेको दुःख दिने काम हो।

अवकाश जीवन

२०६६ सालमा अवकाश भएपछि बाबुराम विभिन्न सामाजिक तथा धार्मिक संस्थामा आबद्ध छन्। अहिले आफू खासगरी शिक्षा, पूर्वाधार विकास र आफ्ना पुराना अनुभवबाट जनताको सेवा अभियानमा रहेको बताउँछन्।

हालसालै लकडाउनका समयमा पोखरा–१९ लामाचौर बगैँचामा रहेको अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर परिसरमा नवग्रह, नवदुर्गा, गणेश, हनुमान, अष्ट चिरञ्जीवी, नारायण, लक्ष्मी, सरस्वती, बगलामुखी, बटुकभैरव, मनकामना, गायत्री, स्वस्थानी, रामसीता, राधाकृष्णका मूर्तिहरु र मणिद्वीपेश्वर पञ्चमुखी महादेवको मन्दिर स्थापना गर्न सक्रिय रहेको उनले बताए ।

Source: kathmandupress.com


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.